बेफ्वाँकका कुरामा पाकिस्तान व्यस्त

विगत एक महिनामा पाकिस्तानमा यस्ता गतिविधिहरू भएका छन् जसले अनेकानेक समस्याहरूले ग्रस्त मुलुकमा राजनीतिलाई साह्रै नै चाखलाग्दो बनाएका छन्।

पूरा महिनाभर पाकिस्तानमा राजनीतिक सर्कस मौलाना फजलुर रहमानको “आजादी मार्च” वरिपरि अनि हाल बिरामी विगतका तीनपटक प्रधान मन्त्रीलाई उपचारका लागि विदेश जान दिइनु पर्छ वा पर्दैन भन्ने विषयमाथि चर्चामा नै बित्यो। पाकिस्तानी टेलिभिजन च्यानलहरूका प्रमुख समयका कार्यक्रमहरूमा साथै छापा माध्यमका मुखपृष्ठहरूमा पाकिस्तानको भविष्यसित सम्बन्धित विषयहरूमाथि ध्यान केन्द्रित गर्नुको सट्टा यी कुराहरूलाई बढ्ता स्थान दिइएको पाइयो।

फजलुरको मार्चले मिडियाको ध्यानाकर्षण ठूलो मात्रामा गऱ्यो किनभने उनको मार्च २७ अक्टोबरका दिन सुक्कुरबाट सुरु भएर केही दिनपछि  इस्लामाबाद पुगेको थियो। ऱ्यालीको मुख्य उद्देश्य मौलानाअनुसार इमरान सरकारलाई सत्याच्यूत गराउनु थियो, जो नगरिकन उनका मानिसहरू इस्लामाबादबाट फर्कने छैनन्। उनको पार्टीका कार्यकर्ताहरूद्वारा लट्ठीहरू घुमाइका भिडियोहरू भाइरल भएपछि कतिपय टिप्पणीकारहरूले हिंसक परिणाम हुने अड्कल काटेका थिए जसबाट सरकार हल्लिने छ। केही दिनपछि, सरकारले एक स्तरमा आफ्नो अड्डी देखाउँदै अर्कोतिर घबराहटपनि देखाएको हुँदा, फजलुर र मार्चलाई हल्का समर्थन दिएका केही अन्य विपक्षी नेताहरूसित प्राथमिक वार्तालाप गरियो। यसको परिणामस्वरूप मौलानाले आफ्ना समर्थकहरूलाई पछि हटेर दुई नम्बरको योजनामा अमल गर्दै देशभर साना सहरहरूमा ऱ्यालीहरू आयोजित गरेर इमरान खान सरकारका असफलताहरूबारे जनतालाई जागरूक गराउन भने। पाकिस्तानमा पर्यवेक्षकहरूअनुसार षडयन्त्रकारी सिद्धान्तका उडन्ते खबरहरू थिए जसमा ऱ्याली आयोजन गराउनु तथा मौलाना इस्लामाबाद पुगेपछि तुरुन्तै मार्च समाप्त गर्न लगाउनु दुवैमा सेनाको अदृश्य हात रहेको प्रमाण थिए।

