कश्मीरमाथि पाकिस्तानको अर्थहीन नारा

भारतले जम्मू एवम् कश्मीरको विशेष दर्जा समाप्त गरी राज्यलाई दुई केन्द्रशासित प्रदेशहरूमा विभाजित गरेपछि पाकिस्तानी नेतृत्वको मानसिक सन्तुलन पूर्ण रूपमा बिग्रेको सरह देखिएको छ। पाकिस्तानका प्रधान मन्त्री इमरान खानले भारतलाई परमाणु युद्ध समेत गर्ने धम्की दिनमा कुनै अवसर छोड्नुभएन साथै उहाँले भारत विरुद्ध अपमानजनक शब्दको प्रयोग पनि गर्नुभयो। उहाँले भन्नुभयो, भारतद्वारा कश्मीरमाथि गरिएका निर्णयहरू विरुद्ध विश्वले कुनै कदम नचालेको खण्डमा दुई मुलुकहरू सोझै सैन्य टकरावको मुखमा पुग्ने छन्। यद्यपि उहाँका विदेश मन्त्री शाह महमूद कुरैशीले इमरान खानकै सुरमा सुर मिलाउँदै युद्ध कश्मीर विवाद समाधानको विकल्प होइन भन्नुभयो। पाकिस्तानका गैर-जिम्मेवार ढंगमा बोलि हिँड्ने रेल मन्त्री शैख राशिदले अर्को दिन एउटा जनसभामा दुई मुलुकहरूबिच युद्ध यही अक्टूबर वा नोभेम्बर महिनामा हुनसक्ने बताउनुभयो। तालमेलमा देखिएको यो कमीले भारत सरकारको कदमबाट पाकिस्तान व्याकुल बनेको स्पष्ट दर्शाउँछ।

पाकिस्तान कश्मीर मामिलामा अन्तर्राष्ट्रिय समुदायलाई संलग्न गराउने भरसक्दो प्रयासहरू गर्नको बावजुद आफ्नो पक्षमा कुनै पनि प्रतिक्रिया प्राप्त गर्न नराम्ररी विफल भएको छ। अमेरिका, रसिया, फ्रान्स र संयुक्त अधिराज्य जस्ता मुलुकहरूले पाकिस्तानलाई स्पष्टसँग कश्मीरमा भारत सरकारद्वारा उठाइएको कदम भारतको आन्तरिक मामिला हो भनेका छन् र उनीहरूले यसमा कुनै बाह्य हस्तक्षेपको आवश्यकता नरहेको बताएका छन्। यस मामिलामा पाकिस्तानको घनिष्ठ मित्र चीन समेत खुल्ला रूपमा पाकिस्तानको समर्थनमा बाहिर आएन। यसको बावजुद, इमरान खानले गए शुक्रबार पाकिस्तानमा एक घण्टाका लागि सबै थोक बन्द गर्ने आह्वान गर्नुभएको थियो। तर यो एक फ्ल्प शो निस्क्यो किनभने कैयौँ पाकिस्तानीहरूले सो बन्दको पालन गरेनन्।

इमरान खानले यो मामिलालाई राष्ट्र संघ र अन्तर्राष्ट्रिय अदालतमा पुऱ्याउने घोषणा पनि गर्नुभएको छ तर उहाँले के कुरा चाहिँ बिर्सनुभए छ भने राष्ट्र संघ सुरक्षा परिषदका स्थायी सदस्यहरूले उनीहरूको अडान भारतको पक्षमा स्पष्ट पारिसकेका छन्।

व्याकुलता कारण पाकिस्तानी नेतृत्वगण भारतसित वार्ता गर्ने मामिलामा पनि विभाजित भएको छ। इमरान खानले भारतसित वार्ता गर्नु अर्थहीन रहेको बताइराख्नुभएको छ भने यसको ठीक विपरीत उहाँका विदेश मन्त्री शाह महमूद कुरैशीले पाकिस्तान भारतसित वार्ता गर्न तयार रहेको बताइराख्नुभएको छ। यसर्थ इमरान खानले इस्लामाबाद भारतसित वार्ता गर्न तम्तयार छ भन्ने मीडिया रिपोर्टहरूलाई खारेज गर्नुभएको छ।

