जलवायु परिवर्तन एक वास्तविक चुनौतीः राष्ट्र संघमा प्रधान मन्त्री मोदीले पुनःदोहोऱ्याउनु भयो

स्वीडेनकी १६ वर्षीया पर्यावरणीय कार्यकर्ता ग्रेटा थनबर्गले न्यू-योर्कमा राष्ट्र संघ महासभामा रुँदै गरेको अपिलले त्यहाँ भेला भएका विश्वका नेताहरूको अन्तरात्मालाई हल्लाइ दिएको छ।

उनले विश्वका नेताहरूलाई चुनौती दिँदै भनिन् “समग्र भावी पिढीको नजर तपाईंहरूमाथि छ। यदी तपाईंहरू हामीलाई  विफल पार्न नै रोज्नुहुन्छ भने म भन्दछु, हामी तपाईँहरूलाई कहिले माफ गर्ने छैनौँ”।

आज जलवायु परिवर्तन मानव अस्तित्वको लागि एउटा सबैभन्दा ठूलो खतरा हो। जलवायु प्रणालीमा असन्तुलित परिवर्तनले सम्पूर्ण विश्वमा विनाशकारी परिणाम ल्याउने छ।

भारतका प्रधान मन्त्री नरेन्द्र मोदीले विश्वका नेताहरूलाई भन्नुभयो, “हामीले यो कुरा स्वीकार्नु पर्नेछ कि जलवायु परिवर्तन जस्तो गम्भीर चुनौतीलाई  जित्नु हो भने वर्तमानमा हामीले जेजत्ति पनि गरिराखेका छौँ ती पर्याप्त छैनन्”। उहाँले थप भन्नुभयो, “हामीलाई चाहिएको हो  व्यवहारिक परिवर्तन ल्याउनका निम्ति  वैश्विक जन आन्दोलन”।

श्री मोदीले  यस विश्व निकायको विशेष सम्मेलनलाई “प्रलोभन होइन तर आवश्यकता हाम्रो मार्गदर्शी सिद्धान्त रहिआएको छ” भनी बताउनुहुँदै भन्नुभयो, भारत यस विषयको गम्भीरतामाथि “ वार्ता गर्न मात्रै” होइन तर “एक व्यवहारिक दृष्टीकोण र एक मानचित्र” प्रस्तुत गर्न आएको हो।

जर्मनीमा पोस्टडम जलवायु प्रभाव अनुसन्धान संस्थानले तयार पारेको एक रिपोर्टको अनुमान अनुसार यो शताब्दीको अन्त्यसम्ममा एसियाली भूभागमा तापक्रम ६ डिग्री सेलसियसले बढेको हुनेछ।

तापक्रममा भएको यस वृद्धिले मौसम प्रणाली, कृषि एवम् मत्स्य पालन क्षेत्र, थल एवम् जल जैव विविधता, स्थानीय एवम् क्षेत्रीय सुरक्षा, व्यापार, सहरी विकास, प्रवास र स्वास्थ्यमा व्यापक परिवर्तन ल्याउनेछ। यस्तो परिदृश्यले कतिपय मुलुकहरूको लागि अस्तित्वको खतरा समेत हुनेछ अनि दीगो र समावेशी विकास हासिल गर्ने कुनै पनि आकांक्षालाई चकनाचुर पार्ने छ।

यो खतरा वास्तविक हो र जलवायु विज्ञहरू चेतावनी पनि दिएका छन्। यद्यपि, अहिले पनि हामी यो स्थितिलाई बद्लाउन सक्ने छौँ।

प्रधान मन्त्री मोदीले जोड दिँदै भन्नुभयो “वर्तमानको आवश्यकता हो एक बृहत् दृष्टिकोण जसले शिक्षादेखि लिएर  मूल्य अनि जीवनशैलीदेखि लिएर विकासवादी दर्शनसमेतलाई समाहित गर्न सक्छ।

भारतीय प्रधान मन्त्रीले भारतद्वारा उठाइएका ठोस कदमहरूलाई सूचिबद्ध गर्नुभयो र आउने समयको लागि एक मानचित्र प्रस्तुत गर्नुभयो जसमा नवीकरणीय ऊर्जा उत्पादन गर्ने तन्त्रका लागि एक सामूहिक मञ्चको स्थापना, ई-मोबिलिटी, उद्योमा कम कार्बन प्रयोग हुने तन्त्रको विकास गर्ने प्राविधीय नवाचार, एकपल्ट मात्र प्रयोग गरिने प्लास्टिकहरूमाथि प्रतिबन्ध,  पेट्रोल तथा डिजलमा जैवइन्धन मिश्रणको अनुपात बढाउने आदि जस्ता कुरा सामेल छन्।

