आर्थिक दूरदर्शितालाई भारत-अमेरिका सामरिक मञ्चको समर्थन

भारत-अमेरिका सामरिक मञ्चको दोस्रो बैठकले द्विपक्षीय सम्बन्धलाई अझ मजबुत तुल्याएको छ। प्रधान मन्त्री नरेन्द्र मोदीले हालैमा अमेरिका यात्राको बेला भारतलाई आगामी पाँच वर्षमा ५ ट्रिलियन अर्थात ५० खरब डलरको अर्थतन्त्र बनाउने उहाँको संकल्पलाई जनसमक्ष राख्नुभएको थियो। भारत-अमेरिका सामरिक मञ्चका प्रतिनिधिहरूले भारतको उसको अर्थतन्त्रलाई दोब्बर बनाउने संकल्पसित उनीहरू विश्वस्त रहेको दोहोऱ्याए।

शीर्ष कर्पोरेटका मुख्य कार्यकारी अधिकारी (सीईओ-हरू) र कुटनीतिज्ञहरूको मञ्चद्वारा आयोजित बैठकले भारतको आगामी पाँच वर्षले विश्वका लागि आगामी २५ वर्षको रूपरेखा तयार पार्ने निष्कर्ष दियो। मञ्चका प्रतिनिधिहरूले भारतीय प्रधान मन्त्री मोदीलाई भेटे र उहाँको दूरदर्शितालाई सौजन्यपूर्ण समर्थन दिए। मञ्चको नेतृत्व जोहन च्याम्बर्सले गर्नुभएको थियो। प्रतिनिधि टोलीमा अमेरिकी शीत युद्ध कालका अनुभवी कुटनीतिज्ञ हेनरी किसिनजेर, पूर्व अमेरिकी विदेश मन्त्री कोन्डलीजा राईस र शीर्ष कर्पोरेटहरूका ३०० भन्दा बढी सीईओ-हरू सामेल थिए।

भारत र अमेरिकीले उनीहरूको सम्बन्ध बितेका दशकहरूमा गुणात्मक रूपमा विकसित भएको महसूस गरेका छन्। यो बुँदालाई केन्द्रीय वाणिज्य एवम् उद्योग मन्त्री पीयूष गोयलले औँल्याउनु भएको हो। उहाँले भन्नुभयो, वर्तमानमा द्विपक्षीय सम्बन्ध असल स्थितिमा छ। यस दृश्यमान जीवन्ततालाई ध्यानमा राखी विशेषज्ञहरू यो द्विपक्षीय सम्बन्धलाई वृद्धि गरी २०२५ सम्ममा २३८ अर्ब डलर पार्न तयार छन्। साथै, व्यापारिक मुद्दा अमेरिकाको कुटनीतिक बहसको केन्द्रबिन्दु बनिराखेको बारेमा पनि भारतलाई राम्ररी अवगत छ। आपसी सहमतिमा पुग्नका लागि भारतले राष्ट्रिय हितहरूलाई श्रेणीबद्ध गर्ने पाइलाहरू पनि सारेको छ। श्री गोयलले मञ्चलाई भारतले अमेरिकासित नयाँ व्यापार सम्झौता गर्नै आटेको बारे पनि जानकारी दिनुभयो। यो, दुई राष्ट्रहरूको सावधानीपूर्वक एवम् विस्तारसँग त्रुटिहरू हटाउने वचनबद्धता हुनेछ।

