भारतद्वारा आफ्नो पूर्व अभिमुखि कार्य नीतिमाथि पुनः जोड

प्रधान मन्त्री नरेन्द्र मोदीले रसियाको दुई दिने भ्रमणमा छँदा जापानका आफ्नो समकक्षी सिन्जो आबेसित पनि भेटघाट गर्नु भयो। जापानसित भारतको धेरै नै प्रगाढ सम्बन्ध छ साथै दुवै देशका प्रधान मन्त्रीहरुबीच व्यक्तिगत मित्रको सम्बन्ध पनि छ। भारतको परराष्ट्र मन्त्रालयले उहाँहरुबीचको भेटघाटलाई खुबै सौहार्दपूर्ण बताएको छ।

वार्षिक शिखर सम्मेलनको लागि जापानी प्रधानमन्त्री भारत आउनु पर्ने हुनाले उहाँको यही आगामी भारत भ्रमण सम्बन्धमा नै भेटघाटमा मुख्य रुपले कुराकानी भएको बुझिएको छ। शिखर सम्मेलन दिसेम्बर महिनामा हुनेछ।

दुवै नेताहरुले के कुरामा सहमति जनाएका छन् भने, वार्षिक शिखर सम्मेलन हुनभन्दा ठीक पहिले दुवै मुलुकबीच विदेश मन्त्री अनि रक्षा मन्त्री स्तरीय बैठकहरू हुनेछन्। भारतीय रक्षा मन्त्री श्री राजनाथ सिंहको हालै सम्पन्न भएको जापान भ्रमणको बेला दुई देशबीच प्रतिरक्षा क्षेत्रमा सहयोग र आदानप्रदानलाई अघि बढाउनु पर्ने विषयलाई लिएर व्यापक कुराकानी भएको प्रधान मन्त्री श्री आबेले उल्लेख गर्नु भयो।

दुवै प्रधान मन्त्रीहरूले जापान अमेरिका भारत त्रिपक्षीय बैठक सम्बन्धमा खुबै सकारात्मक धारणा व्यक्त गर्नु भयो। यस प्रकारका दुइवटा त्रिपक्षीय बैठकहरू ब्यूनस आयर्स र ओसाकामा सम्पन्न जी२० शिखर सम्मेलनहरूको छेकमा गरिएका थिए। यस्ता बैठकहरूमा दुवै पक्षहरूले व्यक्त गरेका धारणा खुबै सकारात्मक थिए। तीनै मुलुकहरू बीच यस्तो प्रकारको त्रिपक्षीय शिखर सम्मेलन आयोजन गर्ने परम्पराले निरन्तरता पाउनु पर्छ भनि उहाँहरूले सकारात्मक विचार व्यक्त गर्नु भयो।

भारत-प्रशान्त क्षेत्र विषयमा पनि भारत र जापानको एक समान धारणा छ। प्रधान मन्त्री श्री आबेले भारत-प्रशान्त क्षेत्र स्वतन्त्र र मुक्त हुनपर्नेमा साथै यस दिशामा द्विपक्षीय सहयोग हुन पर्नेमा जोड दिनु भयो। आर्थिक रुपले साथै जन-जनको सम्बन्धको माध्यमले भारत-प्रशान्त क्षेत्रलाई सुरक्षित र समृद्ध राख्नुपर्ने साथै यसलाई  दह्रिलो बनाउनु पर्ने उहाँले बिचार व्यक्त गर्नु भयो।

आसियानभित्रका दस मुलुकहरू लगायत १६ मुलुकहरूले समर्थन गरेको क्षेत्रिय आर्थिक सहयोग सम्झौता (छोटकरीमा आर.सी.ई.पी) सम्बन्धमा पनि संक्षिप्त रुपमा कुराकानी भयो। दुवै पक्षहरूले यस सम्बन्धमा बिचार व्यक्त गरे। वस्तु र सेवा दुवै क्षेत्रमा केही हितहरू अन्तर्निहित छन् अनि कुनै पनि क्षेत्रीय व्यापार व्यवस्थाहरूको निर्माण गर्दा ती कुराहरूको ध्यान राखिनु पर्छ, जसले गर्दा यो सम्झौताको कारणले सबै पक्षको मनमा सन्तुष्टि पलाउन सकोस् भनि प्रधान मन्त्री मोदीले विशेष जोड दिँदै भन्नुभयो।

