भारतीय वायुसेनाः खेला प्रवर्तक बन्ने तरखरमा

भारतीय वायुसेना आगामी महिनाको दोस्रो सातामा फ्रेन्च डासल्ट एभिशनबाट पहिलो वायु प्रभुत्वकारी राफेल लडाकु जेट विमान प्राप्त गर्नका लागि तम्तयार छ। रक्षा मन्त्री राजनाथ सिंह पहिलो राफेल जेट प्राप्त गर्नका लागि फ्रान्समा रहनुहुनेछ। भारतीय वायुसेनाले राफेल जेट उडाउनका लागि आगामी महिनाको मई महिनासम्म २४ पाइलटहरूलाई तीन भिन्न डफ्फाहरूमा तालिम दिनेछ। त्यसैताक राफेल जेटहरूको पहिलो खेप भारत आइपुग्नेछन्। राफेल विमान तुरुन्तै खरीद गर्ने निर्णय अत्यन्तै युक्तिसङ्गत छ  किनभने बितेका वर्षहरूमा नयाँ दिल्लीका रक्षा रणनीतिकारहरू सैकडौँको संख्यामा पुराना भइसकेका आइ.ए.एफ. मिग-२१, मिग-२३ र मिग-२७ लडाकु विमानहरूलाई बदलिने प्रश्नसित जुझिरहेका थिए। यी लडाकु विमानहरू विस्तारै सेवाबाट मुक्त भइरहेका छन्।

त्यसैमाथि, भारतको निकट छिमेकमा विगत दशकहरूमा भएका घटनाहरू साथै सीमापारीबाट बढ्दो आतङ्कवादले भारतीय नेतृत्वलाई रक्षा खरीदको तात्कालिकतामाथि ध्यान दिन कर लगाए। हालैका समयमा भारतको रक्षा नीतिमा आधारभूत परिवर्तन पनि देखिएको छ। यो अब संयम र प्रतिरोधको सिद्धान्तमा मात्रै सीमित नभएर निकट छिमेकको मुलुकद्वारा राज्य प्रायोजित आतङ्कवादको मुकाबिला गर्नका लागि मजबुत कडा दृष्टिकोणमा परिवर्तित भएको छ। भारतले के स्पष्ट सङ्केत समेत दिएको छ भने स्थिति आइलागेको खण्डमा भारत आफ्नो “पहिला प्रयोग नगर्ने” परमाणु सिद्धान्तको समीक्षा गर्नमा पनि पछि हट्नेछैन।

विगत फेब्रुअरीमा गरिएको बालाकोट सर्जिकल हमला भारतीय सशस्त्र सेनाले अबउसो अनुगमन गर्ने कार्य-पद्धतिको सङ्केत हो। भारतीय नेतृत्वले पनि के महसुस गर्दछ भने उत्तरी सिमानामा उदीयमान स्थितिको मुकाबिला बढी प्रभावशाली हवाई शक्ति र हतियार प्रणालीबिना गर्न सकिँदैन। यसै सन्दर्भमा राफेल लडाकु विमानहरूको खरीदमाथि विशेष जोड दिइएको हो। बालाकोट कारवाहीपछि, प्रधान मन्त्री नरेन्द्र मोदीले राफेल लडाकु विमानहरूले झनै राम्रा परिणामहरू दिनसक्ने थिए भन्नुभएको थियो। उहाँको इसारा स्पष्टतया राफेल विमानका लुक्नसक्ने र अन्य क्षमताहरूतिर थियो जो वर्तमानमा भारतसित रहेका डफ्फाहरूमा छैन। भारतीय वायु सेना अपरेशनको बेलामा एक दर्जन मिराज-२००० विमानमाथि निर्भर हुनु परेको थियो जो त्यही कम्पनीद्वारा निर्मित थिए।

प्रमाणित रेकर्डहरूले के सङ्केत दिन्छन् भने राफेल सर्वोत्तम लडाकु विमानहरूमध्ये एक हो जो विश्वको सबैभन्दा अत्याधुनिक विमान यु.एस. एफ-२२ ऱ्याप्टरको तुलनामा मात्रै “आधा जेनरेशन”ले पछाडि छ। यसले भारतीय वायुसेनालाई अत्यन्तै लाभको स्थितिमा पुऱ्याउनेछ।

