भारत-रसियाः सहयोगका नयाँ क्षेत्रहरुतर्फ कार्यरत

भारत र रसिया आफ्ना द्विपक्षीय सम्बन्धहरुलाई प्रधान मन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको अवधिमा नयाँ उँचाइहरूमा पुऱ्याउन तम्तयार छन्। प्रधान मन्त्री नरेन्द्र मोदीले सेप्टेम्बर ४ देखि ६ तारिख, २०१९-मा भ्लादभोस्तोकमा आयोजन हुन गइरहेको ५औँ वार्षिक पूर्वी आर्थिक मञ्चमा प्रमुख अतिथिको रूपमा र दुई मुलुकबिच २०औँ वार्षिक द्विपक्षीय शिखर बैठकमा भाग लिनु हुनेछ। भारत र रसियाबिच सहयोगका नयाँ क्षेत्रहरूलाई सामेल गर्न साथै विद्यमान विशेष एवम् विशेषाधिकारप्राप्त सामरिक साझेदारीलाई पुनर्उत्प्रेरित गर्ने ताजा अवसरहरूको खोजी गरिनेछ।

भारतको संविधानबाट अनुच्छेद ३७० हटाइनुको स्वागत गर्ने प्रथम मुलुकहरूमध्ये रसिया एक थियो। रसियाले यसलाई भारतको आन्तरिक मामिला हो भन्दै विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा भारतको अडानको समर्थन गरेको थियो।

यसै महिना प्रारम्भमा भारतका वाणिज्य मन्त्री पीयूष गोयल चार मुख्य मन्त्रीहरूका साथ भारतीय राज्यहरू र रसियाली सुदूर पूर्व प्रान्तहरूबिच साझेदारिताको प्रस्तावमाथि रसियाका उप प्रधान मन्त्री  र सुदूर पूर्वी संघीय जिल्लाका राष्ट्रपतीय दूतसित छलफल गर्नका लागि भ्लादिभोस्तोक जानुभएको थियो। भारतले रसियाको सूदूर पूर्वलाई आर्थिक सहयोग र लगानी बढाउनका लागि एक प्राथमिकता रूपमा हेर्दछ। भारतले रसियाको सुदूर पूर्वमाथि ध्यान केन्द्रित गरेर आफ्नो चीरकालिक द्विपक्षीय संलग्नतामा प्रमुख विविधिकरण गर्न चाहन्छ। भारत र रसियाले रक्षा, अन्तरिक्ष, ऊर्जा र परमाणुका क्षेत्रमा पारम्परिक सहयोगभन्दा पर हेरिरहेका छन् जसले अन्तर-क्षेत्रीय सहयोगका नयाँ क्षेत्रहरू थप्न द्विपक्षीय सहयोगका प्रमुख स्तम्भहरू निर्माण गर्दछ। रसियाको सुदूर पूर्व भारतको लागि ठुलो महत्त्वको रहिआएको छ। यो क्षेत्रसित भारतको बढ्दो व्यापार सन् २०१८-मा ३ प्रतिशतभन्दा बढी विस्तारित भएर ७९ करोड अमेरिकी डलरको भएको थियो, जबकि रसियासित भारतको जम्मा व्यापार १० अर्ब अमेरिकी डलरभन्दा पार भएको थियो। दुवै मुलुकहरुले सन् २०२५ सम्म द्विपक्षीय व्यापारले ३० अर्ब अमेरिकी डलरको लक्ष्यलाई हासिल गरोस् भनी चाहन्छन्।

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल पनि मस्को यात्रामा जानुभयो र त्यहाँ उहाँका समकक्ष निकोलई पत्रुशेभसित आतङ्कवादविरुद्ध सहयोगलाई सुदृढ एवम् तीव्र पार्नुका साथै सार्वभौमिकता, क्षेत्रीय अखण्डता र तेस्रो पक्षको अहस्तक्षेपका सिद्धान्तहरूका लागि पूर्ण समर्थनमा जोड दिनुभयो। राष्ट्रीय सुरक्षा सल्लाहकारले अन्तरिक्ष क्षेत्र र गगनयान कार्यक्रममा चलिरहेको सहयोगको समीक्षा गर्न ROSCOSMOS का निदेशक दिमित्री रोगोजिनलाई पनि भेट्नुभयो। रसियाले १२ भारतीय अन्तरिक्ष यात्रीहरूमध्ये ४ जनालाई मस्कोको युरी गागरिन अन्तरिक्ष तालिम केन्द्रमा १५ महिनाको अवधिका लागि तालिम दिनेछ। यसको उद्देश्य सन् २०२२-मा छोडिने भारतको गगनयान अभियानका लागि तयारी गर्नु हो।

