भारतका परराष्ट्र मामिला मन्त्रीको पहिलो बाङ्ग्लादेश यात्रा

भारतका परराष्ट्र मामिला मन्त्री डॅ. एस. जयशङ्करको पहिलो बाङ्ग्लादेश यात्रा बाङ्ग्लादेशकी प्रधान मन्त्री शेख हसिनालाई अक्टोबर महिनाको प्रथम सातामा भारतको राजकीय यात्रामा आउनका लागि भारतका प्रधान मन्त्री नरेन्द्र मोदीको निमन्त्रण दिने एउटा शिष्टाचार यात्राभन्दा बढी थियो। यी दुई छिमेकी मुलुकहरूबिच दिन्दिनै बढ्दै गइरहेको द्विपक्षीय सम्बन्धहरूको एक महत्त्वपूर्ण मोडमा यो यात्रा भएको हो।

भारतका परराष्ट्र मामिला मन्त्रीको बाङ्ग्लादेशकी प्रधान मन्त्रीसित को भेट सृजनात्मक रह्यो। यसको उद्देश्य अक्टोबर महिनामा भारतका प्रधान मन्त्री र श्रीमती शेख हसिनाबिच बैठकको लागि तयारी गर्नु थियो।

डॅ. जयशङ्करले प्रधान मन्त्री मोदीको निमन्त्रण पत्र श्रीमती शेख हसिनालाई उहाँको सरकारी निवास ‘गणभवन’-मा बैठकको बेलामा हस्तान्तरित गर्नुभएको थियो। श्रीमती हसिनाले निमन्त्रणका लागि श्री मोदीप्रति आभार व्यक्त गर्नुभयो।

भारतका परराष्ट्र मामिला मन्त्रीले भन्नुभएअनुसार भारतले अक्टोबर महिनामा उहाँको नयाँ दिल्ली यात्राको प्रतीक्षा गरिरहेको छ। डॅ. जयशङ्कर र श्रीमती शेख हसिनाले सृजनात्मक छलफल गर्नुभयो जसमा परस्पर हितका विषयहरू थिए भनी भारतको परराष्ट्र मामिला मन्त्रालयले भनेको छ।

पूर्व कुटनयिक डॅ. जयशङ्कर यसअघि भारतका विदेश सचिवको हैसियतमा बाङ्ग्लादेशको यात्रामा जानुभएको थियो। भारतको परराष्ट्र मामिला मन्त्रीको हैसियतमा उहाँले आफ्नो यो यात्राको सुरुआत बाङ्ग्लादेशमा उहाँका समकक्ष ए.के. अब्दुल मोमेनसित भेटका साथ गर्नुभएको थियो।

दुई मुलुकका विदेश मन्त्रीहरूबिच बैठक सौहार्दपूर्ण वातावरणमा भयो। दुवै पक्षले द्विपक्षीय, सुरक्षा र सामरिक हितका विषयहरूमाथि छलफल गरे। दुवै मुलुक वर्तमान सौहार्दपूर्ण सम्बन्धनलाई नयाँ उँचाइमा पुऱ्याउन र दुई मुलुकका शीर्ष नेतृत्वबिच परस्पर विश्वासलाई थप बढाउन इच्छुक छन्। उहाँहरूबिच एकार्काका हितहरू साझा गरिएबाट यो स्पष्ट हुन्छ।

भारत र बाङ्ग्लादेशबिच सम्बन्धहरू ‘सामरिक साझेदारीता’ भन्दा बढी छन्। डॅ. जयशङ्करले भन्नुभएअनुसार पहिले भारतको विदेश सचिवको हैसियतले र अहिले परराष्ट्र मामिला मन्त्रीको हैसियतले यो सम्बन्धतासित जोडिनु उहाँको लागि “विशेषाधिकार”को कुरा हो।

जटिल रोहिङ्ग्या सङ्कटको समाधानका लागि दुई मुलुकहरूबिच चलिरहेको वार्तालापमा अप्रत्यक्ष रूपमा उल्लेख गर्दै  उहाँले अझ के भन्नुभयो भनेर उद्धृत गरिएको छ भने, उहाँकै शब्दहरूमा, “अपराधहरू, आतङ्कवाद र उग्रवाद तथा आतङ्की समूहहरूविरुद्ध सुरक्षा, सप्रेको साझेदारीको कुरा गरिँदा दुवै मुलुकका जनताका लागि सोझो फाइदामाथि हामी विश्वास गर्दछौँ।”

