राज्यसभाको २५०औँ सत्र

भारतको संसदको माथिल्लो सदन राज्यसभाको २५०औँ सत्र बसिरहेको बेलामा भारतको राजनीतिक लोकतन्त्रको विकासमा यसको महत्त्वपूर्ण भूमिकालाई गौरवशाली ढङ्गले स्मरण गरिनु पर्दछ। सन् १९५२ मा यसको स्थापना भएपछि यसले कैयौँ अवसरहरूमा राष्ट्रको हितमा महत्त्वपूर्ण भूमिका खेलेको कुरालाई नकार्न सकिँदैन। सन् १९५२ मा हिन्दू विवाह र पारपाचुके विधेयक पारित गर्नुदेखि लिएर २०१९ मा मुस्लिम महिला ( विवाहसम्बन्धी अधिकारहरूको संरक्षण) विधेयक अनि २०१९ मा नै जम्मू एवम् कश्मीर पुनर्गठन विधेयक पारित गर्नुसम्म यसले भारतको लामो, गौरवशाली एवम् सुसभ्य राजनीतिक इतिहासमा स्थायी छाप छोडेको छ।

भारतका उप राष्ट्रपति साथै राज्यसभाका अध्यक्ष पनि श्री एम. वेंकैया नायडूले सही नै के भन्नुभएको छ भने संसदको माथिल्लो सदनले समय समयमा राष्ट्र सामु रहेका चुनौतीहरूको सम्बोधन तथा यसका आवश्यकताहरूको पूर्तिमा लामो काल बिताएको छ। उप राष्ट्रपतिले भन्नुभयो, “तर अझपनि हामीले स्वयं सदनको कार्यकलापको सम्बन्धमा गुमाइका समय र अवसरहरूको पूर्ति गर्दै हाम्रो मुलुकलाई आफ्नो पूर्ण क्षमता हासिल गराउनमा धेरै काम गर्नु बाँकी नै छ।“

मई १३ तारिख १९५२ मा यसको पहिलो बैठकपछि अगस्ट ७ तारिख २०१९ मा २४९औँ सत्र बसेको थियो, जसमा राज्यसभाले जम्मा ५,४६६ बैठकहरू गऱ्यो। यस अवधिमा, यसले ३,८१७ विधेयकहरू पारित गऱ्यो जसमा १०८ संविधान संशोधन विधेयकहरू सामेल छन्। विगत ६७ वर्षहरूको यसको स्मरणीय अस्तित्व कालमा २,२८२ व्यक्तिहरूले यो सदनको सदस्य बन्ने अवसर पाए जसमा २०८ महिला सदस्यहरू रहे भने १३७ मनोनित सदस्यहरू रहेका छन्। यसले १९५० को दशकदेखि यो सदनले गरेको अर्थपूर्ण यात्रा प्रस्तुत गर्दछ।

तर, यसको अस्तित्वलाई झनै महत्त्व दिन्छ यसको अनन्त निरन्तरताले। भारतको दुई सदनीय संसदीय प्रणालीमा तल्लो सदन लोकसभालाई सामान्यतया हरेक पाँच वर्षमा वा प्रधान मन्त्रीको सल्लाहमा राष्ट्रपतिद्वारा अगावै पनि भङ्ग गरिन्छ भने राज्यसभाले आफ्नो अनन्त जीवन जारी राख्दछ।

सदनको वर्तमान २५०औँ सत्रमा सांसदहरूलाई सम्बोधन गर्दै प्रधान मन्त्री नरेन्द्र मोदीले सहीनै के भन्नुभयो भने राज्यसभाले भारतको विविधताको प्रतिनिधित्व गर्दछ र यो मुलुकको संघीय ढाँचाको प्रतिच्छाया हो। मुलुकको संविधानद्वारा परिकल्पना गरिएअनुसार यो सदन देशमा सामाजिक-आर्थिक कायाकल्पको एक अविच्छिन्न भाग पनि  रहेको छ। विगत छः दशकभन्दा बढी समयदेखि यसले राष्ट्र निर्माणका प्रयासहरूमा योगदान गर्दै आएको छ। गरिबी उन्मूलनको विषयमा होस् वा निरक्षरता, रोग, बेरोजगारी, आतङ्कवाद, सामाजिक, राजनीतिक, आर्थिक समस्याहरूविरुद्ध लडाइँ गर्नुमा होस् वा जलवायु परिवर्तन र बढ्दो पर्यावरणीय प्रदूषणको समाधान खोज्नमा होस्, राज्यसभाको उत्कृष्ट भूमिकालाई नजरअन्दाज गर्न सकिँदैन।

