भारत-भुटान सम्बन्ध थप प्रगति पथमा

भुटानी विदेश मन्त्री ल्योनपो (डॅ.) टान्डी दोर्जीको साताव्यापी भारत भ्रमणले द्विपक्षीय सम्बन्धको लागि नयाँ मानदण्ड स्थापित गरेको छ। भ्रमणको अवधिमा डॅ. दोर्जीले भारतीय विदेश मन्त्री डॅ. एस. जयशंकरसित द्विपक्षीय छलफल गर्नुभयो र भारत-भुटान सम्बन्धका सम्पूर्ण क्षेत्रहरूको समीक्षा गर्नुभयो। दुवै पक्षहरूले आर्थिक सहयोग, विकास साझेदारी अनि जल-विद्युत सहयोग लगायत द्विपक्षीय सम्बन्धका विभिन्न पक्षहरूमाथि छलफल गरे। आफ्नो भारतीय समकक्षीलाई भेट्नअगि डॅ. दोर्जीले भारतीय विदेश सचिव विजय गोखलेलाई पनि भेट्नु भयो। दिल्ली भ्रमणपश्चात् भुटानी विदेश मन्त्री बिहारको बोधगया अनि राजगीर पनि जाँदै हुनुहुन्छ। त्यहाँबाट डॅ. दोर्जी कोलकाता जानुहुनेछ। त्यहाँ उहाँले पश्चिम बङ्गालका राज्यपाल अनि मुख्य मन्त्री दुवैलाई भेट्ने अपेक्षा छ।

ल्योनपो (डॅ.) टान्डी दोर्जीको यात्रा दुई देशहरू बीच नियमित भ्रमण र उच्च स्तरमा विचारहरूको आदान-प्रदानको परम्परालाई मध्यनजर राख्दै गरिएको थियो। यो भ्रमण प्रधान मन्त्री लोटे छिरिङको नेतृत्वमा ड्रुक न्यामरूप शोग्पा (डी एन टी) पार्टीले ७ नोभेम्बर २०१९ को दिन एक वर्षको कार्यकाल पूरा गरेको अवसरमा भएको हो। छिरिङ सरकारले विकास परियोजनाहरू विशेषगरी स्वास्थ्यको क्षेत्रमा परियोजनाहरू शुरू गर्नको लागि पुँजी जुटाउन कयौँ चुनौतीहरूको सामना गऱ्यो। विदेश मन्त्रालयको लागि ३.५ अर्ब नलट्रम छुट्टाइयो, यद्यपि देशको १२-औँ योजनामा यसलाई करिब १३ अर्ब नलट्रमको आवश्यकता थियो। सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि, भुटान सरकारले आर्थिक सुधारहरू गर्नको बावजुद विदेशी ऋणमा भइराखेको वृद्धि, व्यापार घाटा र  एफ. डी. आई. तथा रेमिटेन्सको अन्तर्प्रवाहमा आइराखेको सुस्ती जस्ता विषयहरूको प्रबन्धनमा समस्याहरूको सामना गर्नु परिराखेको छ। थिम्पुमा एउटा सामान्य भावना यो रहेको छ कि, नकारात्मक स्थूल-आर्थिक सूचकहरूलाई भारतीय अर्थव्यवस्थामा आएको मन्दीसँग सह-सम्बन्धित गर्न सकिन्छ।

यस भ्रमणले भारत अनि भुटान बीच उच्च-स्तरीय आदान-प्रदानहरूमा देखिएको नयाँ गतिलाई पनि प्रतिविम्बित गर्दछ। दुवै देशहरूले एक अद्वितीय तथा समय-परीक्षित द्विपक्षीय सम्बन्धहरू साझा गर्छन् जसमा आपसी विश्वास, सद्भावना र समझदारी रहेका छन्। यो भ्रमण भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीको थिम्पु यात्राको चार महिनापछि भएको हो। यसपूर्व, भारतीय विदेश मन्त्री डॅ. एस. जयशंकरले पद सम्हालेपछि ‘छिमेकी प्रथम’ नीति अन्तर्गत भुटानको यात्रा गर्नुभएको थियो। त्यो, वास्तवमा डॅ. जयशंकरको पहिलो विदेश यात्रा थियो। त्यसअघि डिसेम्बर २०१८-मा, प्रधान मन्त्री लोटे छिरिङ आफ्नो पहिलो विदेश यात्रामा भारत आउनुभएको थियो।

