पाकिस्तानमा राजनीति यथास्थितिमा

पाकिस्तानले कश्मीर मुद्दा अन्तर्राष्ट्रिय समुदायको लागि एउटा बन्द अध्याय बनेको तथ्यलाई स्वीकार गर्न सकेको छैन। भारतको तत्कालीन राज्य जम्मू एवम् कश्मीरलाई प्राप्त विशेष दर्जा रद्द भएदेखि पाकिस्तान त्यसतर्फ  ध्यान आकर्षित गर्ने प्रयास गरिरहेको थियो। यद्यपि, भारतले आफुले आफ्नो संविधान अनुरूप काम गरेको र परिवर्तनहरू देशको सार्वभौमिकताको दायरा भित्र भएको विश्वलाई स्पष्ट रूपमा बताएको छ।

अहिले, इस्लामाबादले आफुलाई लगातार अलग-थलग भएको पाइरहेको स्थितिमा, त्यहाँका राजनेताहरू कश्मीर मामिलामाथि राजनीति गरिरहेका छन् अनि एक प्रकारले त्यहाँ सरकार नै नभएजस्तो प्रतित भएरहेको छ। “कश्मीर मामिला तथा गिलगित र बल्तिस्तान”-को लागि पाकिस्तानी मन्त्री अली अमीन गन्डापुरले  “कश्मीर मुद्दामा भारतलाई समर्थन गर्ने देशहरूले मिसाइल हमला झेल्नु पर्ने”  चेतावनी दिएका छन्।

बम विस्फोट जस्ता काण्डहरूमा समेत मुछिदैँ आएका गन्डापुरले एक स्थानीय पाकिस्तानी टेलिभिजन नेटवर्कलाई दिएको अन्तर्वार्तामा “कश्मीर मुद्दालाई लिएर यदि भारतसित तनाव बढेको खण्डमा पाकिस्तान युद्धको लागि बाध्य हुनेछ र कश्मीर मुद्दामा भारतको पक्षमा उभिने मुलुकहरूले पनि यसको परिणाम भोग्नु पर्ने बताए। कश्मीर मुद्दामाथि भारतलाई समर्थन गर्ने कुनैपनि देशलाई पाकिस्तानको शत्रुको रूपमा हेरिनेछ र त्यो देशमा पनि मिसाइल हमला गरिने छ।” गन्डापुर पाकिस्तानका रेल मन्त्री शेख राशिद सरह चरित्र भएका राजनेता हुन्, जो आफ्नो अपमानजनक टिप्पणीहरूका कारण चर्चामा रहदैँ आएका छन्।

यो वास्तवमा एउटा विडम्बनाको कुरा हो कि, पाकिस्तानका प्रधान मन्त्रीले यस्ता चरित्र भएका व्यक्तिहरूलाई आफ्नो उच्च पदको लागि नामित गरेका छन्। गन्डापुर र राशिद जस्ता नेताहरूले गर्दा नै “नयाँ पाकिस्तान”-को सपना चकनाचुर भएको छ।

कैयौं घरेलू संकटहरूका कारण पाकिस्तान आफुलाई संकटापन्नस्थिति तर्फ फर्कदैँ गइरहेको बेला इमरान खान सरकार भने भारत विरोधी भावनाहरूलाई अझ प्रश्रय दिने काम गरिरहेको छ। पछिल्लो तीन महिनादेखि पाकिस्तानले कूटनैतिक चाल चलिरहेको छ तर सफल भएको छैन्।

यो स्पष्ट छ कि, इमरान खानले कश्मीर मुद्दालाई गम्भिरतापूर्वक लिनुभएको छ। पाकिस्तानी विश्लेषकहरूले स्पष्ट रूपमा भनेको छन् कि, वर्तमानमा अन्तर्राष्ट्रिय समुदायले, कश्मीरलाई पाकिस्तानी दृष्टिकोणबाट हेरिरहेका छैनन्। जम्मू एवम् कश्मीर तथा लद्दाखका दुई नयाँ केन्द्र शासित प्रदेशहरू (UTs)-को लागि भारतको विकास नमुनालाई वैश्विक नेताहरूले स्वागत गरेका छन्। अब कश्मीर उपत्यका, जम्मू अनि लद्दाखमा पनि अन्तर्राष्ट्रिय लगानी आउन सक्ने ठूलो संभावना छ। भारतसित दुई केन्द्र शासित प्रदेशहरूको लागि कैयौँ विकास योजनाहरू छन्। दुई केन्द्र शासित प्रदेशहरूका मानिसहरू आफ्नो क्षेत्रको विकासमा लाभार्थी हुनेछन्।