वास्तवमा, राफेल भारतीय वायु सेनामा खेला प्रवर्तक बन्नेछ किनभने तिनीहरूमा  हवाई कारवाहीको दौरान ‘शत्रुको हस्तक्षेप हुन सक्ने’ खतरालाई समाप्त पार्ने क्षमता छ। विविध स्तरका हतियारहरूयुक्त राफेल विमान हवाई सर्वोच्चता कायम गर्दै प्रतिरोध, हवाई निगरानी, भित्री हमला र परमाणु प्रतिरोध अभियानहरू गर्न सक्षम छ। राफेल विमानहरूमा हतियारहरू छोड्न सक्ने बिजुलीको गतिको सक्षमता, त्वरित प्रतिक्रियाका लागि खटाइँदा लेह जस्ता उँचाइमा रहेका वायु अड्डाहरूबाट उड्न सक्ने क्षमता, शत्रुको ट्र्याकिङ्ग प्रणालीको पहिचान गर्न राडार सचेतक रिसिभर र आइरहेका प्रक्ष्येप्यास्त्रलाई निष्फल तुल्याउनका लागि डिकोय प्रणाली छ।

राफेलमा अत्याधुनिक हतियारहरू पनि छन् जसमा लामो दूरीका जमिनी हमला क्ष्येप्यास्त्रहरू सामेल छन् जसले ३०० किलोमिटरको दूरीमा अत्यधिक सही निसाना लगाउन सक्छ। अर्को हो – हावादेखि हावामा मार हान्ने क्ष्येप्यास्त्र, जो आफ्नो वर्गमा सम्भवतया सर्वोत्तम छ। यसले दुश्मनको विमानलाई १०० किलोमिटरको दूरीबाट खसाल्न सक्छ। राफेल विमानहरू युद्धमा प्रमाणित छन् र बितेका वर्षहरूमा कैयौँ युद्धहरूमा यिनले भाग लिइसकेका छन्।

यससित जोडिएको एउटा घटनामा भारतका रक्षा मन्त्री राजनाथ सिंह तेजस विमानको परीक्षण-उडानमा सवारी गर्नुभयो। तेजस एउटा बहु-भूमिका सुपरसोनिक विमान हो जसको डिजाइन विविध प्रकारका हावा-देखि-हावा, हावा-देखि-जमिन, सठिक निर्देशित र स्ट्यान्ड-अफ क्षेप्यास्त्र तथा शस्त्रास्त्रहरू  बोक्न सक्नेगरि तयार पारिएको छ। यो विमान पनि चाँडैनै भारतीय वायुसेनामा सामेल हुने अपेक्षा छ।

बढ्दो भारतका झनै बढ्दा राष्ट्रिय हितहरू छन्। भारतका हितहरूको रक्षा गर्नका लागि शक्तिशाली सैन्य क्षमता राख्नु जरुरी छ। यस सन्दर्भमा भारत स्वेदशमानै निर्मित हतियार प्रणालीमाथि निर्भर गर्दैछ, जसलाई मजबुत औद्योगिक सक्षमताले आधार प्रदान गरेको छ। यसबाट सामरिक स्वतन्त्रता र स्वतन्त्र राष्ट्रिय सक्षमता तथा शक्तिको सङ्केत पाइन्छ। राफेल भारतीय वायुसेनाका वर्तमान आवश्यकताहरूका लागि क्षमताहरूको हिसाबले सर्वोत्तम विमान हुन सक्दछ, तर दीर्घकालिक फाइदाहरूका लागि वर्तमान खरीदहरूको प्रयोग गर्दै  घरेलु औद्योगिक क्षमता विकासमाथि ध्यान केन्द्रित गरिनु जरुरी छ।

आलेख : रक्षा विश्लेषक उत्तम कुमार विश्वास

अनुवादकः  विष्णुबहादुर गुरुङ्ग