भुटान अनि भारत गणराज्य बीच १९६८-मा कुटनीतिक सम्बन्ध स्थापित भएदेखिको, सो मुलुक दक्षिण एसियामा सबैभन्दा सफल छिमेकीको रूपमा उदाएको छ, जसको  विशेषता आपसी विश्वास, समझदारी तथा परिपक्वता हो। १९४९-मा हस्ताक्षरित भारत-भुटान मैत्री तथा सहयोग सन्धी, (जो फेब्रुअरी २००७-मा संशोधन गरिएको थियो) यस सम्बन्धको स्तम्भको रूपमा हाल पनि यथावत छ। यसले खुल्ला सीमा, सुरक्षा सहयोग र जन-जन बिचको सम्बन्धलाई थप गहिरो पार्ने जस्ता विशेष व्यवस्थाहरूलाई सुगम बनाएको छ। कैयौँ असमानताहरूका बावजुत दुवै देश एक-अर्का प्रति निर्भर रहेको महसूस गर्छन् अनि आर्थिक विकास, लोकतन्त्रको मजबुतीकरण र क्षेत्रीय शान्तिको दिशामा उनीहरूका प्रयासहरूमा एक-अर्कालाई समान हिस्सेदार ठान्छन्। वर्तमानमा दुवै देशहरू बीच जल संसाधन, व्यापार तथा पारवहन, आर्थिक सहयोग, सुरक्षा र सिमा प्रबन्धन जस्ता क्षेत्रहरूमा कैयौँ द्विपक्षीय संस्थागत व्यवस्थाहरू छन्।

यसैबीच, भुटानले भारतीय पर्यटकहरूबाट शुल्क असुल्ने निर्णय गरेको छ, भारतीय पर्ययटकहरू वर्तमानमा यसबाट मुक्त थिए। विशेषगरी भारतबाट यस हिमाली अधिराज्यमा पर्यटकहरूको आवागमनमा तीव्र वृद्धि भएको छ। २०१८-मा मात्रै, सो मुलुकको भ्रमण गर्ने दक्षिण एसियाली क्षेत्रका पर्यटकहरूमा आधाभन्दा बढी भारतका थिए। भुटान पर्यटन प्राधिकरणले एक ‘सतत विकास शुल्क’ साथै एक ‘अनुमति प्रसंस्करण शुल्क’ लगाउने भएको छ जुन शुल्कहरू हाल थोकिइएको छैन। यसले भुटानमा दिगो ढंगमा बढ्दै गएको पर्यटनलाई लक्षित गरेको छ, किनभने यो मुलुकको पारिस्थितिकी धैरे नाजुक  छ।

डॅ. दोर्जीको यात्रा राजनीतिक तथा धार्मिक महत्त्वको एउटा सम्मिश्रण हो। यसको उद्देश्य व्यापक आर्थिक सहयोग पनि हो। यात्राको उद्देश्य कुटनीतिक सम्बन्धलाई विस्तार गर्नु र दुवै देशहरू बीचको विद्यमान सम्बन्धलाई थप बलियो पार्नु थियो। दुवै विदेश मन्त्रीहरूले द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउनको लागि कैयौँ विषयहरू र नयाँ तन्त्रहरूमाथि छलफल गर्नुभयो। उहाँहरूले जलवायु परिवर्तन, पूर्वाधार, सुरक्षा तथा सामरिक मामिलाहरूमा रहेका सहयोगको अनि भुटानको १२-औँ पञ्चवर्षीय योजनामा भारतको तकनीकी एवम् आर्थिक सहयताको समीक्षा गर्नुभयो। दुवै मन्त्रीहरू बदलिँदो क्षेत्रीय तथा वैश्विक गतिशीलतालाई ध्यानमा राख्दै द्विपक्षीय सम्बन्धलाई समुन्नत गर्न सहमत हुनुभयो।

आलेख: भारतीय रक्षा अध्ययन एवम् विश्लेषण संस्थानमा शोधकर्ता, डॅ. निहार आर. नायक

अनुवादः सुरेन्द्र जैरू