पाकिस्तानको फेरि बेवास्ता

पाकिस्तानले कश्मीर मामिलामा आफूलाई बाँधिएको पाइरहेको छ। भारतद्वारा जम्मू एवम् कश्मीरको विशेष दर्जा समाप्त गर्न गरिएको निर्णयमाथि पाकिस्तानले अन्तर्राष्ट्रिय ध्यानाकर्षण गर्ने जोडदार प्रयास गरिरहेको छ। भारतले पर्याप्त रूपमा के स्पष्ट गरेको छ भने यो निर्णय भारतको आफ्नो आन्तरिक मामिला हो। भारतले आफ्नो दृष्टिकोण प्रस्तुत गर्नमा सफलता हासिल गरेको छ। भारतको यो निर्णयलाई  विश्वका प्रायःजस्ता सबै मुलुकहरूले स्वीकार गरेका छन्।

तथापि, पाकिस्तान सन्तुष्ट भएको छैन। अब उसले आफैलाई उसका घनिष्ठ मित्र राष्ट्रहरूबाट पनि अलग्गिएको स्थितिमा पाइरहेको छ।  विगत साता, पाकिस्तानका प्रधान मन्त्री र पाकिस्तानका सेना प्रमुखद्वारा साऊदी अरब र संयुक्त अरब एमिरेट्सका विदेश मन्त्रीहरूलाई निमन्त्रण दिइएको थियो। एक खास कुटनयिक दृष्टिले दुई निमन्त्रित विदेश मन्त्रीहरूद्वारा पाकिस्तानको कुरालाई शान्तिपूर्वक सुनियो मात्रै।

त्यसपछि, पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीले भन्नुभयो, उहाँकै शब्दहरूमा, “दुवै मुलुकहरूले हामीलाई निराश गर्ने छैनन् भन्ने विश्वास हामीलाई छ। दुवै मुलुकका मन्त्रीहरूले हाम्रो अडानलाई सुन्नुभएको छ”।

यो भन्दा नीरस वक्तव्य अरू केही हुन सक्दैन। कसैलाई योभन्दा बढीको अपेक्षा पनि थिएन। तर, पाकिस्तानी विश्लेषकहरूले समेत के महसुस गरे भने यो फोटो सत्रबाहेक अरू केही थिएन। पाकिस्तानले के दावी गर्दछ भने उसले आफ्नो कुटनयिक आक्रमणमा साऊदी अरब र संयुक्त अरब एमिरेट्सलाई संलग्न गरेको छ। तर, यी दुई महत्त्वपूर्ण अरब मुलुकहरू मौन नै रहे। यसबाट के सङ्केत पाइन्छ भने पाकिस्तानको सौदाबाजीको हतियार कुन्द भएको छ। यो बैठकले पाकिस्तानको मिडियामा क्षोभको तूफाननै खडा गरेको छ, तर मिडियाका नियन्त्रकहरू यो मामिलालाई दबाउन सक्षम भएका छन्।

पाकिस्तान नै उसको यो गलत परामर्श दिइएको पाइलोको लागि जिम्मेबार छ। अरब राष्ट्रहरूबाट उसले समय-समयमा सङ्कटबाट उकास्ने सहायताहरू प्राप्त गरिरहन्छ। पोहोर, पाकिस्तानले रियाध र अबु धाबी दुवैबाट करिब ६ अर्ब अमेरिकी डलर प्राप्त गरेको थियो। साऊदी अरबले अधिराज्यमा बसोबास गर्ने पाकिस्तानीहरूलाई ‘मिस्कीन’ अर्थात् अभावग्रस्त भन्ने गर्दछ। यो तथ्यलाई बिर्सनु हुँदैन। जबकि, प्रायःजस्ता खाडी मुलुकहरूमा काम गर्ने विदेशीहरूमा निकै ठुलो संख्यामा रहेका भारतीय प्रवासीहरूलाई उनीहरूको सीप, शिक्षा, दूरदृष्टि र प्राविधिक ज्ञानका लागि जानिन्छन्। भारतीय प्रवासीहरूलाई उनीहरू बसोबास गर्ने मुलुकहरूका आर्थिक फाँटमा महत्त्वपूर्ण भूमिका खेल्नेहरूको रूपमा चिह्निन्छ।

