दक्षिण चीन सागर: एउटा नौलो चरम बिन्दु

चीनमाथि, उसले दक्षिण चीन सागरमा लक्ष्मण रेखा पार गरेको तथा भियेतनामको अनन्य आर्थिक क्षेत्रमा घुसपैठ गरेर अन्तर्राष्ट्रिय ऐनको उल्लंघन गरेको अभियोग लगाइएको छ। आरोप यो रहेको छ कि चिनियाँ सर्वेक्षण जहाज, भियेतनामी तटको निकटतम बिन्दु ६० नटिकल माइल्स छेउछाउ पुगेको थियो। यस प्रकार चीनले उ भन्दा कता हो कता धेरै असमान मुलुक भियेतनामसित एउटा भिडन्तको स्थितिको सृर्जना गरेको अनि भियेतनामको आर्थिक सुरक्षाप्रति खतरा उत्पन्न गरेको छ। चिनियाँ जहाजले अन्य चार जहाजहरूको सुरक्षामा लगभग १२० किलोमिटर क्षेत्रमा यो सर्वेक्षण जारी राखेको पनि अभियोग लगाइएको छ। रिपोर्टहरूका अनुसार यो सर्वेक्षण भियेतनामको फू कुई द्वीपको दक्षिण पूर्वमा र दक्षिण भियेतनामको फान थिएट सहरबाट १८५ किलोमिटरको दूरीमा गरिएको थियो।

कुनै पनि मुलुकको अनन्य आर्थिक क्षेत्र (इ इ जेड) २०० नटिकल माइल अर्थात ३७० किलोमिटर वा २३० माइल टाढासम्म फैलिएको हुन्छ र यसले सो मुलुकलाई अन्तर्राष्ट्रिय सम्झौताअनुरुप सो क्षेत्रमा पर्ने कुनै पनि प्राकृतिक संसाधनको दोहन गर्ने अधिकार प्रदान गर्छ। दक्षिण चीन सागरमा शान्ति तथा स्थिरतामा हित निहित रहेका राष्ट्रहरूले चीनलाई उसको सर्वेक्षण र अन्य जहाजहरू त्यहाँबाट तत्काल फिर्ता गर्न आह्वान गर्नु पर्छ।

भियेतनामको तट रेखाको यत्ति निकट उक्त जहाजको उपस्थिति, हानोईको समुद्री क्षमतामाथि चाप हाल्न चीनले ताउर–माउर बढाई राखेको तथ्यकै एउटा सङ्केत हो। यसले रसियाको पेट्रोलियम कम्पनी ‘रोजनेफ्ट’ सित साझेदारीका साथ भियेतनामद्वारा चलाई राखिएको तेल तथा ग्यास उत्खनन् कार्यलाई पनि बाधा पुऱ्याउन सक्छ। हुनत भियेतनाम र चीन,  प्रचुर ऊर्जा सम्पदाको सम्भावना रहेको यो जलक्षेत्र र दक्षिण चीन सागरको व्यस्त जहाजरानी मार्गलाई लिएर धेरै दिनदेखिनै विवादमा अल्झि राखेका छन् तर भियेतनामको इ.इ.जेड. मा चीनको घुसपैठ हालका वर्षहरू र विशेषगरी विगत महिनाहरूमा निकै बढेको छ। यसले चिनियाँ राष्ट्रपति शी जिंपिङ्गको सम्पूर्ण क्षेत्रमा चीनको हैकम विस्तारित गर्ने र सो कार्यलाई कम्युनिस्ट पार्टीको स्थापनाको ७०औँ जयन्तीकै हाराहारीमा सम्पन्न गर्ने सपना साकार पार्न सक्छ।

