भारत-नेपाल पेट्रोलियम पाइपलाइनको उद्घाटनः दक्षिण एसियामा प्रथम

भारत र नेपालले आफ्ना द्विपक्षीय सम्बन्धमा एक अर्को माइलखुट्टी गाडे जब दुवै मुलुकका प्रधान मन्त्रीहरूले भिडियो कन्फ्रेन्समार्फत् भारतको बिहार राज्यमा पर्ने मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म सीमा वारिपारि दक्षिण एसियामा नै पहिलो पेट्रोलियम उत्पाद पाइपलाइनको संयुक्त उद्घाटन गर्नुभयो। यो ६९ किलोमिटर लामो पाइपलाइन मध्ये ३२.७ किलोमिटर भारतीय सीमाभित्र पर्दछ भने ३७.२ किलोमिटर नेपालमा पर्दछ र यसमार्फत् नेपालका जनताका लागि वर्षेनी २० लाख टन स्वच्छ पेट्रोलियम उत्पादहरूको निर्बाध आपूर्तिको क्षमता छ।

यसलाई भारत र नेपालबिच घनिष्ठ द्विपक्षीय सम्बन्धको प्रतीक बताउँदै भारतका प्रधान मन्त्री नरेन्द्र मोदीले भन्नुभएअनुसार मोतिहारी-अमलेखगञ्ज पाइपलाइन परियोजनाले क्षेत्रको ऊर्जा सुरक्षालाई बढाउनमा मदद गर्नेछ र पारवहन लागतमा उल्लेखनीय कटौती गर्नेछ। उहाँले सन्तोष व्यक्त गर्दै के भन्नुभयो भने उच्चतम राजनीतिक स्तरमा नियमित आदान-प्रदानले भारत-नेपाल साझेदारीलाई विस्तारित गर्न एउटा उर्ध्वगामी कार्यक्रम बनायो। नयाँ दिल्लीबाट परियोजनाको उद्घाटन गर्दै श्री मोदीले दुई मुलुकबिच द्विपक्षीय सम्बन्धहरू अझ गहिरो हुँदै जाने र विविध क्षेत्रहरूमा बढ्ने विश्वास व्यक्त गर्नुभयो अनि हिमाली राष्ट्र नेपाललाई उसको विकास प्रयासहरूमा मदद गर्ने भारतको वचनबद्धतालाई दोहोऱ्याउनुभयो।

नेपालका प्रधान मन्त्री के.पि. शर्मा ओलीले यस अवसरमा काठमाडौँमा आफ्नो सम्बोधनमा यो पाइपलाइन परियोजनालाई व्यापार, पारवहन र पूर्वाधारको दृष्टिले सम्पर्कताका सर्वोत्तम उदाहरणहरूमध्ये एक बताउनुभयो। उहाँले भन्नुभयो, मजबुत राजनीतिक वचनबद्धताका साथ भारत र नेपालले दुई मुलुकका जनताको विकास, समृद्धि र खुसियालीबारे समान दृष्टिकोण राख्दछन् अनि दुवै मुलुकमा यसलाई साकार गर्ने मजबुत दृढसङ्कल्प छ। नेपालका जनताका लागि ठुलो राहत दिँदै प्रधान मन्त्री ओलीले नेपालमा पेट्रोल र डीजलको मूल्यमा दुई रुपियाँ प्रति लिटरको कटौतीको घोषणा गर्नुभयो। उहाँले भन्नुभएअनुसार भारतबाट नेपालमा पाइपलाइनमार्फत् तेल आपूर्तिको कारण लागत र समयमा कटौती त हुने छ नै साथै सडक यातायातमा पनि कमी आउनेछ र पेट्रोलियम पदार्थहरू ढुवानी गर्ने ट्याङ्करहरूद्वारा उत्पन्न गरिने प्रदूषण पनि कम हुनेछ।

