इमरानको बढ्दो संकट

पाकिस्तानका प्रधान मन्त्री इमरान खान चीनको दुइ दिने भ्रमणमा हुनुहुन्थ्यो। पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवा पनि आफ्ना समकक्षी जनरल झाङ्ग युकसिया र पिपल्स लिब्रेशन आर्मी, पिएलए-का शीर्ष सैन्य अधिकारीहरूका साथ भेटघाट गर्न श्री खानको भ्रमण भन्दा एक दिन पहिले बेजिङ्ग पुग्नुभएको थियो। प्रधान मन्त्री इमरान खानले चीनका राष्ट्रपति शी जिनपिङ्ग र प्रधान मन्त्री ली केकियाङ्गसित बैठक गर्नुभयो र सो बैठकमा  जनरल बजवा पनि सहभागी हुनुभयो। महत्त्वपूर्ण कुरा के हो भने  एक वर्ष भन्दा कम समयमा इमरान खानले चीनको यो तेस्रो यात्रा गर्नुभयो।

यस यात्राको संयुक्त वक्तव्यमा ‘नयाँ युगमा समुदायको एक साझा भविष्य’-को निर्माण गर्ने उद्देश्यका साथ ‘पाकिस्तान-चीनबीच सर्वकालिक सामरिक सहयोग साझेदारी’-लाई थप मजबुत पार्ने दुइ मुलुकहरूको दृढ संकल्पको पुनः पुष्टि गरिएको छ।

आशा गरिए अनुरूप यस वक्तव्यमा जम्मु कश्मीरको स्थितिबारे पनि उल्लेख गरिएको छ। राष्ट्र संघको प्रस्तावको सन्दर्भका साथ पाकिस्तानलाई सन्तोषजनक उत्तर दिँदै चीनले पाकिस्तानलाई भारतका साथ द्विपक्षीय स्तरमा यस मुद्दाको समाधान गर्ने स्पष्ट सन्देश पठाएको छ र सायद चीनलाई यस मुद्दाको क्रियान्वयन हुनु कठीन रहेको कुरा थाहा छ।

महत्त्वपूर्ण कुरा के हो भने चीनका राष्ट्रपतिको भारत भ्रमण र वित्तीय कारवाई कार्य बल अर्थात् एफ ए टि एफ-को बैठक हुनुभन्दा केही दिन पहिले इमरान खानको यो यात्रा भयो। उल्लेखनीय छ, सो बैठकमा एफ ए टि एफ-ले पाकिस्तानको प्रतिबद्धताको अनुपालनबारे मूल्याङ्कन गर्नेछ साथै उसलाई ग्रे-सूचीदेखि बल्याक सूचीमा राखिनेबारे निर्णय लिनेछ। चीनका शीर्ष नेतृत्त्वका साथ भएका बैठकहरूमा श्री खान र जनरल बजवाले कश्मीर मुद्दा उठाउनुहुनेछ र दुइ मुलुकहरू अझपनि परस्परमा दुख-सुखका साथी हुन् भन्ने सन्देश दिनुहुनेछ भन्ने अपेक्षा गरिनु स्वाभाविक थियो। तर राष्ट्रपति शीले ममल्लापुरममा प्रधान मन्त्री मोदीका साथ भएको अनौपचारिक शिखर बैठकको बेला कश्मीर मुद्दा उठाउनुभएन।

तथापि, श्री खानले राष्ट्रसंघ महासभामा दिनुभएको भाषण र उहाँको चीन भ्रमणबारे पाकिस्तानमा मिश्रित प्रतिक्रिया देखिएको छ। पाकिस्तानमा अधिकांश टिप्पणीकारहरूले आफ्नो मूल्याङ्कनमा वास्तविकता देखे। उनीहरूले के प्रतिक्रिया दिएका छन् भने इमरान खानले पाकिस्तानमा आफ्नो राजनीतिक उद्देश्य कायम राख्नका लागि जति प्रयास गरे तापनि भारतीय संविधानको अनुच्छेद ३७० र ३५ए-लाई रद्द गर्ने र जम्मू कश्मीर राज्यलाई पुनर्गठित गर्ने भारतीय निर्णयको सम्पूर्ण प्रभाव शून्यनै रहनेछ।

