श्रीलङ्कामा राष्ट्रपति चुनावको तरखर

श्रीलङ्काको राजनैतिक मञ्चमा देखापरेको हालको अवस्था, यसपालि यो देशमा देखिएको मौसमको अनिश्चितताभन्दा केही भिन्न छैन। यो देशमा आउँदो नोभेम्बर १६ तारिख हुन गइरहेको राष्ट्रपति चुनावका लागि तरखर भइरहेको छ। हालसम्मको स्थितिबारे कुरा गर्नु हो भने, चुनाव प्रचारको कार्य सुस्त नभए तापनि मौन तरिकाले नै अघि बढ्दै छ भन्दा अत्युक्ति नहोला। संविधानवमोजिम देशको सर्वोच्च शक्तिशाली पदका लागि उम्मेदवारहरूको भाग्य दाउमा लाग्ने यस चुनावको अहिलेसम्मको तम्तयारी हेर्दा असामान्य लागे तापनि, अचम्म लाग्ने पटक्कै होइन। देशमा हालै इस्टर सन्डेका दिन भएको आतङ्की हमलाको दुःखबाट मानिसहरू बाहिरिन नसक्नु, चुनावप्रति जनताको रुचिमा कमी देखिनुको एउटा कारण हो। श्रीलङ्काका धेरैजसो मानिसहरू देशका दुई प्रमुख राजनैतिक दलहरू जनताका लागि केही नयाँ र खुसियाली ल्याउने योजनाहरूका बारेमा घोषणा गर्न असमर्थ छन् भन्ने ठान्छन्।

पूर्व राष्ट्रपति महिन्दा राजपक्षेका भाई तथा देशका पूर्व रक्षा सचिव गोताबाया राजपक्षे चुनाव लड्नका लागि तम्तयार देखिएका छन्। उनले यही वर्षको सुरुआतमा नै राष्ट्रपति चुनाव लड्नका लागि आफूले अमेरिकी नागरिकता त्याग्ने र श्रीलङ्काको राष्ट्रियता अङ्गाल्ने आफ्ना योजनाहरूबारे घोषणा गरेका थिए। त्यसपछि उनले आफ्नो नागरिकता परिवर्तन गरे, तर श्रीलङ्काली नागरिकता र अन्य मामिलासँग सम्बन्धित कानुनअन्तर्गतका वैधताहरूमाथि अझै प्रश्न उठ्दै छन्। यस्ता कतिपय बुँदाहरूमा स्पष्टीकरण आउन बाँकी नै छ र यी, अदालतहरूमा अझै विचाराधीन छन्।

गोताबायाले एल. टि. टि. इ.-विरुद्धको लडाइँमा महत्त्वपूर्ण भूमिकाको निर्वाह गरेका थिए। विशेषज्ञहरू, उनले आफ्ना दाजुकै नीतिहरू अपनाउने छन् भन्ने विचार व्यक्त गर्दै छन्। गोताबायाले, आफूले तटस्थ रणनीति अपनाएर देशको विकासका लागि काम गर्ने बताएका छन्। तैपनि उनी खासगरी देशको दक्षिणी भागमा प्रभुत्व भएको सिंहली समुदायको समर्थनमाथि बढी भर पर्न सक्छन्।

