भारतले बाङ्गलादेशसित सम्बन्ध मजबुत बनायो

बाङ्गलादेशकी प्रधान मन्त्री शैख हसिनाको भारत भ्रमण द्विपक्षीय राजनीतिक एवम् कुटनीतिक कारणहरूले गर्दा महत्त्वपूर्ण छ। सुरुमा यो भ्रमणको योजना गत साता दिल्लीमा आयोजित विश्व आर्थिक मञ्चमा यस मुलुकको बढ्दो लगानी क्षमताको प्रदर्शन गर्नु रहेको थियो, यद्यपि आधिकारिक सम्झौताहरू र जारी गरिएको संयुक्त वक्तव्यले सो भ्रमणको बेला दुवै पक्षले कतिपय ठोस कदमहरू चालेको देखाएका छन्।

प्रधान मन्त्री नरेन्द्र मोदीले बाङ्गलादेशकी नेत्रीलाई स्वागत गर्नुहुँदै गर्नुभएको सम्बोधनमा भन्नुभयो, दुई मुलुकको साझेदारीको लक्ष्य भारत र बाङ्गलादेशको “प्रत्येक नागरिकको विकास सुनिश्चित” गर्नु हो। यस सम्बन्धमा उहाँले भन्नुभयो विगत एक वर्षमा ढाका र दिल्लीले नौ परियोजनाहरू सुरु गरेका छन् अनि प्रधान मन्त्री हसिनाको यस ताजा भ्रमणको बेला थप तीन परियोजनाहरूलाई उक्त सूचीमा सामेल गरिएको छ।

दुवै पक्षले विशाल मात्रामा एलपीजी-को आपूर्ति, व्यवसायिक सिपको प्रशिक्षण तथा ढाकाको रामकृष्ण मिशनमा विवेकानन्द भवनको स्थापना गर्ने सम्झौताहरूमा हस्ताक्षर गरे। बाङ्गलादेशबाट भारतमा विशाल मात्रामा एलपीजी आपूर्तिको मुख्य उद्देश्य भारतका उत्तरपूर्वी राज्यहरूमा एलपीजी-को मागलाई पूरा गर्नु हो। बाङ्गलादेशलाई मदत गर्ने अर्को परियोजना हो बाङ्गलादेश-भारत व्यवसायिक सिप विकास संस्थान जसले बाङ्गलादेशको जनशक्तिलाई टेवा पुऱ्याउने छ।

दुई पक्षले सात सम्झौताहरूमा पनि हस्ताक्षर गरे जसमा तटीय निगरानी, भारतका जहाजहरूले चटगाँव र मोङ्गला बन्दरगाहको प्रयोग गर्न सक्ने अनि त्रिपुराको सबरूम टाउनका लागि खानेपानी आपूर्ति गर्न भारतले फेनी नदीको १.८२ क्युसेक पानी छोड्ने जस्ता सम्झौताहरू सामेल छन्। त्रिपुराका लागि फेनी नदीमाथि गरिएको सम्झौताले सिमानास्थित उक्त सहरका लागि निरन्तर जल आपूर्ति सुनिश्चित गर्नेछ साथै हालैका महिनाहरूमा विवादित बनेको मामिलाको समाधान पनि गर्नेछ।

तटीय निगरानीबारे सरकारी सूत्रले बताएअनुसार, यस सम्झौताले अन्तत: भारतलाई साझा तटीय रेखामा निगरानी रडार एकाइहरू राख्न र पूर्वाधार स्थापित गर्न अनुमति प्राप्त हुनेछ जसले दुवै पक्षलाई साझा तट क्षेत्रको निगरानी असल ढंगमा गर्न मदत गर्नेछ। यो जान्नमा आएको छ कि, यस तटीय क्षेत्रको असल प्रबन्धन र सुरक्षाका लागि लगभग २० निगरानी एकाइहरू स्थापित गरिने छन्।

