भारत एक स्वच्छ पर्यावरण लागि प्रतिबद्ध

भारतले महात्मा गान्धीको सफा सुग्घर बस्ने बानीप्रति श्रद्धाञ्जली अर्पण गर्दै स्वास्थ्य र पर्यावरण खातिर सिङ्गल-यूज प्लास्टिक अर्थात एकपल्ट मात्र प्रयोग हुने प्लास्टिकको प्रयोग बन्द गर्ने वाचाका साथ अनेक स्वच्छता अभियानहरू सुरु गरी २ अक्टूबरका दिन राष्ट्रपिताको १५०औँ जन्म जयन्ती भव्य रूपले पालन गऱ्यो। सरकारले समग्र प्लास्टिकको प्रयोगमाथि प्रतिबन्ध नलगाएपनि यस अवसरमा प्रधान मन्त्री नरेन्द्र मोदीले उहाँको सरकारको वर्ष २०२२ सम्ममा मुलुकबाट सिङ्गल-यूज प्लास्टिक पूर्ण रूपले हटाउने प्रतिबद्धतालाई दोहोऱ्याउनुभयो।

एक अनुमान अनुसार भारतमा प्रत्येक वर्ष ६ करोड २० लाख टन कचेरा उत्पन्न हुँदछ जसमध्ये प्लास्टिक सबभन्दा धेरै मात्रामा हुने गर्छ। ‘स्वच्छ भारत मिशन’ अन्तर्गत निरन्तर चलाइएका स्वच्छता अभियानहरू र फोहोर व्यवस्थापनका लागि सुव्यवस्थित प्रणालीको सिर्जनामाथि दिइएको जोडको परिणामस्वरूप देशमा पल्यास्टिक उत्पादहरू लगायत फोहोर-मैला जताततै फ्याँक्ने क्रियाकलापमा व्यापक कमी आएको देखिएको छ। अझै पनि प्लास्टिकको प्रयोग, विशेषगरी एकपल्ट मात्रै प्रयोग गरिने प्लास्टिकका थैला, बोतल र कपहरूको प्रयोग विरुद्ध बृहत जनचेतना अभियान चलाउने खाँचो छ किनभने यी प्लास्टिक उत्पादहरूमा भएका विषालु पदार्थ एवम् तत्वहरू मान्छेका शरीर भित्र पस्छन् जसले गर्दा क्यान्सर समेत अनेक थरिका भयङ्कर रोगहरू लाग्दछन्।

पर्यावरण पनि अब प्लास्टिक प्रदूषणलाई सहन गर्ने अवस्थामा छैन। सिङ्गल-यूज प्लास्टिकले जलवायु परिवर्तनलाई तीव्र बनाइराखेको छ। सिङ्गल-यूज प्लास्टिकले आफ्नो जीवनचक्रको हरेक चरणमा, प्रबन्धनदेखि लिएर यसको परिशोधनसम्म र एक अवशेष उत्पादको रूपमा यसको प्रबन्ध जुन प्रकारले गरिन्छ, त्यसले ग्रीनहाउस ग्यास उत्सर्जनलाई बढाइराखेको छ। एक रिपोर्ट अनुसार, २०५० सम्म पृथ्वीमा कुल कार्बन  फूटप्रिन्ट अर्थात कार्बनसित सम्बद्ध प्रदूषणको १३ प्रतिशत हिस्सा प्लास्टिकको हुनेछ। वास्तवमा, प्लास्टिक जीवनशैलीबाट उत्पन्न हुने ग्रीनहाउस ग्यासहरूको उत्सर्जनले पृथ्वीको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा कम राख्ने विश्वसमुदायको लक्ष्यलाई जोखिममा पारेको छ।