हानोईद्वारा रसिया र भारतलाई तेलको खोजी गर्ने अनुमति प्रदान गरिएको आफ्नो अनन्य समुद्री क्षेत्रको ठूलो हिस्सा समेत रहेको विशाल समुद्री इलाकामा चीनले एकपक्षीय रूपमा एउटा अङ्ग्रेजी अक्षर ‘यु’ आकारको नाइन-डेश-लाइनको घोषणा गरेको छ। व्यवस्थाहरू र संस्थागत उपायहरू मार्फत चीनको आचरणलाई संयमित पार्नको लागि अगावैदेखि अनेकौँ उपायहरू गरि राखिएको थियो र ती अहिले पनि जारी छन्। तर ती प्रयासहरू अहिले सम्म सफल हुन सकेका छैनन्। त्यसैले, दक्षिण चीन सागरमा शान्ति र स्थिरता कायम राख्ने तथा संघर्षको व्यवस्थापन निम्ति एउटा परिपाटी सृजना गर्ने जिम्मेवारी दक्षिण पूर्व एशियाली राष्ट्रहरूको संस्थान (आसियान) माथि आइ पर्न सक्छ।

जून २०१९ मा भएको आसियान विदेश मन्त्रीहरूको बैठकमा अध्यक्षको बयानमा दक्षिण चीन सागरमा बिजिङ्गका गतिविधिहरूमाथि चिन्ता प्रकट गरिएको थियो। यसको ब्याङ्ककमा हुन निर्धारित आगामी बैठकमा, संगठनको बढ्दो एकता प्रदर्शित गर्नु तथा चीनमाथि दक्षिण चीन सागरमा कुनै यस्तो गतिविधि गर्नबाट  संयमित रहन जोड दिनु नितान्त जरूरी छ किनभने त्यस्तो गतिविधिले  क्षेत्रको शान्ति र स्थिरतालाई खतरामा पार्न सक्छ। आयोजक मुलुक तथा अध्यक्ष थाइल्याण्डले आसियानको ३५औँ शिखर सम्मेलन अथवा १४औँ पूर्वी एशिया शिखर सम्मेलनको घोषणामा दक्षिण चीन सागरको उल्लेख गर्नु पर्छ। आसियानको चीनलाई एउटा कानुनी तवरमा बाध्यतामूलक आचार संहिता स्वीकार गर्न लगाउन सक्यो भने मात्र संगठनको केन्द्रीयता सुनिश्चित हुन सक्ने छ।

दक्षिण चीन सागरमाथि भारतको अडान समुद्रसम्बन्धी राष्ट्र संघीय सम्झौतामाथि आधारित रहेको छ। भारतको यो मान्यता रहेको छ कि दक्षिण चीन सागरमा बढ्दो तनावबाट अन्तर्राष्ट्रिय समुद्री व्यापारमा बाधा पुग्न जानेछ। दक्षिण चीन सागर एउटा यस्तो महत्त्वपूर्ण समुद्री मार्ग हो जसमार्फत वर्षेनी ५ ट्रिलियन अर्थात ५००० (पाँच हजार) अरब डलरको व्यापार हुने गर्छ। मलक्का जलडमरूमध्य त्यो साँघुरो जल मार्ग हो जसले हिन्द महासागरलई दक्षिण चीन सागरसित जोड्छ र यसबाट सुयेज क्यानलभन्दा पाँच गुणा बढी तेलको ओसार-पोसार हुन्छ।

प्रधान मन्त्री नरेन्द्र मोदीको पूर्वोन्मुखी कार्य नीतिका साथै क्षेत्रका मुलुकहरू विशेषगरी इण्डोनेशिया, सिङ्गापुर, भियेतनाम र फिलिपिन्ससित भारतका सामरिक सम्बन्धहरू सशक्त हुन गएका छन्। यसै कारण, पूर्वी एशियाली मुलुकका शीर्ष नेताहरूको पूर्वी एशियाली शिखर सम्मेलनका साथै आसियानका नेताहरूले दक्षिण चीन सागरसम्बन्धी समस्यामाथि छलफल गर्ने अपेक्षा गर्न सकिन्छ। भारत भने नौवहनको स्वतन्त्रता, एउटा नियम आधारित समुद्री व्यवस्था, र विवादहरूको समाधान शान्तिपूर्ण तरिकाहरूले हुनु पर्ने आफ्नो अडानमा कायम रहने छ।

आलेख: प्रोफेसर बालदास घोषाल

अनुवाद एवम् वाचन: एम.एन. उपाध्याय