भारत दक्षिण पूर्व एसियासँग एक चिरस्थायी साझेदारी निर्माण गर्दै

भारतको ‘पूर्वोन्मुखी कार्य’ नीति र यसको हिन्द-प्रशान्त दृष्टिकोणलाई निरन्तरता दिँदै, प्रधान मन्त्री नरेन्द्र मोदी आसियानसम्बन्धी शिखर सम्मेलनहरूमा भाग लिनका लागि थाइल्यान्ड जानु भएको थियो। प्रधान मन्त्री मोदीले १६-औँ भारत-आसियान शिखर सम्मेलन, १४-औँ पूर्व एसिया शिखर सम्मेलन र तेस्रो आर.सी.ई.पी. शिखर सम्मेलनमा भाग लिनका साथै यी सम्मेलनहरूको छेकमा सामरिक साझेदारहरूसँग शृंखलाबद्ध द्विपक्षीय बैठकहरू गर्नुभयो। यसअघि, अगस्टमा परराष्ट्र मामिला मन्त्री डा एस. जयशङ्करले  ब्याङ्ककमा आसियानसित सम्बन्धित थुप्रै मन्त्रीस्तरीय बैठकहरूमा भाग लिनुभएको थियो।

१६-औँ भारत-आसियान शिखर सम्मेलनमा प्रधान मन्त्री मोदीले एक निष्पक्ष, खुल्ला, समावेशी र नियमहरूमा आधारित हिन्द-प्रशान्त व्यवस्थालाई सुनिश्चित गर्ने आपसी हितहरूमाथि जोड दिनुभयो। उहाँले भारतमा आसियानको केन्द्रीयता र आसियानको हिन्द-प्रशान्तप्रति दृष्टिकोण जस्ता साझा सिद्धान्तहरूको सम्बन्धमा सम्मिलनलाई रेखाङ्कित गर्नुभयो अनि समुद्री सहयोग, भौतिक एवम् डिजिटल कनेक्टिभिटी, समुद्री अर्थतन्त्र र मानवीय सहायता मजबुत पार्नका लागि आह्वान गर्नुभयो। भारतले कृषि, अनुसन्धान, विज्ञान, आई.सी.टी. र इञ्जिनीयरिङ्ग जस्ता क्षेत्रहरूमा क्षमता निर्माण गर्नका लागि ध्यान केन्द्रित गरिराखेको छ। भारतसँग आसियानमा कनेक्टिभिटी परियोजनाहरूका लागि १ अर्ब डलरको ऋण सहुलियत छ। यसअगि भारत र आसियान, व्यापार सन्तुलनसित सम्बन्धित चिन्ताहरूलाई सम्बोधन गर्न द्विपक्षीय मुक्त व्यापार सम्झौताको समीक्षा सुरु गर्न सहमत भएका थिए।

भारतीय प्रधान मन्त्रीले पूर्व एसिया शिखर सम्मेलनमा पनि भाग लिनुभयो। यसको एक संस्थापक सदस्य हुनको नाताले अन्य सदस्यहरूसँगै भारतले पनि समुद्री सुरक्षा, आतङ्कवाद, अप्रसार र अनियमित प्रव्रजन जस्ता साझा चिन्ताका विषयहरूमा सामरिक सहयोग सहज बनाउने उद्देश्य बोकेको यस क्षेत्रीय मञ्चलाई बलियो बनाउने आफ्नो प्रतिबद्धता व्यक्त गऱ्यो। नेताहरूले ‘मनिला कार्य योजना’ अन्तर्गत पूर्व एसिया शिखर सम्मेलन विकास अग्रसरता (२०१८-२०२२) माथि भएको फनोम पेन्ह घोषणालाई अगि बढाउने कार्यमा प्रगति भएको उल्लेख गरे। पूर्व एसिया शिखर सम्मेलनमा अवैध लागूपदार्थ र अन्तर्देशीय अपराध विरुद्ध लड्ने, अनि दिगो विकासका लागि साझेदारिता सुदृढ पार्ने तीन दस्तावेजहरूलाई मञ्जुरी प्रदान गरियो।