केही अन्य मानिसहरूले भनेका छन्, विगतमा जुल्फिकार अली भुट्टो, बेनजीर भुट्टो र नवाज शरीफले कश्मीर सम्बन्धी यस्तै वक्तव्यहरू दिनुभएको थियो तर भारतीय अडानमा कुनै विशेष प्रभाव पार्न सक्नुभएको थिएन। वैश्विक रणनीतिक परिदृश्य विकसित गर्ने तथा भारतको शक्तिको सम्भावना तथा चीन समेत विश्वका सबै शक्तिहरूका लागि यसको प्रासङ्गिकताको मामिलामा अन्तर्राष्ट्रिय स्तरमा यसको प्रभुत्व प्रति आभार व्यक्त गर्ने एक शान्त स्वीकृति पनि रहेको छ।  भारत एक यस्तो स्वाभाविक साझेदार हो जसले उदीयमान विश्व व्यवस्थालाई आकार दिनमा एउटा ठूलो भूमिका निर्वाह गर्न सक्नेछ।

भारतीय पाइलोले इमरान खानलाई पाकिस्तानी राजनीतिमा असहाय बनाएको छ भन्ने वास्तविकताप्रति उहाँ र उहाँका सहयोगीहरू परिचित छन्। यसबाट विपक्षले उहाँलाई नीचा देखाउने बहाना पाएको छ। उनीहरूले जम्मू कश्मीरमा भारतीय कारवाईलाई पहिलेदेखि अडकल काट्नमा उहाँको असमर्थता तथा उहाँको राजनीतिक अज्ञानतातर्फ इशारा गरिरहेका छन्। बिलावल भुट्टोले पनि इमरान खान मात्र एक कठपुतली रहेको जसको नियन्त्रण अन्य शक्तिहरूको हातमा रहेको भन्दै श्री खान तथा उहाँका सैन्य सहयोगीहरूमाथि कटाक्ष गर्नुभएको छ। इमरान खानका नीतिहरूबाट मोहभङ्ग भएपछि राजनीतिक लाभ उठाउने आशाका साथ मौलाना फजलूर रहमान इस्लामाबादको एक लामो पदयात्रा गर्ने तरखरमा हुनुहुन्छ।

बढदो मुद्रास्फीति, बेरोजगारी तथा राजस्व संकलन र लगानीको घटदो दरका कारण इमरान खान सरकार लडखडाइरहेको छ। वैश्विक बजार अनुसन्धान तथा परामर्श कम्पनीले हालै गरेको एक सर्वेक्षणले पाकिस्तानी अर्थव्यवस्थालाई लिएर मानिसहरूमा विश्वासको कमी आइरहेको देखाएको छ। यस मामिलामा भारतको ६२.९ अंकको तुलनामा पाकिस्तानको अंक ३३.८ रहेको छ। ६ महिनाको अल्पावधिको पूर्वानुमान अस्पष्ट छ। लगभग ७९ प्रतिशत मानिसहरूले पाकिस्तान गलत दिशातिर गइरहेको बताएका छन्।

इमरान खानको घट्दो लोकप्रियताकैबीच पाकिस्तानको विपक्षीले आफ्नो राजनीतिक भविष्यको पुनरुत्थानको गन्ध पाइरहेका छन्। बिलावल र नवाज शरीफ दुवैले इमरान खानलाई थप अशान्ति दिन र सेनाका साथ उहाँका सम्बन्धहरूको शक्ति परीक्षण गर्नका लागि फजलूर रहमानको पदयात्रालाई भरपूर समर्थन दिइरहनुभएको छ।

आलेख: डॉ. अशोक बेहूरिया,वरिष्ठ फेलो एवम्  संयोजक, दक्षिण एसिया केन्द्र, आईडिएसए 

अनुवाद एवम् वाचन: रञ्जना खवास