ऱ्यालीलाई लिएर मच्चिएको होहल्लामाझ नवाज शरीफलाई उपचारका लागि विदेश यात्रामा जाने अनुमति  दिने मामिलालाई लिएर मिडियामा चर्चा सुरु भइसकेको थियो, लगभग केही यसप्रकार कि ऱ्यालीबाट मानिसहरूको ध्यान भटकाउन सकियोस्। नवाज शरीफले उहाँविरुद्ध भ्रष्टाचारका मुद्दाहरूमध्ये एकमा सात वर्षको कारावासको सजाय भोगिरहनुभएको छ, र पछि उहाँलाई अर्को मुद्दामा केरकारका लागि नेशनल एकाउन्टेबिलिटी ब्युरो अर्थात् राष्ट्रिय जबावदेहिता ब्युरोद्वारा हिरासतमा लिइएको थियो अनि उहाँलाई मुटुको पुरानो व्यथा छ। उहाँको प्ल्याटेलेट काउन्ट निकै घटेको हुँदा तुरुन्तै चिकित्सोपचारको खाँचो छ तथा लाहौर उच्च अदालतले उहाँलाई स्वास्थ्य अवस्थाको आधारमा जमानत प्रदान गरेको थियो। तर पाकिस्तानको पाकिस्तान तहरिक-ए इन्सान अर्थात् पि.टि.आइ. सरकार उहाँको नाम एक्जिट कन्ट्रोल सूचि (इ.सि.एल.) अर्थात् बहिर्गमन नियन्त्रण सूचिबाट हटाउन नचाहेको देखियो र उहाँलाई ७ अर्ब रुपियाँको क्षतिपूर्ति जमानत जम्मा गरेर चार साताका लागि मात्र एकपटक बाहिर जान पाउने अनुमति दियो।  पि.एम.एल.-एन अर्थात् पाकिस्तान मुस्लिम लीग –नवाज शरीफले अपेक्षा गरिएअनुसारनै यो प्रस्तावलाई अस्वीकार गऱ्यो। अन्ततः, लाहौर उच्च अदालतले फेरि हस्तक्षेप गर्दै नवाज शरीफलाई विदेश यात्रा गर्ने अनुमति दिन सरकारलाई निर्देशन दियो र सरकारले आवश्यक अनुमति प्रदान गर्नु बाहेक केही गर्न सकेन। अन्त्यमा, २० नोभेम्बरमा कतर एयर एम्बुलेन्समा नवाज शरीफलाई उपचारनिम्ति लण्डन लगियो।

फेरि कुन प्रकारको अड्कलहरू काटिंदै छन् भने इमरान खानलाई भ्रष्ट एवम् दोषी सिद्ध भएकाहरूलाई भाग्न दिइने छैन भन्ने उहाँको कडा अडानलाई नरम पार्नका लागि सेनाले भित्रभित्रै भन्दैछ। नवाज शरीफलाई उहाँको शक्तिशाली राजनीतिक पृष्ठभूमिको कारणले कुनै छूट दिइने छैन अनि “रियासत-ए-मदिना” लागू गर्न चाहने ‘नयाँ पाकिस्तान’-मा भिन्न वर्गहरूका लागि भिन्न नियमहरूलाई कुनै स्थान छैन भनेर इमरान खानले यस मामिलामा नैतिक अडान लिएको हुँदा आफैलाई अनावश्यक रूपले गाँठोहरूमा अल्झाउनु भएको छ।

यो कहानी यहीँ समाप्त हुँदैन। नवाज शरीफको मामिलामा यु-टर्न अर्थात् विपरित निर्णय लिएबापत आलोचना खेप्नु परिरहेको इमरान खानले आफ्नो अडानमा संशोधनका लागि बाध्य गरेकोमा न्यायापालिकालाई जिम्मेबार ठहराउनुभएको छ  जसको परिणामस्वरूप आफ्नो सरकारको निर्णयका लागि न्यायापालिकालाई दोषी ठहर नगर्न पाकिस्तानका प्रमुख न्यायाधीशले इमरान खानलाई फट्कारेको छ। यसले इमरान खानका नीतिहरूको आलोचनाको एउटा अर्को चरण सुरु हुने सम्भावना छ। राजनीतिज्ञहरू यस्ता मामिलाहरूमा व्यस्त भएकाले अनि उनीहरूले आफ्नो दुर्बलता देखाएपछि पाकिस्तानमा सेनाको छाया बढी बाक्लो र व्यापक हुँदै गइरहेको छ।

महङ्गी उच्च स्तरमा बढिरहेको अनि प्याज र टमाटरको मूल्य अकासिइरहेकाले व्यापक रूपमा जन-असन्तोष बढिरहेको बेलामा यस्तो असाध्य राजनीतिक अशान्ति पाकिस्तानमा इमरान खान सरकार र लोकतन्त्र दुवैका लागि शुभ सङ्केत होइन।

आलेख: दक्षिण एसिया सेन्टर, आइ.डि.एस.ए.-का समन्वयक एवम् सिनियर फेलो डॅ. अशोक बेहुरिया

अनुवादः विष्णुबहादुर गुरुङ्ग