नेपालले सन् १९७३ देखि तेल उत्पादहरूको आफ्नो समग्र आवश्यकता भारतबाट आयात गर्दै आएको छ र पारम्परिक रूपले तेल उत्पादहरूको ढुवानीका लागि तेल ट्याङ्करहरूको प्रयोग गर्दै आएको छ। नेपाललाई तेल आपूर्तिका लागि नोडल निकाय सार्वजनिक क्षेत्रको भारतीय तेल निगमले बिहारमा आफ्ना बरौनी तेलशोधन कारखाना र रक्सौल डिपोबाट तेल आपूर्तिका लागि सन् २०१७-मा नेपाल तेल निगमसित सम्झौता नवीकरण गरेको थियो जसअन्तर्गत थप पाँच वर्ष २०२२ सम्मका लागि तेल आपूर्ति जारी राखिनेछ।

मोतिहारी-अमलेखगञ्ज पाइपलाइन परियोजनाको प्रस्ताव सन् १९९६-मा नै गरिएको थियो तर त्यसपछि कैयौँ वर्षसम्म यसमाथि कुनै काम भएको थिएन। प्रधान मन्त्री नरेन्द्र मोदी सन् २०१४-मा नेपाल यात्रामा जानुभएको बेलामा यसले पुनः गति समात्यो। परियोजनाको कामलाई अघि बढाउनका लागि दुई मुलुकका सार्वजनिक क्षेत्रका प्रमुख तेल कम्पनीहरू भारतीय तेल निगम लिमिटेड र नेपाल तेल निगमबिच सेप्टेम्बर २०१५-मा एउटा सम्झौतामाथि हस्ताक्षर गरिएको थियो। परियोजनाको आधारशिला पोहोर अप्रिल महिनामा श्री ओलीको भारत यात्राको बेलामा नयाँ दिल्ली स्थित हैदराबाद हाउसबाट दुई मुलुकका प्रधान मन्त्रीहरू श्री मोदी र श्री ओलीले रिमोट कन्ट्रोलद्वारा गर्नुभएको थियो।

यो परियोजना ३० महिनाभित्रमा पूरा गरिने जनादेश थियो, तर दुवै मुलुकका अधिकृतहरूको अथक प्रयासहरूको परिणामस्वरूप यो लक्ष्य मूल रूपमा परिकल्पना गरिएको भन्दा आधै समयमा हासिल गर्न सकियो जो नेपालमा कुनैपनि भारतीय परियोजना तीव्र गतिमा हासिल गरिएको एउटा रेकर्ड नै हो। यसले गर्दा नेपालमा भारतको मददमा परियोजनाहरूको कार्यान्वयन कैयौँ मामिलामा अति ढिलो हुने गर्दछ जसको कारण समय चाहिएभन्दा बढी लाग्छ र लागतमा वृद्धि हुन्छ भन्ने प्रायः दोहोऱ्याइने तर्कलाई समाप्त पार्नमा मदद प्राप्त भएको छ। दुई मुलुकहरूले अब हाल नेपालमा भारतको मददमा चलिरहेका परियोजनाहरूको समीक्षा गर्न नियमित रूपमा उच्च स्तरीय बैठकहरू हुनेछन्। विगत महिनामात्रै, काठमाडौँमा भारत-नेपाल संयुक्त आयोगको बैठक बसेको थियो जसको सह-अध्यक्षता दुई मुलुकका विदेश मन्त्रीहरूले गर्नुभएको थियो। यो बैठकमा द्विपक्षीय सम्बन्धहरूको सम्पूर्ण आयामको समीक्षा गरिएको थियो, सहयोगका नयाँ क्षेत्रहरूको चिह्नारी गरिएको थियो अनि वर्तमानमा चलिरहेका परियोजनाहरूको कार्यान्वयनको प्रगतिको समीक्षा पनि गरिएको थियो। दुवै प्रधान मन्त्रीहरूले द्विपक्षीय सम्बन्धमा प्रगतिमाथि सन्तोष व्यक्त गर्नुभएको छ। नेपालमा २०१५ मा आएको महा-भुइँचालोले प्रभावित मानिसहरूका लागि भारतले ५० हजार घरहरूको निर्माण गरिदिएकोमा पनि श्री ओलीले भारतलाई धन्यवाद दिनुभयो।

आलेख: राजनीतिक समीक्षक रत्तन सालदी

अनुवादः विष्णुबहादुर गुरुङ्ग