बाङ्ग्लादेशका विदेश मन्त्री ए.के. अब्दुल मोमेनले त्यसअघि के भन्नुभएको थियो भने अन्य कुराहरूका साथै उहाँले भारतका समकक्षसित रोहिङ्ग्या सङ्कटको चाँडो समाधान गर्नु पर्ने आवश्यकताबारे छलफल गर्नुहुनेछ ‘किनभने यसले क्षेत्रीय स्थिरतालाई प्रभावित गर्न सक्दछ।’

मिडियासित कुरा गर्दै डॅ. जयशङ्करले भन्नुभएअनुसार उहाँले बाङ्ग्लादेशका विदेश मन्त्री अब्दुल मोमेनसित फलदायी अन्तर्क्रिया गर्नुभयो। रोहिङ्ग्या मामिलामा भारतका परराष्ट्र मामिला मन्त्रीले भारत र बाङ्ग्लादेश उनीहरूको सुरक्षित, चाँडो र दिगो म्याँमार वापसीका लागि प्रयासहरू गरिरहेका छन् भन्नुभयो।

म्याँमारको सेनाद्वारा कारबाही गरिँदा ७० लाखभन्दा धेरै रोहिङ्ग्याहरू देश छाडी भाग्न बाध्य भएका छन्। ती मध्ये ठुलो संख्याले बाङ्ग्लादेशमा शरण लिएका छन्। भारत र बाङ्ग्लादेश दुवैले अब उनीहरूको चाँडो म्याँमार फिर्तिका लागि प्रयासहरू गरिरहेका छन्।

डॅ. जयशङ्करले भारत-बाङ्ग्लादेश सम्बन्धको मोडेलको अनुसरण दक्षिण एसियाका अन्य मुलुकहरूले गर्नु पर्ने बताउनुभयो।  प्रधान मन्त्री नरेन्द्र मोदी २०१४-मा सत्तामा आएपछि उहाँले सुरु गर्नुभएका विविध पहलहरूद्वारा सम्बन्धहरू थप मजबुत भएका छन्। एक ऐतिहासिक घटनामा दुई मुलुकहरू श्री मोदीको २०१५-को जून महिनामा भएको पहिलो यात्राको बेलामा भूमि सिमाना सम्झौता लागू गर्न सहमत भएका थिए, र यसरी दुई मुलुकबिच रहेको ४१ वर्ष पुरानो सीमा विवादको समाधान भएको थियो।

सन् २०१७-को अप्रिल महिनामा प्रधान मन्त्री हसिना नयाँ दिल्ली यात्रामा आउनुभएको बेलामा रक्षा, परमाणु ऊर्जा, साइबर सुरक्षा र मिडियाका क्षेत्रहरूमा २२ सम्झौताहरूमाथि हस्ताक्षर भएका थिए। त्यसपछि भारतले बाङ्ग्लादेशलाई सन् २०१५-मा ३ अर्ब अमेरिकी डलरको र २०१७-मा ४ अर्ब ५० करोड अमेरिकी डलरका दुई सहुलियप्राप्त ऋणहरू बाङ्ग्लादेशमा १७ विकास परियोजनाहरू र बन्दरगाहहरूलाई समुन्नत पार्नका लागि दिइसकेको छ।

यस वर्ष श्रीमती शेख हसिनाको नयाँ दिल्ली यात्रा, बाङ्ग्लादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानलाई स्मरण गर्ने अवसर पनि हुनेछ जसको १००औँ जन्म जयन्ती २०२०-मा मनाइँदैछ। बाङ्ग्लादेशको स्वतन्त्रता सङ्ग्राममा भारतीय फौजको भूमिका उल्लेखनीय छ। दुई मुलुकहरूबिच सम्बन्धहरू आज आफ्नो उत्कृष्ट स्थितिमा छ। भारतले दक्षिणा एसियाली क्षेत्रमा दिगो शान्ति र स्थिरताका लागि एक मजबुत एवम् समृद्ध बाङ्ग्लादेशको कामना गर्दछ।

आलेख: समाचारपत्र स्टेट्सम्यानका विशेष प्रतिनिधि दिपङ्कर चक्रवर्ती

अनुवाद एवम् वाचनः विष्णुबहादुर गुरुङ्ग