भारतले साउदी अरबसित संलग्नतालाई खँदिलो बनाउँदै

भारत र साउदी अरबबिच पारम्परिक मैत्रीपूर्ण सम्बन्ध रहिआएको छ। दुवै मुलुक सामरिक साझेदार हुन् र विविध मञ्चहरूमा मिलेर काम गरिरहेका छन्। यो सन्दर्भमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल साउदी अरबको दुई दिने यात्रामा जानुभएको थियो। उहाँले युवराज मुहम्मद बिन-सलमानसित भेट गर्नुभयो र उहाँका साउदी समकक्ष मुसैद बिन-ऐबनसित वार्तालाप गर्नुभयो। बैठकहरूमा कैयौँ द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरूमाथि छलफल गरियो। छलफलमा सामुन्ने आएका महत्त्वपूर्ण विषयहरूमध्ये एक थियो – भारतका प्रधान मन्त्री नरेन्द्र मोदी र युवराज मुहम्मद बिन-सलमानको सह-अध्यक्षतामा भारत-साउदी सामरिक साझेदारिता परिषदको स्थापनाका लागि तौरतरिकाहरूमाथि छलफल।

उल्लेख्य के छ भने पाकिस्तानका प्रधान मन्त्री इमरान खान विगत महिना संयुक्त राष्ट्रसंघ महासभाको ७४औँ अधिवेशनमा भाग लिनका लागि अमेरिका जाँदा बाटोमा रियाध जानुभएको थियो। भारतद्वारा जम्मू एवम् कश्मीरलाई विशेष दर्जा प्रदान गर्ने आफ्नो संविधानको अनुच्छेद ३७० लाई रद्द गर्न गरिएको निर्णयमाथि पाकिस्तानको कुटनीतिक हमलाको मध्येनजर श्री खानको साउदी अरब यात्राको निकै महत्त्व थियो। श्री खानको यात्राको प्रमुख उद्देश्य भारतको उक्त निर्णयविरुद्ध पाकिस्तानको अडानप्रति साउदी अरबको समर्थन हासिल गर्नु थियो।
तसर्थ श्री डोभालको साउदी अरब यात्राको लक्ष्य साउदी नेतृत्वलाई भारतको अडान र सीमा पारीबाट आतङ्कवादको कारणले भारतद्वारा सामना गर्नु पर्ने समस्याहरूबारे जानकारी दिनु थियो। साउदी अरब पनि आतङ्कवादको सिकार रहेको छ। सेप्टेम्बर महिनामा अबकैक र खुराइस-मा आरामको कम्पनीका दुइटा तेल-प्रशोधन कारखानाहरूमाथि स्पष्टतः यमनका हाउथी चरमपन्थीहरूद्वारा ड्रोन हमला गरिएको थियो। इस्लामिक स्टेट इन इराक एन्ड सिरिया (आइ.एस.आइ.एस.)-ले पनि साउदी अरबलाई आफ्नो निसानामा शीर्ष स्थानमा राखेको छ।
भारत र साउदी अरब दुवै दक्षिण एवम् पश्चिम एसियामा आतङ्कवादविरुद्ध लडाइँको अग्रपङ्क्तिमा छन्। साउदी अरबले उग्रवाद र आतङ्कवादविरुद्ध मुस्लिम विश्वमा जनमतलाई आकार प्रदान गर्नमा नेतृत्वकारी भूमिका खेलिरहेको छ। आतङ्कविरुद्ध लडाइँमा भारतको मजबुत अडानलाई साउदी नेतृत्वले स्वीकार गर्दछ र यसले गर्दा भारत र साउदी सुरक्षा निकायहरूबिच धर्मान्धतावाद र आतङ्कवादविरुद्ध लडाइँमा घनिष्ठ सहयोग हुन सकेको छ।
