अहिंसा: विश्व शान्तिका लागि गान्धीको हतियार

विश्वमा अहिंसा र शान्तिका एक सर्वाधिक प्रतिष्ठित व्यक्ति हुनुहुन्छ मोहनदास करमचन्द गान्धी। उहाँलाई भारतमा “राष्ट्रपिता”का रूपमा आदर गरिन्छ भने विश्वले उहाँलाई महात्मा अर्थात महान आत्माका रूपमा चिन्दछ। राष्ट्र संघले विश्वस्तरमा अहिंसा र शान्तिको सन्देश फैलाउन गान्धीजीको जन्मजयन्ती २ अक्टोबरलाई ‘अन्तर्राष्ट्रिय अहिंसा दिवस’को रूपमा पालन गर्दछ।  उहाँले सत्य र अहिंसाका सिद्धान्तमा भारतको स्वाधीनता सङ्ग्रामको नेतृत्वमा गर्नुभएको थियो। गान्धीजी भन्नुहुन्थ्यो, अहिंसा नै मानिसको अन्यायविरुद्ध लड्ने सबभन्दा ठूलो शक्ति हो। यो त बुद्वीमान मानवद्वारा निर्मित शक्तिशाली विनाशकारी हतियारभन्दा पनि शक्तिशाली छ।

विश्वमा कैयौँ नेता, देश तथा समुदायहरू महात्मा गान्धीबाट प्रभावित भएका छन्। विश्वभर पीडित समाजहरूले मानिसहरू जुटाउने गान्धीको तकनिकलाई सफलतापूर्वक प्रयोग गरेका छन्। संयुक्त राज्य अमेरिकामा मार्टिन लुथर किङ्ग, भिएतनामी क्रान्तिकारी नेता ‘हो ची मिन्ह’ तथा म्यानमारमा आङ सान सू ची महात्मा गान्धीको जारी सान्दर्भिकताका प्रबल गवाहीहरू हुन्। पोल्याण्डमा ‘पोलिश गान्धी’ नामले परिचित लेख वलेसाको नेतृत्वमा साम्यवाद विरुद्धको लडाइँ अहिंसा कै सिद्धान्तमा आधारित थियो। फिलिपिन्समा कार्डिनल जैमी सिनको नेतृत्वमा जन शक्ति आन्दोलनले राष्ट्रपति मार्कोसको तानाशाही शासनको अन्त्य गर्नमा मुख्य भूमिका खेल्यो। अहिंसक संघर्षले चेकोसलोभाकियामा सोवियत शासनलाई समाप्त गऱ्यो।

१९९० को दशकको सुरुआती चरणमा दक्षिण अफ्रीकामा रङ्गभेदविरुद्ध भएका अहिंसक विरोध र जन प्रतिरोधको फलस्वरूप नेल्सन मन्डेला जेलमुक्त भइ देशका राष्ट्रपति निर्वाचित हुनुभएको थियो। पूर्णतया गान्धीको अहिंसामा आधारित मन्डेलाको नेतृत्वले सफलतापूर्वक दक्षिण अफ्रीकाबाट रङ्गभेदलाई उखालेर फ्याँक्यो।  म्याक्सिकन-अमेरिकन लेबर मूम्भमेन्ट र नागरिक अधिकार नेता सिजर चावेज तथा उहाँले लेटिनो खेती श्रमिकहरूका लागि गर्नुभएको वकालतमाथि गान्धीको एउटा ठूलो प्रभाव थियो। भर्खरै मात्र, २०११ को अरब स्प्रीङ्ग नामले प्रसिद्ध  लोकतन्त्र र मानव अधिकारका लागि भएको शान्तिपूर्ण अभियानमा अहिंसालाई प्राथमिकता दिइएको थियो। शान्तिप्रेमी विरोध प्रदर्शनकारीहरू भूमध्य र अफ्रिकामा दशकौँदेखि चलिआएको निरंकुश तथा दमनकारी शासनको अन्त्य गर्न एकबद्ध भए अनि खाडी क्षेत्र र पश्चिम एसियामा सुधार र परिवर्तन ल्याए। ती विरोध प्रदर्शनकारीहरूले शान्ति र अहिंसा द्वन्द्वको सामना गर्नमा अधिक शक्तिशाली र प्रभावकारी हुन सक्छन् भन्ने प्रमाणित गरे।

