ट्रम्पद्वारा टर्कीको सीरिया अतिक्रमणलाई अन्तर्राष्ट्रिय असम्मतिको सङ्केत

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको टर्कीमाथि प्रतिबन्ध लगाउने निर्णयले लामो समयदेखि उथल-पुथल अवस्थामा रहँदैआएको मध्यपूर्वलाई अझ अस्तव्यस्त पारिदिएको छ। उहाँको सीरियाबाट कुर्दहरूको समर्थनमा तैनाथ गरिइएको अमेरिकी बल फिर्ता गर्ने निर्णय आएको केही दिन भित्रमै, संख्यामा कुर्दहरू अत्याधिक रहेको सीरियाली लोकतान्त्रिक बलको गैर-हाजिरीमा एक ‘मध्यवर्ती क्षेत्र’ बनाउनका लागि उत्तरी सीरियामाथि अतिक्रमण गर्ने टर्कीको निर्णयलाई अमेरिकी राष्ट्रपति ट्रम्पले आक्रोशित भइ कडा प्रतिक्रिया दिनुभयो। टर्कीका राष्ट्रपति रजब तैयब इरदुगानले सीरियाली लोकतान्त्रिक बलको सम्बन्ध टर्कीको कुर्दिश वर्कर्स पार्टीसित भएका हुनाले यसलाई एक ‘आतङ्की गुट’ को रूपमा हेर्नुहुन्छ। उहाँले सीरियाका कुर्दहरूमाथि आक्रमण गरेर टर्कीका कुर्द राष्ट्रवादीहरूको प्रभाव सिमित पार्ने प्रयास गरिराख्नुभएको छ।

समस्या समाधान अरूलाई गर्नु दिनुपर्छ भन्ने बहाना गरी सीरियाबाट अमेरिकी बल फिर्ता गर्ने राष्ट्रपति ट्रम्पद्वारा अपर्झट लिएको निर्णयलाई सीरिया र इराक, दुवै ठाउँमा कुर्दहरूसित विश्वासघात भएको बताइएको थियो। आईएसआईएस-को पराजय पछाडि कुर्दरूको मुख्य भूमिका थियो। सीरियामा अतिवादी गुट आईएसआईएस पूर्ण रूपले परास्त भएको घोषणा मार्च २०१९ मा गरिइएतापनि सानो संख्यामा छुटेका अतिवादीहरूले फेरि गुटबन्दी गर्न सक्छन् भन्ने डर त्यहाँ उत्तिकै छ।

आफ्नो सिमाना क्षेत्रका खाली जग्गाको फाइदा उठाउँदै टर्कीले गत साता उत्तरपूर्वी सीरियामा अत्यन्तै ठूलो सैन्य कारबाही सुरु गरेको थियो। राष्ट्रपति इरदुगान हाल सीरियामा रहेका ३६ लाख सीरियाली शरणार्थीहरूलाई पुनर्बास गराउन टर्कीको सिमानादेखि ३० किलोमीटर टाढा सीरिया भित्र एक सुरक्षित ठाउँको खोजीमा हुनुहुन्छ। शरणार्थीहरूलाई पुनर्बास गराउने उक्त कार्य महान देखिइएतापनि टर्कोको यो कारबाही विवादको घेरामा परेको छ र यसले लगभग विश्वव्यापी असम्मति र भर्त्सना निम्त्याएको छ।

राष्ट्रपति ट्रम्पले टर्कोको अतिक्रमणलाई छिटोगरी प्रतिक्रिया दिनुहुँदै नेटोको सदस्य राष्ट्र टर्कीमाथि अनेक प्रतिबन्धहरूको घोषणा गर्नुभयो। टर्कीबाट आयात गरिने इस्पातमाथि ५० प्रतिशत शुल्क फेरि लगाउने र १०० अर्ब अमेरिकी डलर बराबरको व्यापार सम्झौतालाई स्थगित राख्ने जस्ता उपायहरू प्रतिबन्धमा सामेल छन्।

अमेरिकाको न्याय मन्त्रालयले धन शोधन र इरान विरुद्ध लगाइएको प्रतिबन्ध उल्लंघन गरेको आरोपमा टर्कीको एक अग्रणी बैंक हल्कबैंक विरुद्ध आपराधिक जाँच सुरु गर्ने घोषणा गरेको छ। ट्रम्प प्रशासनले टर्कीका रक्षा, ऊर्जा र आन्तरिक मन्त्रालयहरू विरुद्ध प्रतिबन्ध लगाएको छ साथै उनीहरूका अमेरिकामा भएका सम्पत्तिहरू जफत पनि गरेको छ र उनीहरूसित सबै लेनदेन रद्द गरेको छ।