यो वर्षको आसियान शिखर सम्मेलनमा मुख्य चर्चा वैश्विक सकल घरायसी उत्पाद (जी.डी.पी.)-को लगभग ३२ प्रतिशत जीडीपी उत्पादन गर्न सक्ने क्षमता भएको १६ राष्ट्रहरूको क्षेत्रीय बृहत् आर्थिक साझेदारी (आर.सी.ई.पी.) वार्तालाप वरिपरि नै केन्द्रित रह्यो। यद्यपि, आर.सी.ई.पी. वार्तालाप विखण्डनको दिशामा अगि बढेको  छ जसले गर्दा आर.सी.ई.पी. लाई भारतरहित वा आसियान प्लस ३-को ढाँचामा अगि बढाउने  विषयमाथि सरोकारवालाहरू माझ वार्तालाप सुरु भएको छ। आफ्नो तर्फबाट भारतले एसिया-प्रशान्त क्षेत्रमा रचनात्मक मुक्त व्यापारको सम्वर्धनका लागि बहस गऱ्यो अनि सेवा क्षेत्रको उदारीकरण र दिगो व्यापार घाटासम्बन्धी चिन्ताहरूलाई सम्बोधन गर्न विशेष आह्वान गऱ्यो।

आर.सी.ई.पी. शिखर सम्मेलनमा, १५ सदस्यहरूले सबै २० वटा विषय र समग्र बजार पहुँचका विषयहरूमा लिखित निष्कर्षको पुष्टि गरेतापनि भारतले थाँतीमा रहेका अनिर्णीत विषयहरूमाथि संशय व्यक्त गरेको छ। बजारको अझ बढी पहुँच, गैर-शुल्क बाधाहरूमाथिको चिन्ता, उत्पत्तिसम्बन्धी नियमहरूको सम्भावित उपेक्षा, अनि उत्पादहरूमाथिको शुल्क घटाउनका लागि प्रयोग गर्न सक्ने आधार वर्ष समेत त्यहाँ केही विभेदहरू छन्।

भारतले ‘निष्पक्षता र सन्तुलन’-का आधारमा यस सम्झौतामा सामेल नहुने फैसला गरेको छ। प्रधान मन्त्री मोदीले उहाँको यो निर्णय, सम्झौताको प्रतिकूल प्रभाव सबै भारतवासीहरू विशेषगरी समाजका कमजोर वर्गहरूको जीवनमा पर्न सक्छ भन्नेबाट अभिप्रेरित रहेको बताउनुभयो।

प्रधान मन्त्री मोदीले थाइल्यान्डमा जापान, अस्ट्रेलिया, इन्डोनेसिया, भेएतनाम, थाइल्यान्ड र म्यानमारसित भएका शृंखलाबद्ध द्विपक्षीय बैठकहरूमा पनि भारतका सामरिक हितहरूलाई सामुन्ने राख्नुभयो अनि दक्षिण-पूर्व एवम् पूर्व एसियासित भारतको बहुआयामिक सम्बन्धलाई अगि बढाउनुभयो।

सम्मेलनको छेकमा भारत-अमेरिका-जापान-अस्ट्रेलियाका अधिकारीहरू कनेक्टिभिटी र पूर्वाधार विकास लगायत आतङ्कप्रतिरोधी, साइबर र समुद्री सुरक्षामाथिको सहयोग बलियो बनाउन बैठक बसे।

दक्षिण-पूर्व एसिया भारतको ‘पूर्वोन्मुखी कार्य नीति’-को केन्द्रमा छ। आसियानको केन्द्रीयता त्यतिखेर प्रदर्शित भएको थियो जतिखेर भारतले २०१८-मा  दक्षिण-पूर्व एसियाली देशका दस प्रमुखहरूलाई भारतको ६९-औं (उनन्सत्तरी औँ)  गणतन्त्र दिवसको अवसरमा  आसियानका साथ बहुआयामिक साझेदारिताको २५औँ स्मरणोत्सव मनाउनका लागि मुख्य अतिथिको रूपमा मेजमानी गरेको थियो।

दक्षिण-पूर्व एसियासित भारतको सामरिक संलग्नता तीनवटा सी-हरू कर्मस अर्थात् वाणिज्य,  कनेक्टिभिटी अर्थात् सम्पर्कता र  कल्चर अर्थात् संस्कृति-मा आधारित रहेको छ। भारतले आसियान-भारत सामरिक साझेदारितालाई नौला उँचाइहरूमा पुऱ्याउने लक्ष्यका साथ आसियानमा लगानी गर्न जारी राख्नेछ।

आलेख: डा. तित्ली बसु, पूर्व तथा दक्षिण पूर्व एसिया सम्बन्धी सामरिक विश्लेषक

अनुवाद एवम् वाचन: प्रशान्त मोक्तान