भारतको अडान निरन्तर के रहिआएको छ भने पाकिस्तानसित वार्ता त्यतिबेला मात्र गरिनेछ जतिबेला इस्लामाबादले आतङ्कवादलाई आफ्नो राज्य नीतिको रूपमा भारत र अन्य मुलुकहरू विरुद्ध प्रयोग गर्न बन्द गर्नेछ। भारतका परराष्ट्र मामिला मन्त्री डक्टर एस. जयशङ्करले भारत जम्मू एवम् कश्मीर मामिलाबाहेक थाँतीमा रहेका अन्य मामिलाहरूमाथि आतङ्क र हिंसामुक्त वातावरणमा वार्ता गर्न तयार छ भनी दोहोऱ्याउनु भइसकेको छ।

पाकिस्तानले इस्लामिक मुलुकहरूसमेत अन्य मुलुकहरूबाट समर्थन बटुल्ने निरन्तर प्रयास गरिराखेको छ। कश्मीरमा कथित रूपमा मानव अधिकारको उल्लंघन भएको नाममा ऊ सउदी अरब र कुवैतसम्म पुगेको थियो। तर सत्य के हो भने कतिपय प्रभावी इस्लामिक मुलुकहरूले भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीलाई उहाँले कश्मीरमाथि निर्णय गरेपछि पनि सम्मानित गरे। श्री मोदीलाई केही दिनअघि मात्रै संयुक्त अरब अमिरातले सर्वश्रेष्ठ नागरिक पुरस्कार “अर्डर अफ द जायेद” बाट सम्मानित गऱ्यो जसले पाकिस्तानलाई अमिरातले भारतसितको सम्बन्धलाई बढी महत्त्वपूर्ण ठान्दछ र पाकिस्तानी नेताहरूका नाराबाट ऊ भ्रमित हुने छैन भन्ने स्पष्ट सङ्केत दिएको छ।

पाकिस्तानका एकजना वरिष्ठ सांसदले कश्मीरमा भारतको कारबाहीमाथि इस्लामिक मुलुकहरूको संगठन मौन रहेको सन्बन्धमा “इस्लामिक उम्माहको बुलबुला फुटेको छ” भनेका छन्। उहाँले थप भन्नुभयो, दिल्लीद्वारा कश्मीरको स्वायत्तता रद्द गरिएपछि ओआईसी-का केही कर्मठ तथा विश्वसनीय सदस्यहरू विशेषगरी खाडी अरबहरू मौन बसेका छन्।

पाकिस्तानले कश्मीरमा मानव अधिकार उल्लंघनको कुरा उठाउनु सुहाउँदैन किनभने स्वयं इस्लामाबादले उसको आफ्नै घरमा बलुचिस्तान र खइबर-पख्तूनख्वा लगायत पाकिस्तान अधिकृत कश्मीरमा आमनवीय रूपमा मानव अधिकारहरूको उल्लंघन गर्न जारी राखिरहेको छ। पाकिस्तानले धरातलका सत्यतथ्यहरूलाई बुझ्नु पर्नेछ र भारत विरोधी नाराहरू लगाउनुमा समय र ऊर्जा खेरो फाल्नको साटो आफ्ना भूलहरू सुधार्ने कार्य सुरु गर्नु पर्नेछ। त्यसले मात्रै सौहार्दपूर्ण सम्बन्धका लागि आधारशिला राख्न दुई मुलुकहरूबिच थाँतीमा रहेका मामिलाहरूको समाधान गर्ने मार्गलाई प्रशस्त पार्नेछ।

आलेख: राजनीतिक समीक्षक अशोक हान्डू

अनुवाद: प्रणय सुब्बा