पोल्याण्ड र हङ्गेरीसित सम्बन्धहरूको पुनर्विन्यास

विदेश मामिला मन्त्री डॅ. एस. जयशंकरको पोल्याण्ड र हङ्गेरीको भ्रमणले मध्य तथा पूर्वी यूरोपसित  सम्बन्धहरूको विस्तार प्रति भारतको प्रतिबद्धतालाई दर्शाउँछ।

हङ्गेरीसित भारतको सम्बन्ध वर्षौँदेखि मजबुत तथा बहुआयामी रहिआएको छ। विदेश मन्त्रीले आफ्ना हङ्गेरीयाली समकक्षी पीटर सिज्जार्तो-सित भेटघाट गर्नुभयो, सो क्रममा हङ्गेरीयाली विदेश मन्त्री सिज्जार्तो-ले फिल्म निर्माण, डिजिटलाइजेशन, जल व्यवस्थापन, सौर ऊर्जा तथा औषधी निर्माण लगायतका क्षेत्रहरूमा रहेको सहमतिलाई मजबुत पार्न माथि जोड दिनुभयो। हङ्गेरीमा भारतीय लगानीको सकारात्मक प्रवृत्ति तथा यसको अनुकूल व्यापार वातावरणलाई भारतीय पक्षद्वारा सराहना गरियो। दुवै पक्षहरू शिक्षा, पर्यटन तथा विज्ञान लगायतका क्षेत्रहरूमा द्विपक्षीय कुराकानीलाई बढुवा दिने विषयमा पनि सहमत भए। अन्तर्राष्ट्रिय सौर गठबन्धन (आई एस ए)-मा सामेल हुने हङ्गेरीको निर्णय सौर ऊर्जालाई उपयोगमा ल्याउन सहयोगलाई अगाडि बढाउने क्रममा चालिएको एउटा असल पाइलो हो। दुवै देशहरूले आर्थिक सम्बन्धहरूलाई बलियो बनाउने अनि संसदीय आदान-प्रदान तथा सहयोग बढाउने आवश्यकतामाथि पनि विचार-विमर्श गरे।

डॅ. जयशंकरको पोल्याण्ड भ्रमण ३२ वर्षहरूमा कुनै पनि भारतीय विदेश मन्त्रीद्वारा गरिएको पहिलो यात्रा थियो। पोल्याण्डका विदेश मामिला मन्त्री प्रोफेसर जजेक कजापुटोविज-ले भारत जी-२० तथा संयुक्त राष्ट्र संघमा एउटा सक्रिय अनि महत्वपूर्ण खेलाडी रहेको साथै दक्षिण एसियामा पोल्याण्डको प्रमुख साझेदार रहेको कुरामाथि पनि  जोड दिनुभयो। मध्य यूरोप तथा ’विसेग्रेड’ समूहमा अधिक सक्रिय रूपले संलग्न हुने भारतको इच्छा पनि सही ढङ्गले व्यक्त गरियो। दुवै मन्त्रीहरूले वैश्विक स्थिरता कायम राख्नमा प्रभावी बहुपक्षीय प्रणाली र नियम-आधारित विश्व व्यवस्थाको महत्त्व प्रमुख तत्वहरूको रूपमा रहेको दोहोऱ्याउनुभयो।

मन्त्रीद्वयले द्विपक्षीय राजनीतिक सहयोगको साथ-साथै अर्थव्यवस्था, शिक्षा तथा संस्कृतिको क्षेत्रमा कैयौँ मुद्दाहरूमाथि विचार-विमर्श गर्नुभयो। प्रोफेसर कजापुटोविज-द्वारा उठान गरिएका कैयौँ मुद्दाहरूमा आतङ्कवाद विरूद्ध निपटानमा पोल्याण्डको स्पष्ट अडानको अभिव्यक्ति पनि सामेल छ। भारत-प्रशान्त अनि पश्चिम एसियामा शान्ति तथा सुरक्षा कायम राख्ने, सामुहिक विनाशका हतियारहरूको प्रसार, समुद्री तथा उड्डयनको सुरक्षा, साइबर सुरक्षा, ऊर्जा सुरक्षा, मानवीय मुद्दाहरू, शरणार्थी एवम् मानवाधिकार लयागत अन्य सुरक्षा समस्याहरूमाथि पनि विचार-विमर्श गरियो।