भारतले परिवर्तनहरू अनुभव गर्न थालिसकेको छ। भारतले वर्षाको स्वरुपमा परिवर्तन, अत्याधिक बाढी र खडेरीको सामना गरिराखेको छ। पोट्सडम संस्थानको अनुमान अनुसार विश्वका २० सहरहरू बाढग्रस्त हुने जोखिममा छन् जसमध्ये  चार सहरहरू भारतमा छन् ती हुन् मुम्बई, चेन्नई, सुरत र कोलकाता।

जलवायु परिवर्तनले खाद्यान्न उत्पादनलाई अझ कठिन बनाउनेछ र उत्पादन लागतलाई बढाउनेछ। खाद्यान्नको अभावले गर्दा दक्षिण एसियामा कुपोषित बच्चाहरूको संख्या ७० लाखसम्म पुग्नेछ।

यसले स्वास्थ्यलाई पनि निकै हानी पुऱ्याउनेछ। घरबाहिरको प्रदूषित हावाको हानीकारक प्रभावले गर्दा हरेक वर्ष ३३ लाख मानिसहरू मर्ने गर्छन् जसमा चीन, भारत, पाकिस्तान र बाङ्गलादेश त्यस्ता मृत्युको सामना गर्ने चार शीर्ष मुलुकहरू हुन्।

तातो जलवायुले गर्दा ऊर्जा असुरक्षा बढ्न सक्छ फलस्वरूप द्वन्द्व उत्पन्न हुनसक्छ किनकि सीमित मात्रामा रहेको ऊर्जाका आपूर्ति निम्ति मुलुकहरू एक आपसमा भिड्ने छन्।

सौर ऊर्जाको प्रयोग एक सुरक्षित, सुविधाजनक, सस्तो, न्यायसंगत र दीगो ढंगमा बढाउने साझा लक्ष्यहरू हासिल गर्ने दिशामा मदत गर्नको लागि भारतले फ्रान्सका साथ मिलेर अन्तर्राष्ट्रिय सौर गठबन्धन स्थापित गरेको छ।

प्रधान मन्त्री मोदीले भारतको मानचित्रबारे जानकारी दिँदै भन्नुभयो, उहाँकै शब्दहरूमा ‘भारतले गैर-जीवाश्म इन्धनको हिस्सेदारी बढाउने योजना बनाइरहेको छ र नवीकरणीय ऊर्जाको क्षमता २०२२ सम्म १७५ गिगावाट र  पछि यसलाई अझै बढाएर ४५० गिगावाटसम्म पुऱ्याउने हाम्रो योजना छ। हामीले हाम्रो परिवहन क्षेत्रलाई ई-मोबिलिटी मार्फत ग्रीन अर्थात् प्रदूषणमुक्त बनाउने योजना बनाएका छौँ।”

एक वैश्विक निकाय हुनको नाताले संयुक्त राष्ट्र संघले कुनै पनि मुलुकलाई उसको जनादेशको अनुपालना गराउन वैधानिक रूपमा बाध्य बनाउन सक्छ। उ नैतिक दबाव दिनदेखि पनि अझ अघि जानु पर्नेछ।

प्रधान मन्त्री मोदीले सभालाई सम्बोधन गर्दै भन्नुभयो, प्रकृतिको सम्मान, संसाधनहरूको विवेकपूर्ण ढंगमा उपयोग, हाम्रा आवश्यकताहरू कम गर्नु र आफुसित भएका साधनमा नै बाँच्नु हाम्रो पारम्परा र वर्तमान समयको प्रयास, दुवैका महत्वपूर्ण पक्षहरू हुन्। भारतमा प्रकृतिसँग सद्भावनाका साथ बस्ने परम्परा रहेको छ।

भारतले अन्य धेरै मुलुकहरू झैँ जलवायु परिवर्तनलाई कम गर्दै १३० करोड मानिसहरूका आवश्यकता र आकांक्षालाई सन्तुलित गरिरहेको छ। तर वर्तमानमा हामी हाम्रो जिम्मेवारी पूरा गर्न विफल हुन्छौँ भने भविष्यले हामीलाई कहिले पनि क्षमा गर्ने छैन।

आलेख: भारतीय विज्ञान जॉर्नलका कार्यकारिणी सम्पादक, एन. भद्रन नायर

अनुवाद एवम् वाचन: प्रशान्त मोक्तान