शैख हसिनाले विश्व आर्थिक मञ्चमा आफ्नो प्रस्तुतीका दौरान बाङ्गलादेश एक धर्मनिरपेक्ष प्रगतिशील मुलुक रहेको बताउनुहुँदै भन्नुभयो, यो देश विशाल रोहिङ्ग्या शरणार्थी संकटसित निप्टिरहेको छ किनभने उसले २०१७ को अगस्ट-सेप्टेम्बरदेखि म्यानमारबाट आएका १० लाखभन्दा बढी रोहिङ्ग्याहरूलाई शरण दिइराखेको छ। उहाँले भारतलाई म्यानमारको रखाइन प्रान्तमा रोहिङ्ग्या समुदायको शीघ्र प्रत्यागमन सुनिश्चित गर्नका लागि अझ सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो। चटगाँवको पहाडी क्षेत्रमा करिब ११ लाख रोहिङ्ग्याहरू शरणार्थी शिविरहरूमा बसिराखेका छन्। भारत रोहिङ्ग्याहरूको सहायताका लागि १२० करोड रुपियाँको वार्षिक प्याकेजको पाँचौ अंश जारी गर्न प्रतिबद्ध छ। भारतले हालैमा रखाइन प्रान्तमा रोहिङ्ग्याहरूका लागि एउटा पुनर्बास कलोनीको निर्माण गरेको छ र वर्तमानमा थप अन्य परियोजनाहरूमाथि विचार विमर्श गरिराखेको छ जुन परियोजनाहरूले अन्तत: रोहिङ्ग्याहरूको पुनर्बासमा मदत पुऱ्याउने छन्। शैख हसिनाले रोहिङ्ग्या मामिला सम्हाल्ने आफ्नो दक्षतालाई उहाँको सरकारको यस समस्याको समाधान एक शान्तिपूर्ण ढंगमा गर्ने प्रतिबद्धताको एउटा सङ्केतको रूपमा वर्णन गर्नुभयो। नयाँ दिल्लीले म्यानमारको विस्थापित बौद्ध धर्मावलम्बी अराकनी समुदायका लागि १० करोड रुपियाँ जारी गरेको छ जसको मेजबान पनि बाङ्गलादेशद्वारा नै गरिँदैछ।

बाङ्गलादेशले रोहिङ्ग्याहरूको भविष्यको विषयलाई आगामी आसियान शिखर सम्मेलनमा राख्ने अपेक्षा छ। बाङ्गलादेशले असममा हाल जारी राष्ट्रिय नागरिक पञ्जिका (एनआरसी) प्रक्रियाको विषयलाई पनि उठायो जसको जवाफमा प्रधान मन्त्री मोदीले भन्नुभयो एनआरसी “अदालतको फैसलाबमोजिम सुरु गरिएको प्रक्रिया हो” अनि यो प्रक्रिया पूरा हुन अझै बाँकी नै छ। बाङ्गलादेशका विदेश सचिव शहिदुल हकले भन्नुभयो, बाङ्गलादेशले एनआरसीबाट उत्पन्न हुने स्थितिलाई हेर्नेछ। यसको अतिरिक्त उहाँले यो भारतको आन्तरिक मामिला हो भन्नुभयो।

प्रधान मन्त्री हसिनाले उहाँको सरकार  भ्रष्टाचार र आतङ्कवादका लागि ‘शून्य सहिष्णुता’ को नीतिलाई जारी राख्न प्रतिबद्ध रहेको दोहोऱ्याउनुभयो अनि दक्षिण एसियाली मुलुकहरूलाई बहुसंख्या-अल्पसंख्याको मनोभावबाट माथि उठ्न आग्रह गर्नुभयो। यस भ्रमणले यद्यपि टिस्टा जल सम्झौतामाथि कुनै पनि प्रगति गर्न सकेन जुन विषयमाथि बाङ्गलादेशमा सबभन्दा धेरै चर्चा भइराखेको थियो।

द्विपक्षीय छलफलको अन्त्यमा प्रधान मन्त्री शैख हसिनाले प्रधान मन्त्री नरेन्द्र मोदीलाई ढाकामा २०२० मा बङ्गबन्धु शैख मुजिबुर रहमानको १००औँ जन्म जयन्ती समारोहमा सरिक हुनका लागि निम्त्याउनु भयो। भारतले प्रधान मन्त्रीको भ्रमणका लागि दिइएको उक्त निमन्त्रणालाई सहर्ष स्वीकाऱ्यो।

आलेखः द हिन्दुका विशेष संबाददाताकल्लोल भट्टाचार्जी

अनुवादकः सुरेन्द्र जैरू