भारत-नेदरल्याण्ड सम्बन्ध नयाँ उचाइमा

भारत र नेदरल्याण्डबिच दीर्घकालीन ऐतिहासिक सम्बन्ध छ जुन सम्बन्ध १७औँ शताब्दीदेखि सुरु भएको हो। सन् १९४७मा भारतको स्वाधीनतापछि यी दुई देशले आधिकारिक सम्बन्ध स्थापित गरेका थिए। १९७० र १९८० को दशकमा आर्थिक सम्बन्ध तीव्र गतिले बढ्यो तर यो सम्बन्ध १९९० को दशकमा भारतीय अर्थव्यवस्थाको उदारीकरणपछि मात्रै फस्टाएको थियो।

राजनीतिक, आर्थिक र सामाजिक-सांस्कृतिक स्तरहरूमा द्विपक्षीय सम्बन्ध बढिराखेको छ जुन कुरा दुवै पक्षले उच्चस्तरीय भ्रमणहरूमार्फत राजनैतिक सम्बन्ध बढाएकोबाट प्रमाणित हुन्छ। २००६ मा नेदरल्याण्डका प्रधान मन्त्री ज्यान पिटर बलकेनेडी भारत भ्रमणमा आउनुभएको थियो। विगत चार वर्षमा प्रधान मन्त्री स्तरका तीन भ्रमणहरू भएका छन्। मई २०१८ मा नेदरल्याण्डका प्रधान मन्त्री मार्क रुट सर्वाधिक ठूलो कारोबारी शिष्टमण्डलका साथ भारत आउनुभएको थियो जसबाट दुई मुलुकहरूबिच बढ्दो आर्थिक संलग्नताको सङ्केत पाउन सकिन्छ।

डच शाही दम्पती किङ्ग विलेम अलेकज्यान्डर र क्वीन म्याक्सिमा ५ दिने भारत भ्रमणमा आउनुभएको थियो। सन् २०१३ मा राज्याभिषेक भएपछि किङ्ग विलेम अलेकज्यान्डरको यो भारतको प्रथम राजकीय भ्रमण थियो।

एक प्रशिक्षित पाइलट भएका हुनाले भ्रणमा आउँदा विमान उहाँ आफैले उडाउनु भयो। उहाँ कैयौँ के.एल.एम. विमानका सह-पाइलट पनि हुनुहुन्छ। नेदरल्यान्डमा संवैधानिक राजतन्त्र छ। वर्तमान राजाकी आमा क्वीन बिएट्रिक्स सन् २००७ मा भारत भ्रमणमा आउनुभएको थियो।

राष्ट्रपति राम नाथ कोविन्दले शाही दम्पतीलाई राजकीय भोजमा स्वागत गर्नुहुँदै आर्थिक साझेदारी भारत-नेदरल्याण्ड सम्बन्धको मुख्य स्तम्भ हो भनी जोड दिनुभयो। यस कुराको पुष्टि १०० भन्दा बढी डच कम्पनीहरू भारतमा काम गरिराखेको तथ्यबाट हुन्छ। यस अतिरिक्त, राष्ट्र संघ सुरक्षा परिषद र विभिन्न निर्यात नियन्त्रण व्यावस्थाहरूमा एक स्थायी सिटका लागि भारतले गरिराखेको दाबीलाई हेगले समर्थन गर्दै आएको छ। राष्ट्रपति कोविन्दले भन्नुभयो, बलियो ऐतिहासिक सम्बन्धका आधारमा दुई पक्षले “नवोन्मेष, लगानी र प्रविधिबाट उत्प्रेरित साझेदारिता निर्माण गरेका छन्”। उहाँले अझ भन्नुभयो, “स्मार्ट समाधान, स्मार्ट सहर, हरित ऊर्जा, स्टार्ट-अप तथा नयाँ युगका उत्पादहरूले हामीलाई एक-अर्काका नजिक ल्याइराखेका छन् र भारत नदी कायाकल्पमा नेदरल्याण्डबाट सिक्न र साझा गर्न उत्साहित छ।”