सन् २०१६-मा साऊदी अरबका राजा सलमानले भारतका प्रधान मन्त्री नरेन्द्र मोदीलाई अधिराज्यको सर्वोच्च नागरिक सम्मान राजा अब्दुलअजीज सैश सम्मान प्रदान गर्नुभएको थियो। साऊदी युवराज मोहम्मद बिन सलमानले सन् २०२१ सम्म भारतमा १ सय अरब अमेरिकी डलर निवेश गर्ने बाचा मार्नुभएको छ। यसै वर्ष प्रारम्भमा उहाँले पाकिस्तानमा जम्मा २० अर्ब अमेरिकी डलर निवेश गर्ने बाचा मार्नुभएको थियो। यसबाट कुन कुरा स्पष्ट देखिन्छ भने अरब मुलुकहरू जनताकालागि हितकारी सम्बन्धहरू विकसित गर्न इच्छुक छन् र यसमा धर्म कुनै कारण छैन।  पाकिस्तान र साऊदी अरबबिच व्यापार सम्बन्धहरू २०१७-१८-मा  ७.५ अरब अमेरिकी डलरमात्रै थियो जबकि भारत-साऊदी अरब व्यापार सोही वर्षमा २७.५ अरब अमेरिकी डलरको थियो।

संयुक्त अरब एमिरेट्सले पाकिस्तानप्रति झनै थोरै चिन्ता देखाएको छ। भारतमा संयुक्त अरब एमिरेट्सका राजदूत अहमद अल बन्नाले जम्मू एवम् कश्मीरमा भारतको निर्णयलाई भारतको आन्तरिक प्रशासनिक मामिला हो र ‘यो त्यहाँ थप स्थिरता र शान्तिको दिशामा एक पाइलो हो’ भन्दै निर्णयको पक्षमा बोल्नुभएको छ। सो निर्णय गरिएको केही साता पछि नै संयुक्त अरब एमिरेट्सले भारतका प्रधान मन्त्री नरेन्द्र मोदीलाई मुलुकको सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ जायेद’-ले सम्मानित गऱ्यो। पाकिस्तान यति साह्रै निराश भयो कि पाकिस्तानको संसदको माथिल्लो सदन सिनेटका अध्यक्ष सादिक सन्जरानीले संयुक्त अरब एमिरेट्सको आफ्नो यात्रा नै रद्द गर्नुभयो।

पाकिस्तानी टिप्पणीकारहरूले तेल समृद्ध अरब मुलुकहरूद्वारा भारतलाई समर्थन जनाउने उनीहरूको कारबाहीको भर्त्सना गरेका छन् भने पाकिस्तानका सडकहरूमा जनताले आफ्ना नेता र सेनासित चीनमा उइघर मुसलमानहरूलाई पुनर्शिक्षा शिविरहरूमा बलजफ्ती पठाइको बारेमा किन बोलिरहेका छैनन् भन्ने प्रश्न गरिरहेका छन्। तर उनीहरूलाई के राम्ररी थाहा छ भने चीन-पाकिस्तान आर्थिक करिडोर मुलुकको लागि जीवन-रेखा हो। पाकिस्तानले यमनमा भइरहेका मृत्यु र विनाशको बारेमा समेत बोल्दैन। पाकिस्तानको सैन्य एवम् असैन्य ऋणहरूको लालसाले गर्दा कैयौँ दशकदेखि अरूहरूका हितहरूलाई नै सघाउन बाध्य रहिआएको छ।

विश्लेषकहरूले महसुस गरेअनुसार चर्को कुटनीतिले पाकिस्तानलाई कुनै फाइदा पुऱ्याउने छैन। पाकिस्तानले मुसलमान मुलुकहरूबाट बढी समर्थनको अपेक्षा गर्नु पनि मूर्खता हुनेछ। इस्लामिक मुलुकहरूले के बुझेका छन् भने पाकिस्तान पुरानै राग अलाप्न मात्रै इच्छुक छ। आफ्नो अस्तित्वका ७२ वर्षहरूमा पाकिस्तानले आफ्नै दलदलबाट निस्कन केही पनि गरेको छैन। उसका छिमेकीहरू समृद्ध भएका छन् जबकि पाकिस्तान बाह्य सहायताको भरमा बाँच्न जारी छ र ऊ आतङ्कको निर्यातक बनेको छ। यसले गर्दा उसको वैश्विक अडानमा चोट पुगेको छ। पाकिस्तानले यो कुरालाई बुझ्ने र सुधारात्मक पाइलाहरू चाल्नु पर्ने यही समय हो।

आलेख: अल इन्डिया रेडियोमा समाचार विश्लेषक, कौशिक रॉय

अनुवाद तथा वाचनः विष्णुबहादुर गुरुङ्ग