राष्ट्रपति ट्रम्पले “टर्कीका नेताहरू यस खतरनाक र विध्वंसक मार्गलाई जारी राख्छन् भने अमेरिका टर्कीको अर्थव्यवस्थालाई द्रुत गतिमा ध्वस्त पार्न तयार छ” भनी चेतावनी दिनुभएको छ। मध्य पूर्वको भ्रमणमा जानलाग्नुभएको अमेरिकी उप-राष्ट्रपतिले “टर्कीले युद्धविराम तुरुन्तै नगरेको खण्डमा” स्थिति अझ बिग्रनसक्ने चेतावनी दिनुभएको छ। अमेरिकी सांसदहरूले व्यापक द्विदलीय प्रतिबन्धहरू लगाउने योजना पनि बनाइराखेका छन्। सीरियामाथि अतिक्रमण गरेर राष्ट्रपति इरदुगानले समान विचारधारीहरूलाई एकीकृत गर्नुभएको छ। राष्ट्रपति ट्रम्पको इरान नीतिबाट आक्रोशित भएको युरोपेली संघलाई अङ्कारा विरुद्ध लगाइएको प्रतिबन्धबाट राहत मिल्नेछ साथै उनीहरूले कुर्दहरूलाई आफ्नो समर्थन र सीरिमा टर्केली अतिक्रमणको विरोध जनाउने अवसर पनि पाउने छन्। शरणार्थी संकटले ब्रसेल्सको कार्यक्षमतालाई सिमित बनाइराखेको छ किनभने राष्ट्रपति इरदुगानले टर्कीको सिमाना खोलीकन शरणार्थीहरूको एउटा लस्करलाई युरोपेली मुलुकहरूतिर प्रस्थान गराउने धम्की दिनुभएको छ।

टर्कीको सैन्य आक्रमण रोक्न विफल बनेका सीरिया र उसको सामरिक मित्र रसियाका लागि राष्ट्रपति ट्रम्पका कडा उपायहरू स्वर्गबाट मन्ना खसे झैँ हुनेछ। सीरियाली राष्ट्रपति बशर अल-असादका फौज विरुद्ध लड्न नरुचाउने सीरियाली लोकतान्त्रिक बल टर्कीको कारबाही विरुद्ध एक रणनीतिक सम्झौता गर्न तयार भइसकेको छ।

राष्ट्रपति इरदुगान आफ्नो अडानमा अडिग रहिआउनुभएको छ र आफ्ना लक्ष्यहरू हासिल नहुञ्जेल सैन्य कारबाही जारी राख्ने वचन दिनुभएको छ। उहाँको बढ्दो निरङ्कुशताका कारण देशमा बढिराखेका आक्रोश निर्मूल नपारेसम्म वा केही रणनीतिक लाभ हासिल नभएसम्म उहाँले आफ्नो अडान फिर्ता लिन सक्नुहुने छैन। उहाँका इरान, यरूशलेम वा गोलन हाइटमाथिका नीतिहरू विवादास्पद र अलोकप्रिय छन्। यद्यपि राष्ट्रपति ट्रम्पले टर्की मामिलामा एक बृहत घरेलु तथा अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्नुभएको छ। श्री इरदुगानले क्षेत्रका अनेक अरब र गैर-अरब राष्ट्रहरूलाई पनि क्रोधित र निराश बनाउनुभएको छ।

तसर्थ, घरमा प्राप्त द्विदलीय समर्थन र टर्कोको क्षेत्रीय अलग्याइले राष्ट्रपति ट्रम्पलाई आगामी साताहरूमा अङ्कारा विरुद्ध प्रतिबन्धहरू अझ विस्तार गर्न र तीव्र पार्न सक्षम बनाउने छन्।

भारत उत्तरपूर्वी सीरियामा टर्कीको एकपक्षीय सैन्य कारबाहीप्रति धेरै चिन्तित छ। नयाँ दिल्लीले भनेको छ, टर्कीको कारबाहीले क्षेत्रको स्थिरता र आतङ्कवाद विरुद्धको लडाइँलाई कमजोड बनाउन सक्छ। यो कारबाहीले ठूलो मानवीय तथा नागरिक संकट समेत उत्पन्न गर्न सक्छ।

आलेख: जवाहरलाल नेहरू विश्वविद्यालयको पश्चिम एसियाली अध्ययन केन्द्रका प्रोफेसर पि.आर. कुमरास्वामी

अनुवाद तथा वाचन: प्रणय सुब्बा