अर्कातिर प्रधानमन्त्री रानिल विक्रमासिंघे सत्तारूढ दक्षिणपंथी युनाइटेड नेसनल पार्टीका उम्मेदवारका रूपमा देखिनुभएको छ। विक्रमासिंघेको लामो समयदेखि राष्ट्रपति बन्ने धोको, यसको एउटा पाटो त होला, तर उहाँ सबैभन्दा अनुभवी उम्मेदवार पनि  हुनुहुन्छ भन्ने कुरामा द्विमत हुन सकिँदैन। पाँचपल्ट प्रधानमन्त्री तथा चार दशकसम्म सांसद रहिसक्नुभएको विक्रमासिंघे २५ वर्षदेखि आफ्नो पार्टीका नेता पनि हुनुहुन्छ। तैपनि, उहाँको पार्टीलगायतका धेरैजसो मानिसहरू उहाँले राष्ट्रपति पदका लागि प्रतिद्वन्द्विता गरेको चाहँदैनन्। उनीहरूको भनाइमा, विक्रमासिंघेको अब राष्ट्रपति पदका लागि चुनाव लड्ने समय बित्यो, त्यसैले उनीहरू बरु कुनै युवा र बढी ऊर्जावान व्यक्तिले यो पदमा चुनाव लडेको चाहन्छन्। वर्तमान सिरिसेना सरकारका मन्त्री तथा पूर्व राष्ट्रपति रणसिंघे प्रेमदासाका छोरा सजित प्रेमदासा यो पदका लागि उपयुक्त उम्मेदवार देखिएका छन्। तर मैदानमा विक्रमासिंघे पनि हुनाले, पार्टी कुनै ठोस नतिजामा पुग्न सकेको छैन। त्यसैका कारण देशमा यसपालिको राष्ट्रपति चुनावको प्रचार खल्लो हुनुका साथै ढिलो सुरु भएको हो भन्न मिल्छ।

सजितले चाँडै आफ्नो उम्मेदवारीको घोषणा गर्ने सम्भावना छ। त्यसपछि अन्य दुई मजबुत उम्मेदवारहरूले पनि आ-आफ्नो उम्मेदवारीको घोषणा गरेपछि मात्र श्रीलङ्कामा चुनाव प्रचारले गति समात्ने अपेक्षा गरिँदै छ। विक्रमासिंघेको छविले जहाँ कोलम्बोको सत्तारूढ सम्भ्रान्त वर्गको प्रतिनिधित्व गर्दछ, त्यहीँ सजित प्रेमदासाको मजबुत गढ भनेको देशको दक्षिणी सिंहली बहुल क्षेत्र हो। यो क्षेत्रमा उनको स्थिति मजबुत हुनुको पछि उनका बुबा रणसिंघे प्रेमदासाको आंशिक रूपमा योगदान रहेको छ किनभने उहाँ आफ्नो कार्यकालमा सिंहली राष्ट्रिय भावनालाई जगाउने प्रमुख हस्ती हुनुहुन्थ्यो।

समग्रमा कुरा गर्दा, श्रीलङ्कामा यसपालि हुन गइरहेको राष्ट्रपति चुनावको लडाइँ, पूर्वका भन्दा निकै माथिल्लो स्तरसम्म पुग्ने सम्भावना देखिएको छ। आउँदो वर्षको सुरुमै यो देशमा हुन गइरहेको संसदीय निर्वाचनले गर्दा पनि राष्ट्रपति चुनाव बढी रोचक बन्ने देखिएको हो। विगतका पानाहरू पल्टाएर विश्लेषण गर्दा, नोभेम्बरमा हुन गइरहेको कार्यकारी राष्ट्रपति चुनावले आगामी संसदीय निर्वाचनमाथि गहिरो छाप छोड्ने छ भन्ने कुरामा कुनै सन्देह छैन। त्यसैले, अहिले सुस्त देखिए तापनि, आगामी केही हप्तामा प्रचार अभियानको गति ह्वात्तै बढ्ने अपेक्षा गरिँदै छ। त्यहीँबाट आगामी नववर्षमा हुने संसदीय चुनावको तरखर पनि सुरु हुने छ।

अत्यन्त निकटको छिमेकी र मित्र राष्ट्रको हैसियतले भारत, श्रीलङ्कामा स्वतन्त्र तथा निष्पक्ष चुनाव भएको चाहन्छ। नयाँ दिल्लीले इस्टरका अवसरमा भएका आतङ्की हमलापछि कोलम्बोसँग ऐक्यबद्धता देखाएको छ। एक लोकतान्त्रिक तथा बहुत्त्ववादी श्रीलङ्काले, दक्षिण एसियामा शान्ति तथा विकासको जग पनि बसाल्न सक्छ।

आलेखराजनैतिक टिप्पणीकार, एम. के. टिक्कू

अनुवाद तथा वाचनदीपक पौडेल