परराष्ट्र मामिला मन्त्री एस. जयशङ्कर यो साता मस्को यात्रामा जानुभयो। पदभार सम्हालेपछि उहाँको यो पहिलो मस्को यात्रा थियो। उहाँले आफ्ना समकक्षी सरगे लाभरोभसित भेट गर्नुभयो र भारतीय प्रधान मन्त्रीको आगामी भ्लादिभोस्तोक यात्राका तयारीहरूको समीक्षा गर्नुभयो। उहाँले रसियाका उप प्रधान मन्त्री युरी बोरिसोभसित पनि भेट गर्नुभयो। उहाँहरु दुवैले भारत-रसिया अन्तरसरकारी आयोग – प्राविधिक एवम् आर्थिक सहयोग बैठकको सहअध्यक्षता गर्नुभयो। सेप्टेम्बर महिनामा श्री मोदी र राष्ट्रपति पुटिनबिच बैठकमा गरिने गतिविधिहरूको अन्तिम तयारी गर्नुका साथै भारतका परराष्ट्र मामिला मन्त्रीले हिन्द-प्रशान्तमा भारतको दृष्टिकोण विषयमा भालडाइ डिस्कशन क्लबमा पनि सहभागिता गर्नुभयो।

भारतबाट रसियाका लागि यी उच्च स्तरीय यात्राहरूलाई क्षेत्र तथा क्षेत्रपारी नयाँ भू-राजनीतिक एवम्   भू-आर्थिक परिवर्तनहरू, तथा भारतद्वारा आफ्नो दीर्घकालिक भरपर्दो साझेदार रसियासितको सहयोगमा नयाँ तागत निर्माणमाथि भारतको बढ्दो जोडको सन्दर्भमा हेरिनु जरुरी छ। यो बढ्दो द्विपक्षीय संलग्नताको यो नयाँ सुरुआतको जोड कृषि, हीरा कटाइ, पलिस गर्ने एकाइहरूको स्थापना, काठ र सम्बन्धित सामग्री, पर्यटन क्षेत्रलाई बढुवा, तथा मत्स्यपालन एवम् उत्खनन् क्षेत्रलाई बढुवा दिँदै अन्तर-क्षेत्रीय सहयोगको नयाँ मार्ग निर्माण माथि हुनेछ। विगतमा, भारत र रसियाद्वारा संयुक्त रूपमा चिह्नारी गरिएको सहयोगका चार मुख्य क्षेत्रहरूमा ऊर्जा, डिजिटल अर्थव्यवस्था, स्टार्ट-अप्स र पूर्वाधार सामेल थिए। प्रधान मन्त्री मोदीको आगामी रसिया यात्राको बेलामा दुवै मुलुकहरू सम्बन्धहरूलाई नयाँ स्तरमा पुऱ्याउन तम्तयार रहेका हुँदा डॅ. एस. जयशङ्कर र श्री सरगे लाभरोभबिच द्विपक्षीय अन्तर्क्रियाहरूले सहयोगका नयाँ क्षेत्रहरूको सफलतापूर्वक चिह्नारी गरेका छन्  जसलाई प्रधान मन्त्री र राष्ट्रपति पुटिनद्वारा दुई मुलुकबिचका सम्बन्धहरूलाई सामरिक तथा आर्थिक दृष्टिले बढी अर्थपूर्ण बनाउन मन्जुरी प्रदान गरिनेछ।

आलेख: रसिया एवम् सि.आइ.एस.सम्बन्धी विश्लेषक डॅ. मीना सिंह रॉय

अनुवादः विष्णुबहादुर गुरुङ्ग