१९५७ मा प्रधान मन्त्री नेहरूले नेदरल्यान्डको पहिलो भ्रमणको बेला दिनुभएको भाषणलाई उद्धृत गर्दै किङ्ग विलेम अलेकज्यान्डरले भन्नुभयो, “हामी सबै एक-अर्काका घरआँगनमा बस्छौँ।” उहाँले भन्नुभयो, “बृहत सहकारिता र अन्तर्राष्ट्रिय कानूनका आधारमा विश्व व्यवस्थाको रक्षा गर्नका लागि भारत युरोपेली संघमा सामेल भइराखेकोमा नेदरल्याण्ड अत्यन्तै प्रसन्न भएको छ।” उहाँले राष्ट्र संघको दिगो विकासका लक्ष्यहरूप्रति भारतको प्रतिबद्धताको प्रशंसा पनि गर्नुभयो।

नेदरल्यान्ड युरोपेली संघमा भारतको पाँचऔँ सर्वाधिक ठूलो लगानीकर्ता र चौथो सर्वाधिक ठूलो व्यापार साझेदार हो। शाही दम्पतीको भ्रमणकै बेला विज्ञान एवम् प्रविधि विभाग र भारतीय उद्योग महासंघद्वारा २५औँ प्रविधि शिखर सम्मेलनको आयोजना गरिएको थियो जुन सम्मेलन एक सभा साथै प्रदर्शनी थियो र नेदरल्यान्ड त्यसको साझेदार मुलुक थियो।

सम्मेलनमा ध्यान केन्द्रित गरिएका मुख्य विषयहरू जल, कृषि, खाद्यान्न र स्वास्थ्य थिए । युवा युद्यमीहरूमाथि बल दिँदै उक्त शिखर सम्मेलनले १५ वटा भारतीय र डच स्टार्ट-अपहरूलाई कर्पोरेट, सरकारी तथा अन्य सरोकारवालाहरू र ज्ञानका संस्थानहरूमा आफ्ना नवोन्मेषी विचार प्रस्तुत गर्ने एउटा अवसर प्रदान गऱ्यो।

सम्मेलनको उद्घाटन गर्नुहुँदै किङ्ग विलेम अलेकज्यान्डरले भन्नुभयो, “नवोन्मेष भनेकै सह-सिर्जना हो। नवोन्मेषले हामी सबैमा प्रभाव पार्ने सामाजिक समस्याहरूसित निप्टिनका लागि मदत गर्न विश्वभरका ज्ञान र विशेषज्ञतालाई एकसूत्रमा बाँध्छ।”

नेदरल्याण्डमा सामाजिक-सांस्कृतिक स्तरमा भारतीय मूलका मानिसहरू लगभग २,३५,००० छन् र यो संख्या युरोपमा ब्रिटेनपछि सर्वाधिक ठूलो हो। १५ अक्टूबरका दिन शाही दम्पतीले सफ्दरजङ्गको ऐतिहासिक समाधिमा नेदरल्यान्डमा पढेका ५० पूर्व भारतीय विद्यार्थीहरूसँग अन्तर्क्रिया गर्नुभयो। युरोपको एक प्रवेश द्वारको रूपमा होल्यान्डले विशाल संख्यामा भारतीय विद्यार्थीहरूलाई आकर्षित गरिराखेको छ किनभने त्यहाँ किफायती निम्न लागतमा अङ्ग्रेजी माध्यमबाट उच्च शिक्षा प्रदान गरिन्छ।

मुम्बईमा शाही दम्पतीले डच समुदायलाई भेटे साथै साझा विरासतको ४०० वर्ष पूरा भएको अवसरमा “इन्डो-डच कनेक्शन्स इन द एज अफ रेमब्रान्ड” शीर्षकमा आयोजित एउटा प्रदर्शनीको उद्घाटन पनि गर्नुभयो। उहाँको भ्रमण केरल पुगेर टुङ्गियो जहाँ उहाँहरू मटानचेरी स्थित डच प्यालेस जानुभयो। शाही दम्पतीको यो भ्रमणले बढ्दो भारत-नेदरल्यान्ड सम्बन्धलाई अझ बलियो बनाउने छ।

आलेख: जवाहरलाल नेहरू विश्वविद्यालयको युरोपेली अध्ययन केन्द्रमा चेयरपर्सन एवम् जियन मोनेट चेयर, प्रोफेसर उम्मु सलमा बावा

अनुवाद एवम् वाचन: प्रणय सुब्बा