करतारपुर करिडोरको उद्घाटन

भारत र पाकिस्तानले एकआपसमा तनाव रहनको बावजुद पाकिस्तानको पञ्जाब प्रान्तको नरोवाल जिल्लास्थित गुरुद्वारा दरबार साहिबको यात्रा गर्ने सिख तीर्थालुहरूका लागि करतारपुर साहिब करिडोर खोल्ने निर्णय गरेका छन्। करतारपुर साहिब सिख पन्थका संस्थापक गुरु नानक देवजीको पुण्यस्थल हो। गुरु नानक देवजीले करतारपुर साहिबमा १८ वर्षसम्म प्रवचन दिनुभएको थियो। उहाँले आफ्नो अन्तिम क्षण त्यही ठाउँमा बिताउनुभएको थियो। यी सिख गुरुको ५५०औँ जयन्तीको उपलक्ष्यमा यस करिडोरलाई आउँदो नोभेम्बर महिनामा खोल्ने योजना बनाइएको हो। पोहोर नोभेम्बरमा भारत सरकारले भारतको गुरदासपुर जिल्लादेखि अन्तर्राष्ट्रिय सिमानासम्म चार लेन करिडोरको निर्माणलाई स्वीकृति दिएको थियो।

पाकिस्तानमा लगभग १७३ सिख धर्म स्थलहरू छन्। भारतका सिख तीर्थालुहरूलाई, सन् १९७४ मा भारत र पाकिस्तानबिच तीर्थालुहरूलाई एका अर्काका भूभि स्थित धार्मिक स्थलहरूको यात्रा गर्ने अनुमति प्रदान गर्नका लागि भएको द्विपक्षीय सन्धिबमोजिम ती मध्ये केही स्थलहरूमा मात्र जानसक्ने अनुमति प्रदान गरिएको छ।

यसअघिसम्म, सिख तीर्थालुहरूले सिमानास्थित डेरा बाबा नानकमा राखिइएको दूरबीनको प्रयोग गरी गुरुद्वारा दरबार साहिबको दर्शन गर्ने गर्थे। पाकिस्तानले चार अवसरहरू जस्तै बैशाखी पर्व, गुरु अर्जन देवजीको बलिदान दिवस, महाराजा रञ्जीत सिंहको पुण्यतीथि र गुरु नानक देवजीको जयन्तीमा मात्र सिमित तीर्थालुहरूलाई यात्राको अनुमति दिने गर्छ।

भारतका सिख तीर्थालुहरूलाई दरबार साहिब पवित्र स्थलको पहुँच प्रदान गराउन यसलाई एक सडकमार्फत जोड्ने प्रस्ताव धेरै पुरानो हो।

१९९९ मा करतारपुर साहिबको मरम्मती कर्या पूरा भएपछि तात्कालीन प्रधान मन्त्री वाजपेयीको लाहौरसम्मको ऐतिहासिक बस यात्राको बेला भारतले एउटा सडक निर्माण गर्ने प्रस्ताव राखेको थियो। सोही वर्ष पाकिस्तानले आई.एस.आई.-का पूर्व महानिदेशक लेफ्टेनेन्ट जनरल जाविद नासिरको अध्यक्षतामा पाकिस्तानको सिख समुदायलाई आफ्नो धार्मिक स्थल सञ्चालन गर्ने स्वायत्तता प्रदान गर्न “पाकिस्तान गुरुद्वारा प्रबन्धक समिति” गठन गरेको थियो। यद्यपि, यो संगठनले पाकिस्तान इभ्याक्युई ट्रस्ट प्रोपर्टी बोर्डको अधीनमा काम गर्छ र यो संगठन मुस्किलले स्वायत्त छ।