श्री मोदीले मञ्चलाई कारोबार अझ सहज बनाउन भारतद्वारा चालिएका कदमहरूबारे अवगत गराउनुभयो। भारतले आर्थिक विकासलाई गति दिनका लागि निजी लगानीलाई प्रोत्साहन गर्न समयमै कर्पोरेट कर दरमा कटौती गऱ्यो। यस बाहेक, प्रधान मन्त्रीले उद्यमीहरूका लागि अनुकूल वातावरण सिर्जना गर्नबारे विस्तृत रूपमा छलफल गर्नुभयो। वास्तवमा भारतले बितेका केही वर्षदेखि विद्यालयहरूमा ‘अटल’ टिङ्करिङ्ग लेबोरेट्रिज मार्फत नवोन्मेषलाई संस्थागत रूप दिने गम्भीर प्रयास गरिराखेको छ। प्रधान मन्त्री मोदीले मञ्चलाई भारतको ताकत तीनवटा डी. डेमोक्रेसी (जनतन्त्र), डेमोग्र्याफिक र ‘दिमाग’ (ब्रेन) मा आधारित रहेको बताउनुभयो। संयुक्त राज्य अमेरिका अन्य कुनै देशहरूभन्दा भारतीयहरूको दिमागी शक्तिबारे राम्ररी अवगत छ। सिलिकन भ्याली भारती प्रतिभाहरूले अमेरिकी अर्थतन्त्रलाई नयाँ उचाइहरूमा पुऱ्याएको एक ज्वलन्त उदाहरण हो।

भारत-अमेरिका व्यापारिक सम्बन्धले हालैका दशकहरूमा ठूलो छलाङ लगाएको छ। भारतले उचित ढंगमा १०० प्रतिशत प्रत्यक्ष विदेशी लगानीका साथ अनुबन्धीय विनिर्माणका लागि देशको ढोका खोलिदिएको छ। विशाल अमेरिकी विनिर्माण कम्पनीहरूले उनीहरूका चीनस्थित ठेगानाका लागि विकल्पहरू खोजिराखेका छन्। कतपिय पूर्वी एसियाली मुलुकहरूले यसको लाभ उठाउने प्रयास गरेका छन्। भारतको अङ्ग्रेजी भाषामा दक्षता र कारोबार गर्न सहजतामा सुधारका साथै बढ्दो कौशल जनशक्तिका भावनाले यो मुलुकलाई लगानीको एक आकर्षक गन्तव्य तुल्याएको छ।

भारतका परराष्ट्र मामिला मन्त्री डा. एस. जयशङ्करले कारोबार द्विपक्षीय सम्बन्धको आधारशिला हो भनी मञ्चलाई सही भन्नुभयो। डा. जयशङ्करले भारत सरकारको मानव संसाधनलाई गुणात्मक रूपमा रूपान्तरित गर्ने प्रयास भारत-अमेरिका व्यापारिक सम्बन्धको एउटा सम्पदा नै बनिराखेको उल्लेख गर्नुभयो।

प्रधान मन्त्रीले उहाँको अमेरिका भ्रमणको बेला ह्युस्टन सहरमा शीर्ष अमेरिकी ऊर्जा कम्पनीहरूका सीईओ-हरूलाई भेट्नुभयो। यसको लगत्तैपछि भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानले द्विपक्षीय सम्बन्धमा ऊर्जाका आयामलाई अगाडि लानुभयो। श्री प्रधानले मञ्चलाई यो वर्ष अमेरिकासँग भारतको ऊर्जा व्यापार १० अर्ब डलर पार हुने बताउनुभयो। एसियाली भूराजनीतिलाई ध्यानमा राखी भविष्यमा तेल आयातका जोखिम कम गर्नु वास्तवमा भारत सरकारको प्राथमिकता हो। भारतले यसअघि संयुक्त राज्य अमेरिकासँग शेल ग्यास आयात गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो।

शीर्ष भारतीय नेतृत्वसँग मञ्चको यो अन्तर्क्रिया ट्रम्प प्रशासनका वरिष्ठ मन्त्रीहरू निर्धारित भारत भ्रमणमा आउनु ठीकअघि भएको हो। भारत र अमेरिका बीच एक परस्पर लाभकारी व्यापारिक सम्झौता दुई देश बिचको समृद्ध द्विपक्षीय सम्बन्धका लागि निश्चिय नै सुनमा सुगन्ध थपेको झैँ हुनेछ।

आलेख: द न्यु इन्डियन एक्सप्रेसका वरिष्ठ विशेष संवाददाता मनिष आनन्द

अनुवाद एवम् वाचन: प्रणय सुब्बा