श्री मोदीले मलेसियाका प्रधान मन्त्री डक्टर महाथिर मोहम्मदसँग पनि एउटा सौहार्दपूर्ण बैठक गर्नुभयो। भारतीय प्रधान मन्त्रीले डक्टर महाथिरको निर्वाचनलाई एक ऐतिहासिक कुरा बताउनुभयो अनि भन्नुभयो भारत मलेसियासित मिलेर काम गर्ने दिशामा हेरिराखेको थियो।

बैठकको बेला द्विपक्षीय विषयहरूमाथि छलफल गरियो। प्रधान मन्त्री महाथिरले दुई मुलुकहरू बिच व्यापार बढिराखेको तर मलेसियाको व्यापार सरप्लस अर्थात अत्याधिक भएको स्वीकार्नु भयो। उहाँले भारतीय प्रधान मन्त्रीलाई आश्वसन दिँदै भन्नुभयो कि हामीले यो व्यापारलाई बढाउने काम जारी राख्नै पर्छ र मलेसियाले यस्ता तरिकाहरू खोजिरहेको छ जसमा दुवै पक्षहरूले व्यापारलाई राम्ररी सन्तुलित राख्न सकुन्। उहाँले भारतबाट मलेसियाले अझ बढी आयात गर्नका लागि विचारविमर्श गरिराखेको बताउनुभयो जसको फलस्वरूप मलेसियामा भारतको निर्यात बढोस्।

मलेसियालाई भारतको राज्य जम्मू एवम् कश्मीरको पुनर्गठन प्रभावी सुशासन र सामाजिक-आर्थिक न्याय दिनका लागि गरिएको बताइयो। दुई नेताहरूले आतङ्कवादको बढ्दो खतरा र बढ्दो वैश्विक आतङ्कवादसित जुझ्नलाई दुवै पक्षहरूले कस्ता प्रयासहरू गर्नु पर्नेछ त्यसमाथि छलफल गर्नुभयो। प्रधान मन्त्री महाथिरले यो अब एक अन्तर्राष्ट्रिय समस्या बनेको स्वीकार्नु भयो अनि उहाँले मलेसिया आतङ्कवादको कुनै पनि प्रारूपको विरुद्धमा रहेको बताउनुभयो।

भारतीय प्रधान मन्त्रीले मङ्गोलियाका राष्ट्रपति खाल्टमागिन बाटुलगालाई पनि भेट्नु भयो। सो बैठक सौहार्दपूर्ण रह्यो। राष्ट्रपति बाटुलगा यही महिनाको अन्त्यमा सरकारी भ्रमणमा भारत आउनु हुने सम्भावना छ। बैठकमा विविध विषयहरूमाथि छलफल गरियो। हाल विचाराधीन केही परियोजनाहरू, विशेषगरी भारतले मङ्गोलियाको ऊर्जा आवश्यकता पूरा गर्न एउटा विशाल तेल रिफाइनेरीको निर्माणका लागि लाइन अफ क्रेडिट मार्फत दिने सहयोगमाथि छलफल गरियो।

भेटघाटमा संस्कृति र आध्यात्मिक विषयहरू लगायत दुवै मुलुकहरूका जन-जन सम्बन्धी कैयौं मामिलहरूबारे पनि कुराकानी भए। मङ्गोलियाका राष्ट्रपतिले आफु विशेषगरि बौद्धगया, दिल्ली र बेङ्गलुरुको भ्रमण गर्ने प्रतिक्षामा रहेको बताउनु भयो।  उलानबातारमा धुँवाको प्रभावलाई कम गर्ने सम्बन्धमा पनि कुराकानी भएको बुझिएको छ। शीतकालको समयमा आगो बाल्दा त्यसबाट फैलिने प्रदूषणलाई कम गर्नमा भारतले हासिल गरेको सफलताको प्रसङ्ग पनि राष्ट्रपतिले उठाउनु भयो।

भारतले यी बैठकहरूलाई खुबै फलदायक, राम्रो र पूर्व अभिमुखि कार्य नीति अनुरुप रहेको बताएको छ।

आलेख: पदम सिंह, अल इण्डिया रेडियोका समाचार विश्लेषक

अनुवाद  एवं वाचन:  जे.के.बराईली