हालैको समयमा वस्तु एवम् सेवा कर, तीन तलाक, उच्च जातिका आर्थिक रूपले कमजोड वर्गलाई १० प्रतिशतको आरक्षण र अनुच्छेद ३७० समाप्त गरिनु जस्ता महत्त्वपूर्ण विधेयकहरू राज्यसभामा पारित भए। अनुच्छेद ३७० को सन्दर्भमा प्रधान मन्त्रीद्वारा माथिल्लो सदनमा दिइएको वक्तव्यमाथि ध्यान दिइनु आवश्यक छ। उहाँले भन्नुभयो, जम्मू एवम् कश्मीर राज्यलाई विशेष दर्जा दिने अनुच्छेद ३७० लाई राज्यसभाका प्रथम नेता एन. गोपालास्वामी अयङ्गरले प्रस्तुत गर्नुभएको थियो। दशकौँपछि यो विवादास्पद अनुच्छेदलाई यसै सदनले खारेज गऱ्यो।

साथै, राज्यसभासित एउटा अर्को गौरव जोडिएको छ। बितेका वर्षहरूमा यसले जीवनका विभिन्न क्षेत्रका गुणवान नागरिकहरूलाई आकर्षित गरेको छ। भारतीय संविधानका जनक डॅ. भीमराव अम्बेडकर दुईपटक राज्यसभाको सदस्य रहनुभयो। यो भावना प्रधान मन्त्री नरेन्द्र मोदीले पनि व्यक्त गर्नुभयो जब उहाँले कला, विज्ञान र खेलकुदसमेत विभिन्न क्षेत्रका सुप्रसिद्ध व्यक्तिहरू राज्यसभाबाट लाभान्वित भए भनी भन्नुभएको थियो। उनीहरूले उच्च जनहितका महत्त्वपूर्ण मामिलाहरूमाथि बहसमा गुणवत्ता र मूल्य त थपे नै, साथै माथिल्लो सदनको समग्र क्रियाकलापमा उत्साह र जीवन भरे।

प्रधान मन्त्री मोदीले सन् २००३ मा राज्यसभाको २००औँ सत्रको अवसरमा पूर्व प्रधान मन्त्री अटल बिहारी बाजपेयीले भन्नुभएको कुरालाई उद्धृत गर्नुभयो। उहाँले भन्नुभएको थियो, “हाम्रो दोस्रो सदनलाई कसैले पनि दोस्रो दर्जाको सदनको रूपमा व्यवहार गर्ने गल्ती गर्नु हुँदैन। वास्तवमा, राज्यसभामा वैज्ञानिकहरू, डक्टरहरू, कलाकारहरू, विश्वविद्यालयका प्राध्यापकहरू र अन्यहरूलगायत अत्यन्तै उच्च शिक्षित व्यक्तिहरूको उपस्थितिले मुलुकको लोकतान्त्रिक आत्मालाई समृद्धमात्रै गरेको छैन अपितु राष्ट्रिय महत्त्वको कार्यसूचीलाई पनि बढाएको छ।”

भारतीय संसदको माथिल्लो सदन राज्यसभाको यो कोसेढुङ्गा गाथा यस्तो समयमा बनिरहेको छ जब विश्वभरि दुई सदनीय प्रणालीको निरन्तरता र वरिष्ठहरूका सदनहरूमाथि निरन्तर प्रश्न चिह्न लगाइँदैछ। यसरी, राज्यसभाको गाथाले हामी भारतीयहरूलाई गौरवान्वित  गर्दछ।

आलेखः वरिष्ठ पत्रकार शंकर कुमार

अनुवादः विष्णुबहादुर गुरुंग