दलाय लामा भन्नुहुन्छ “वर्तमानमा हामीसँग विश्व शान्ति र विश्व युद्ध बिच, मनको शक्ति र भौतिकवादको शक्ति बिच, लोकतन्त्र र सर्वाधिकारवाद बिच एउटा ठूलो लडाइँ चलिराखेको छ।” यी विशाल युद्धहरू उचित ढंगमा लड्नका लागि यो समयमा हामीलाई गान्धीको दर्शनको खाँचो छ।

मार्टिन लुथर किङ्ग जुनियर यत्तिसम्म भन्न पुग्नुभयो “यदि मानवजातिलाई प्रगति गर्नु छ भने गान्धी अपरिहार्य छ। उहाँ मानवजाति एक शान्ति र सद्भावको विश्वतिर बढिराखेको दर्शनबाट प्रेरित, त्यसैमा जिउने, सोच्ने र कार्य गर्ने व्यक्ति हुनुहुन्थ्यो।”

महात्मा गान्धीले नोबेल शान्ति पुरस्कार प्राप्त गर्नुभएन, यद्यपि उहाँ कैयौँपटक मनोनित हुनुभयो। तर उहाँका अनुयायीहरू जस्तै मार्टिन लुथर किङ्ग जुनियर, नेल्सन मन्डेला, दलाय लामा, आङ सान सू चि, बराक ओबामा, डेस्मोन्ड टुटू तथा अर्जेन्टिनाका एडोल्फो पेरेज एस्कुइवेलले नोबेल शान्ति पुरस्कार प्राप्त गर्नुभयो।

महात्मा गान्धीको बुझाइमा अहिंसा शान्ति र परोक्ष हिंसाहीन बुझाउने एउटा साधारण शब्द मात्र नभएर हरेक दृष्टिकोणमा यो एक सक्रिय प्रेमलाई बुझाउने शब्द हो। गान्धीजीले मानव र प्रकृति माता बिचको सम्बन्धलाई मजबुत पार्नुहुँदै अहिंसालाई जीवन बृहत् रूपमा परिवर्तित गर्नमा प्रयोग गर्नुभयो।

आज मानवताको अस्तित्व मेटाउनसक्ने क्षमतासम्पन्न परमाणु हतियारहरूका कारण विश्वशान्ति जोखिममा परिराखेको बेला महात्मा गान्धीको प्रेम र सत्य तथा अरूको अधिकारको सम्मान गर्ने शिक्षा अन्य समयकोभन्दा अत्याधिक अर्थपूर्ण बनेको छ।

अलबर्ट आइन्सटाइन र गान्धी एक-अर्काका प्रशंसक हुनुहुन्थ्यो र पत्रहरू निरन्तर आदानप्रदान गर्नुहुन्थ्यो। आइन्सटाइनले गान्धीलाई “भावी पिँढीका लागि एक प्रेरणास्रोत” बताउनुहुन्थ्यो। आज विश्वले महात्मा गान्धीको १५०औँ जन्मोत्सव मनाइराख्दा आइन्सटाइनका ती शब्दहरूलाई स्मरण गर्नु विवेकपूर्ण हुनेछ जुन शब्दहरूमा उहाँले भन्नुभएको छ “विश्वमा महात्मा गान्धीका लागि प्रेम र आदर मान्यतामाथि आधारित रहेको छ, पूर्ण रूपले नैतिक पतन भइराखेको समयमा राजनैतिक परिदृश्यमा एक उच्च स्तरको मानव सम्बन्धका लागि उभिने राजनेता उहाँ मात्रै हुनुहुन्छ। हामीलाई थाहा हुनुपर्छ मानवताको दिगो भविष्य त्यतिबेला मात्र सम्भव हुनेछ जतिखेर अन्तर्राष्ट्रिय सम्बन्धहरूमा पनि निर्णयहरू निजी स्वार्थमाथि होइन, कानून र न्यायमाथि आधारित हुनेछन्।”

आलेख: डोमिनिक थोमस, गान्धी सम्बन्धी अध्ययनका टिप्पणीकार

अनुवाद एवम् वाचन: प्रणय सुब्बा