भारत-फ्रान्स सम्बन्धमा थप मजबुती

प्रधान मन्त्री नरेन्द्र मोदीले यो हप्ता गर्नुभएको फ्रान्स भ्रमणले द्विपक्षीय सम्बन्धहरूका साथै सन् १९९८ मा दुवै देशले हस्ताक्षर गरेका २० वर्ष पुरानो सामरिक साझेदारीलाई मजबुती प्रदान गरेको छ। जम्मू कश्मीरमा देखा परेका राजनैतिक घटनाक्रमहरूको मध्येनजर फ्रान्सले यसलाई भारतको आन्तरिक मामिला हो भन्ने बयान दिनुका साथै राष्ट्रसंघ सुरक्षा परिषदमा भएको विचार-विमर्शमा भारतकै पक्ष लिनु भनेको नयाँ दिल्लीका लागि ठुलो आड हो।

प्रधान मन्त्रीले भारत र फ्रान्सबिचका सम्बन्धहरू स्वतन्त्रता, समानता र भाइचारा तथा दशकौँ लामो मजबुत सहयोगमा टिकेको छ भन्ने कुरामा जोड दिँनुभयो। दुवै पक्षले सामरिक साझेदारीलाई थप अघि लैजाने योजना तयार पार्नमा जोड दिएका छन् र यसमा सिप विकास, नागरिक उड्डयन, सूचना प्रविधि र अन्तरिक्षजस्ता मुख्य विषयहरूको पहिचान गरेका छन्। रक्षा सहयोग भनेको सम्बन्धको मजबुत आधार हो भन्ने कुरामा जोड दिँदै श्री मोदीले, भारतले सेप्टेम्बरमा राफेल लडाकु विमानहरूको पहिलो खेपप्राप्त गर्ने कुराको स्वागत गर्नुभयो। द्विपक्षीय सम्बन्धहरूमा जोड दिँदै दुवै पक्षले आतङ्कवाद र कट्टरतावाद जस्ता विश्वव्यापी रूपमा फैलिएका समस्याहरूको समाधान गर्ने आह्वान गर्नुका साथै सुरक्षा तथा आतङ्कवाद रोकथामसम्बन्धी सहयोगमा विस्तार गर्न सहमति प्रकट गरेका छन्। आतङ्कवादलाई धन उपलब्ध गराउनेरूमाथि रोक लगाउन भनी गठित भारत-फ्रान्स वित्तीय कार्य बल (एफ. ए. टि. एफ.)- ले नियमहरू उल्लंघन गरेबापत पाकिस्तानलाई कालो सूचीमा गाभेर ठुलो उपलब्धि हासिल गरेको छ। दुवै देशले आतङ्कवादलाई वित्तपोषित गर्नेविरुद्ध लड्ने उद्देश्यसहित सन् २०१९ को मार्च महिनामा पारित गरिएको राष्ट्रसंघ सुरक्षा परिषदको प्रस्ताव सङ्ख्या २४६२ व्यवहारमा ल्याउन आह्वान गरेका छन्। यस सन्दर्भमा दुवै नेताहरूले आतङ्कवादलाई वित्तपोषित गर्नेहरूविरुद्ध लड्नका लागियही वर्षको नोभेम्बरमा मेलबोर्नमा अन्तर्राष्ट्रिय सम्मेलन हुन गइरहेको कुराको स्वागत गर्नुभएको छ।

सुरक्षा सहयोगका क्षेत्रमा दुवै पक्षले हालै नौसैनिक (वरुण) तथा हवाइ (गरुड) अभ्यासहरू सम्पन्न गरे। हिन्द महासागर र प्रशान्त महासागरको बढ्दो महत्त्वलाई ध्यानमा राखेर भारत र फ्रान्सले नौवहनका क्षेत्रमा स्वतन्त्रता सुनिश्चित गर्नुका साथै समुद्री तथा साइबर सुरक्षाका विषयहरूमा परस्पर सहयोगलाई मजबुती प्रदान गर्ने निर्णय लिएका छन् र साइबर सुरक्षा तथा डिजिटल प्रविधिका लागि नयाँ योजना बनाउने सहमति प्रकट गरेका छन्। क्वान्टाम कम्प्युटिङ, आर्टिफिसल इन्टेलिजेन्स र एक्सास्केल सुपरकम्प्युटिङका क्षेत्रमा सहयोग बढाउन र सम्बन्धित स्टार्टअपका पहलुहरूलाई एकार्का नजिक ल्याउने उद्देश्यले सेन्टर फर डेभलपमेन्ट अफ एड्भान्स्ड कम्प्युटिङ अर्थात् सि-ड्याक र एटोसबिच एउटा सहमतिपत्रमा हस्ताक्षर भएको छ। ऊर्जासम्बन्धी विषय अर्को एउटा प्राथमिकताहो र महाराष्ट्रकको जैतापुरमा ६ वटा परमाणु संयन्त्र निर्माणका सन्दर्भमा दुवै पक्षले भारतको एन. पि. सि. आइ. एल. र फ्रान्सको इ. डि. एफ.-बिच भएको परमाणु ऊर्जाबारे विचार-विमर्शको परीक्षण गरेका छन्। अन्तर्राष्ट्रिय सौर ऊर्जा गठबन्धनमा संयुक्त पहलका साथै भारतको ऊर्जा खण्डमा फ्रान्सको भूमिक बढेको छ।