यी बाहेक, बाहिर खुला ठाउँहरूमा फ्याँकिने प्लास्टिक उत्पादहरू जस्तै थैला, बोतल, साना प्लास्टिकका पाउचहरूले खोला र नदीहरू प्रदूषित बनाइराखेका छन् जसले गर्दा खोला र नदीका पारिस्थिकी असन्तुलित बनिराखेको छ। यस समस्याको एकमात्र समाधान प्लास्टिकको प्रयोग विरुद्ध निवारक उपायहरू अपनाउनु हो र भारतले महात्मा गान्धीको १५०औँ जन्म जयन्ती पालन गर्दै सोही कुरामाथि जोड दियो। भारत आगामी तीन वर्षमा देशलाई सिङ्गल-यूज प्लास्टिकबाट मुक्त बनाउने आफ्नो उद्देश्यमा अडिग रहनु मात्र नभएर गान्धीजीको सपनाअनुरूप स्वच्छताका लागि पनि प्रतिबद्ध रहेको छ। मुलुकका ९९ प्रतिशत गाउँहरूले आफूलाई खुला शौचमुक्त भएको घोषित गरेका छन्। बितेका ६० महिनामा भारतभरि ११ करोड शौचालयहरूको निर्माण गरिएको छ। यसको श्रेय प्रधान मन्त्री मोदीलाई जान्छ किनभने उहाँले सन् २०१४ मा सुरु गरिएदेखिको स्वच्छतालाई उहाँको सरकारको एक प्रमुख अभियान बनाउनुभयो। भारतको आफूलाई फोहोरमुक्त बनाउने प्रतिबद्धलाई शौचालयले दर्शाउँछ किनभने फोहोरको सोझो सम्बन्ध मानिसको स्वास्थ्यसित छ।

एक रिपोर्ट अनुसार निम्न स्तरको सरसफाइ र स्वच्छताका कारण भारतमा प्रत्येक वर्ष एकलाखभन्दा बढी बालबालिकाहरूको मृत्यु हुने गर्छ। विश्वको सबभन्दा पुरानो मेडिकल पत्रिका, द ल्यान्सेटले कुपोषण र मानव एवम् पशुका मलमूत्रद्वारा दूषित पानीबाट हुने सेप्टिक जीवाणु संक्रमण र निम्न स्तरको व्यक्तिगत सरसफाइलाई भारतमा पखालाबाट हुने मृत्युका प्रमुख कारणहरू बताएको छ।

साफसफाइमा कमीको सोझो सम्बन्ध मच्छडको प्रजनन र मच्छडले टोकेर हुने मलेरिया र डेंगी जस्ता बिमारहरूसित छ। भारतीय प्रधान मन्त्रीले देशलाई रोग र मृत्युको बोझबाट मुक्त पार्नका लागि स्वच्छताप्रतिको व्यवहारमा परिवर्तन गर्न बारम्बार जोड दिनुभएको छ। भर्खरै बील एन्ड मेलिन्डा गेट्स फाउन्डेशनद्वारा श्री मोदीलाई प्रदान गरिएको ‘ग्लोबल गोलकीपर’ पुरस्कार ‘स्वच्छ भारत मिशन’लाई भारतको स्वास्थ्य र स्वच्छताप्रति अग्रसरताको एउटा आधारशिला बनाउने उहाँको अग्रणी नेतृत्वको गवाही हो।

करोडौँ भारतीयहरूको स्वास्थ्य, सुरक्षा र गरिमा बढाउने वाचा गरेको यो अभियानबाट महत्त्वपूर्ण आर्थिक लाभ पनि भएको छ। यूनिसेफको एउटा रिपोर्ट अनुसार, भारतको यो प्रमुख योजनाले ७५ लाख रोजगार सिर्जना गरेको छ र यसबाट भारतीय अर्थव्यवस्थमा २० लाख करोड रुपियाँको सकारात्मक लाभ प्राप्त भएको छ। व्यवहारिक रूपमा हेर्नु हो भने स्वच्छता केवल ईश्वर मात्र नभएर विकास र सशक्तिकरणको माध्यम पनि हो। स्वास्थ्य र समृद्ध समाजको विकासका लागि स्वच्छ पर्यावरणलाई महत्त्व नदिइकन दिएको कुनैपनि श्रद्धाञ्जली महात्मा गान्धीका लागि अपर्याप्त हुनेछ।

आलेख: शङ्कर कुमार, वरिष्ठ पत्रकार

अनुवाद एवम् वाचन: प्रणय सुब्बा