युवराज मुहम्मद बिन-सलमानको फेब्रुअरी २०१९-मा नयाँ दिल्ली भ्रमणपछि जारी संयुक्त विज्ञप्तिमा आतङ्कको पूर्वाधारलाई ध्वस्त पार्नु पर्ने तथा आतङ्कवादलाई समर्थन दिने आर्थिक सञ्जाललाई बन्द गर्नु पर्ने आवश्यकतामाथि जोड दिइएको थियो। हालैका वर्षहरूमा साउदी अरबले यो वर्ष जनवरी महिनामा भारतको पुलवामामा भएको आतङ्की हमलालगायतआतङ्की हमलाहरूको भर्त्सना गरेको थियो। पुलवामामा ४० भन्दा धेरै भारतीय सैनिकहरू शहीद भएका थिए भने त्यसअघि सन् २०१६-को जनवरी र सेप्टेम्बर महिनामा क्रमशः पठानकोट र उरीमा भएका हमलाहरूमा पनि भारतीय सैनिकहरूले ज्यान गुमाएका थिए।
पुलवामा हमला र त्यसपछि बालाकोट हमलामार्फत् भारतको प्रत्युत्तरपछि साउदी अरब दक्षिण एसियामा तनाव शैथिल्यताका लागि कूटनीतिमा संलग्न भएको थियो। भारतले के दृढ विश्वास गर्दछ भने जम्मू एवम् कश्मीर भारतको आन्तरिक मामिला हो र अनुच्छेद ३७० रद्द गर्ने निर्णय, राज्यलाई भारतको राजनीतिक एवम् आर्थिक विकासको मूलप्रवाहमा ल्याउने दृष्टिले गरिएको हो।
भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालको साउदी यात्राको कार्यसूचीमा एउटा अर्को महत्त्वपूर्ण विषय फाइनेन्सियल एक्शन्स टास्क फोर्स (एफ.ए.टि.एफ.) अर्थात् वित्तीय कारवाही कार्य दलद्वारा पछि यही महिना आफ्नो पूर्ण अधिवेशनमा पाकिस्तानलाई कालो सूचीमा राख्ने प्रस्ताव रहेको थियो।
सन् २०१८-मा एफ.ए.टि.एफ.-ले पाकिस्तानद्वारा आतङ्कवादलाई प्रायोजित गर्न जारी राखेबापत पाकिस्तानलाई आफ्नो ग्रे-लिस्ट अर्थात् चेतावनी सूचीमा राखेको थियो। एफ.ए.टि.एफ.-को एसिया-प्रशान्त समूह (ए.पि.जि.) अनुसार पाकिस्तानले आतङ्कवादी वित्तपोषण सञ्जाललाई समाप्त गर्नका लागि उसले गरेको धेरैजस्ता वचनबद्धताहरूलाई अझपनि पूरा गरेको छैन र उसलाई एफ.ए.टि.एफ.-को आगामी बैठकमा कालो सूचीमा राख्न सकिन्छ। एफ.ए.टि.एफ.-को अधिवेशनमा आतङ्कवादलाई राज्य-प्रायोजित आतङ्कवादविरुद्ध साउदी अरबको समर्थन, भारत-साउदी सम्बन्धहरूकालागि एक महत्त्वपूर्ण प्रोत्साहन हुन सक्दछ।
साउदी अरबसित भारतका द्विपक्षीय सम्बन्ध विगत केही वर्षहरूमा उल्लेख्य रूपमा सप्रेको छ र अप्रिल २०१६-मा प्रधान मन्त्री नरेन्द्र मोदीको रियाध यात्राले सामरिक साझेदारीमा एउटा नयाँ दिशाका लागि जग बसालेको थियो। दुवै मुलुकले द्विपक्षीय सम्बन्धहरूलाई गहिरो महत्व् दिन्छन्, तथा द्विपक्षीय व्यापार र लगानीलाई बढाउन तथा सुरक्षा एवम् आतङ्कवादविरुद्ध सहयोगमा विशेष जोड दिन्छन्।

आलेख: पश्चिम एसियासम्बन्धी सामरिक विश्लेषक डॅ. मोहम्मद मुदस्सिर कमर
अनुवादः विष्णुबहादुर गुरुङ्ग