पाकिस्तानले सिख तीर्थालुहरूलाई गुरुद्वारा दरबार साहिबको यात्राको अनुमति दिनका लागि करतारपुर करिडोर खोल्न तयार रहेको घोषणा गरिसकेपछि, यसै वर्ष मार्च महिनामा यस करिडोर सञ्चालनका तौरतरिकाहरूबारे छलफल गर्नका लागि अट्टारीमा दुई देश पहिलो बैठक बसेका थिए। सो बैठकमा दुई बुँदाहरूमाथि सहमत हुनसकेन। पाकिस्तानले परमिट प्रणाली सुरु गर्ने  र तीर्थालुहरूमाथि २० डलर शुल्क लगाउने प्रस्ताव राखेको थियो। पाकिस्तानको मुख्य तर्क यस शुल्कबाट सङ्ग्रह भएको रकम करिडोरको रखरखावका लागि हुनेछ भन्ने थियो। शुल्क लगाउनाले गरीब तीर्थालुहरू यो पवित्र स्थल जान सक्ने छैनन् भन्ने तर्क राख्दै भारतले नि:शुल्क पहुँचका लागि निरन्तर दबाव दियो। तीर्थालुहरूसँग भारतका वाणिज्यदूत र सरकारी अधिकारीहरूलाई पनि जान दियोस् भनी भारतले गरेको अनुरोध विभेदको अर्को प्रमुख बुँदा थियो। विगतमा इस्लामाबादले सुरक्षाको हवाला दिँदै भारतीय उच्च आयोगका अधिकारीहरूलाई पञ्जा साहिब र ननकाना गुरूद्वाराहरूको यात्रामा गइराखेका सिख तीर्थालुहरूसित भेट्न दिएको थिएन।

दुवै मुलुकहरू भिसा-मुक्त यात्राका लागि सहमत भएका छन् तर तीर्थालुहरूले पासपोर्ट बोक्नु पर्नेछ र यात्राका लागि अनलाईन पञ्जीकरण गर्नु पर्नेछ। भारतले प्रति दिन १०,००० तीर्थालुहरूलाई यस पवित्र स्थलमा जाने अनुमति दिइयोस् भनी निवेदन गरेतापनि अन्तत: प्रतिदिन ५,००० तीर्थालुहरूलाई त्यहाँ जाने अनुमति दिइयो र खास अवसरहरूमा त्योभन्दा बढी तीर्थालुहरूले यात्रा गर्न पाउने छन्।

यद्यपि त्यहाँ केही भारत-विरोधी तत्वहरू पनि छन् जसले करतारपुर साहिबमा तीर्थालुहरूको अधिकतम फाइदा उठाउन चाहन्छन् र भारतमा पाकिस्तान-समर्थित कायरतापूर्ण गतिविधिहरू गर्नका लागि तीर्थालुहरूको सहयोग हासिल गर्ने चेष्टा गरिराखेका छन्। यो भारतको निम्ति चिन्ताको मुख्य विषय हो। विगतमा पञ्जाबमा उग्रवाद पछाडि पाकिस्तानको हात थियो अत: उसले उग्रवादलाई फेरि उक्साउन सक्छ। पाकिस्तानले पाकिस्तानआधारित कुख्यात भारत-विरोधी गोपाल सिंह चावलालाई करतारपुर आयोजना समितिको सदस्य नियुक्त गरेपछि यो करिडोर परियोजना विवादको घेरामा परेको थियो। चावला उग्रवादको प्रायोजक रहिआएको छ र उसलाई कैयौँ मुलुकहरूमा प्रतिबन्ध लगाइएको छ।

तीर्थालुहरूलाई सिखहरूको सबैभन्दा पवित्र स्थलसम्म पुऱ्याउने करतारपुर करिडोरको उद्घाटन एक महत्त्वपूर्ण कदम हो। दुई मुलुकबिच विद्यमान अशान्त द्विपक्षीय सम्बन्धमा यो करिडोर “शान्तिको मार्ग” बनोस् भन्ने अपेक्षा गरिइएको छ।

आलेखः दक्षिण एसिया सम्बन्धी सामरिक विश्लेषक डा. स्मृति एस. पटनायक

अनुवाद: जय कुमार बराईली

वाचन: प्रणय सुब्बा