भारत-यूरोपेली संघ एजेण्डालाई दुवै पक्षहरूलाई लाभ पुग्ने गरी आकार प्रदान गर्नमा पोल्याण्डको सक्रिय भूमिकाको भारतले सराहना गरेको छ। दुई मन्त्रीहरू बीच भएको बैठकको एउटा अर्को उपलब्धि हो, पोल्याण्डको राष्ट्रिय विमान सेवा (एल ओ टी) द्वारा वारख र नयाँ दिल्लीबीच सोझो विमान सेवाहरू सुरू गर्ने घोषणा। यस कदमले व्यवसाय एवम् पर्यटन सम्पर्कहरूलाई विस्तारित गर्नका अतिरिक्त दुइ मुलुकका जनतालाई निकट पनि ल्याउने छ।

व्यापारको पक्षमा यो कुरा उल्लेखनीय  रहेको छ कि पोल्याण्ड मध्य यूरोप क्षेत्रमा भारतको सबैभन्दा ठूलो व्यापार साझेदार र निर्यात गन्तव्य हो। हाल दुइ मुलुकहरू बीचको व्यापारको परिणाम लगभग ३ अर्ब डलर रहेको छ। भारत एसियामा पोल्याण्डको सबैभन्दा महत्त्वपूर्ण सोझो विदेशी लगानी लक्ष्य पनि रहेको छ। यस प्रकार भारतका विदेश मामिला मन्त्रीको पोल्याण्ड भ्रमणले दुइ मुलुकहरू बीच विद्यमान व्यापार सम्बन्धहरूलाई हैँसे प्रदान गरेको छ।

शीतयुद्ध कालमा पूर्वी र मध्य यूरोपेली मुलुकहरूसित भारतका सौहार्दपूर्ण सम्बन्धहरू रहेको थियो। तथापि, भारत र मध्य यूरोपेली मुलुकहरू बीचको सहयोगको संभाव्यताको भने धेरै जसो दोहन हुन सकेको छैन। चीनको १६ जोड १ अग्रसरताका क्षेत्रको निम्ति भू-राजनैतिक परिणतिहरू हुन सक्ने तथ्यलाई विचार गर्दा निरन्तर महत्त्वपूर्ण हुँदै गएको यस क्षेत्रमा आर्थिक र सांस्कृतिक हितहरूका साथै जनस्तरीय सम्बन्धहरूको अभिवृद्धि गरिनु भारतको लागि रणनीतिक रूपले महत्त्वपूर्ण रहेको छ।

विगत दिनहरूमा राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति एम. वेंकैया नाइडूद्वारा गरिएका पूर्वी, दक्षिणी र मध्य यूरोपेली मुलुकहरूका उच्च स्तरीय भ्रमणहरू क्षेत्रसितका सम्बन्धहरूलाई बौराउने दिशामा सारिएका पाइलाहरूको रूपमा हेरिएको छ। विशेषगरी, हिन्द महासागर र बाल्टिक समुद्रलाई जोड्ने उद्देश्य निहित बहुस्तरीय अन्तर्राष्ट्रिय उत्तर दक्षिण मार्ग (आई एन एस टी सी) परियोजनामा हङ्गेरीले एउटा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने ठहर गरिएको छ भने एसियामा पोल्याण्डका गतिविधिहरूमा विस्तार गर्ने लक्ष्यका साथ सो मुलुकसित सोझो सम्पर्क स्थापित गर्ने लक्ष्य रहेको छ। जम्मा ५२४ अर्ब यूरोको जी डी पी-का साथ पोल्याण्ड यूरोपेली संघको सातौँ सर्वबृहत अर्थतन्त्र बनेको छ। गतिशील पोलिस अर्थ व्यवस्थासित सम्बन्धहरूको पुनर्विन्यास अहिले भारतीय लगानीकर्ताहरूको लागि एउटा आकर्षक प्रस्ताव हो। अगस्ट महिनामा राष्ट्र संघ सुरक्षा परिषदको सभापतिको रूपमा पोल्याण्डले विशेषगरी कश्मिरमाथि पाकिस्तानका कदमहरू रोक्ने क्रममा खेलेको भूमिकाको पृष्ठभूमिमा पनि डॅ. जयशंकरको पोल्याण्ड भ्रमण महत्त्वपूर्ण देखिन्छ।

आलेख: यूरोपियन मामलामाथि सामरिक विश्लेषक, डॅ. संघमित्र शर्मा

अनुवादकः  सुरेन्द्र जैरू