पाकिस्तान अधिकृत कश्मीर (PoK)-को विकास बारे सोधिएको प्रश्नको जबाफमा कश्मीर मामिलाको लागि पाकिस्तानी मन्त्री गन्डापुरले  मानिसहरूको लागि लड्दा आफुलाई खुसि लाग्ने बताए। उनका यस प्रकारका  प्रतिक्रियाहरू वास्तवमै  चकित पार्ने खालका हुन्।

यसैबीच, पाकिस्तान सरकारले कश्मीर मुद्दामाथि अरूको ध्यान आकर्षित गर्ने प्रयास गरिरहेको बेला, हजारौँको संख्यामा सरकार विरोधी प्रदर्शनकारीहरूले प्रधान मन्त्री इमरान खानको बिग्रदो आर्थिक स्थिति तथा कथित चुनावी धाँधलीको मामिला उठाएर उहाँको राजिनामाको माग गरिरहेका छन्, ती प्रदर्शनकारीहरू दक्षिणपन्थी धार्मिक नेता तथा  जमीयत उलेमा-ए-इस्लाम फजल पार्टीका अध्यक्ष मौलाना फजलुर रहमानको आह्वानमा इस्लामाबादमा एकत्रित भएका हुन्।

एउटा डिजल घोटालामा मौलानाको कथित भूमिकाको लागि स्वंम इमरान खानद्वारा “मौलाना डिजल” उपनाम पाएका मौलाना फजलुर रहमानले कराचीदेखि मार्चको नेतृत्व गरे अनि उनले गुजरांवालामा समर्थकहरूलाई संबोधन गर्दै “सरकारले जनतालाई सत्ता सुम्पिनु पर्ने चेतावनी दिए। मौलानाले अगाडि भने  इमरान खान सरकारले अर्थव्यवस्थालाई नष्ट गरिदिएको छ।”

देशको प्रमुख प्रतिपक्षी दल पाकिस्तान मुस्लिम लीग-नवाज (पी एम एल-एन) र पाकिस्तान पीपल्स पार्टी (पी पी पी)-ले इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पी टी आई) विरूद्ध जमीयत उलेमा-ए-इस्लाम फजल पार्टीद्वारा चर्काई राखिएको विरोधको समर्थन गरिरहेका छन्। पाकिस्तान तहरीक-ए-इन्साफले गत वर्ष विवादास्पद संघीय चुनाव जितेको थियो।

यसैबीच खान नेतृत्वाधिन सरकारले जमीयत उलेमा-ए-इस्लाम फजल-का युवा स्वयंसेवक भातृ संगठन अंसार उल-इस्लामलाई “आतङ्कवादी संगठन”- ठहर गरि यसमाथि प्रतिबन्ध लगाएको छ। जमीयत उलेमा-ए-इस्लाम फजलले निर्णयलाई अदालतमा चुनौती दिएको छ। धेरै प्रदर्शनकारीहरू इस्लामाबादमा भेला भइ आवाज बुलन्द गरिरहेका छन् अनि अब स्थिति नियन्त्रण बाहिर जाने संकेत देखिन्छ।

पाकिस्तानी राजनीतिक विश्लेषक, सिरिल अलमेडाले खान सरकारले विरोध प्रदर्शनलाई चिन्ताको विषय ठानेर गम्भिरतापूर्वक लिनुपर्ने बताउनुभयो। उहाँले अगाडि भन्नुभयो, “पाकिस्तान सरकार अनुभवहीन छ र राजनीतिक संकटलाई शान्तिपूर्ण ढङ्गले  कम गर्ने उसको क्षमतालाई अब परीक्षण गरिनेछ। यदि सरकार विचलित हुन्छ, अथवा हिंसा तर्फ बढ्छ  भने, मामिला नियन्त्रणभन्दा बाहिर जान सक्छ।

दुर्भाग्यवस यो पाकिस्तानको त्रासदी अनि विरोधाभास हो।

आलेख: अल इन्डिया रेडियोमा समाचार विश्लेषक, कौशिक रॉय

अनुवादः सुरेन्द्र जैरू