प्रधान मन्त्री मोदी र राष्ट्रपति इमानुएल म्याक्रोँ दुवैले व्यापार तथा लगानीसँग सरोकार भएका विषयहरूको समाधान तथा द्विपक्षीय व्यापार प्रवर्धन गर्न भनी उच्चस्तरीय आर्थिक तथा वित्तीय वार्ता फेरि थाल्ने सहमति जनाउनुभएको छ। नागरिक समाजको स्तरमा भारत सन् २०२१-२२ मा ‘नमस्ते फ्रान्स’-को अर्को चरण सुरु गर्ने योजना बनाउँदै छ। भारतीय प्रधान मन्त्रीले दुवै देशबिच विद्यार्थीहरूको आवागमन बढाउने कुरामा जोड दिनुभयो र भारतमा फ्रान्सेली विद्यार्थीहरूको सङ्ख्या बढेको कुराको स्वागत गर्नुभयो। यस सन्दर्भमा भारत र फ्रान्सबिच प्रवास तथा बसाइँ नामक साझेदारी सहमति बनेको छ जसअन्तर्गत फ्रान्समा अध्ययन पूरा गरेपछि पनि भारतीय विद्यार्थीहरूले केही वर्षसम्म त्यहाँ जागिर खान पाउने प्रावधान छ। अन्तरिक्ष अनुसन्धानका क्षेत्रमा फ्रान्सले भारतीय अन्तरिक्ष यात्रीहरू सवार भई अन्तरिक्षमा जाने सन् २०२२ सम्मको भारतीय लक्ष्य पूरा गर्न तालिम दिने छ। प्रधान मन्त्रीले पेरिसमा भारतीय समुदायलाई सम्बोधन गर्नुभयो र फ्रान्समा भएको एयर इन्डिया विमान दुर्घटनाको सिकार भएका भारतीय यात्रीहरूको सम्झनामा दुई स्मारकहरू समर्पित गर्नुभयो।

क्षेत्रीय विषयहरूमा दुवै पक्षले इरानको परमाणु कार्यक्रमसम्बन्धी संयुक्त विस्तृत कार्ययोजना (जे. सि. पि. ओ. ए.)-प्रति पूर्णरूपमा प्रतिबद्ध रहने कुरामा जोड दिनुका साथै सम्बन्धित विषयहरूको समाधान वार्तामार्फत नै हुनु पर्छ भन्ने कुरा दोहोऱ्याएका छन्। यही सप्ताहन्तमा फ्रान्सको बियरिट्जमाहुने जि-७ सम्मेलनमा राष्ट्रपति म्याक्रोँले भारतलाई निम्त्याउनुभएको छ। स्मरणीय के छ भने, भारत यो समूहको सदस्य होइन। प्रधान मन्त्रीले यस सम्मेलनमा वातावरण, जलवायु परिवर्तन र डिजिटल रूपान्तरण जस्ता विषयमा बोल्नु हुने छ। यस सम्मेलनले प्रधान मन्त्री मोदीलाई यो समूहका नेताहरूसँग द्विपक्षीय वार्ता गर्ने एउटा मञ्च प्रदान गर्ने छ। यी सबै परिप्रेक्षमा हेर्दा श्री मोदीले गर्नुभएको भारतको एक विस्तृत, गतिशील तथा विभिन्न क्षेत्रमा साझेदार देश फ्रान्सको भ्रमणलाई अत्यन्त्यै सफल भन्दा अत्युक्ति हुने छैन।

आलेख:जवाहरलाल विश्वविद्यालयको युरोपेली अध्ययन केन्द्रकी अध्यक्ष तथा जिन मोनेट चेयर, प्रो. उम्मू सलमा बावा

अनुवाद तथा वाचन: दीपक पौडेल