सईद विरुद्ध अभियोग ढोङ कि वास्तविक?

राष्ट्र संघद्वारा आतङ्की घोषित जमात-उद-दावा प्रमुख, तथा २६/११ मुम्बई आतङ्की हमलाको मुख्य षडन्त्रकारी हाफिज सईद विरुद्ध लाहौरको एउटा अदालतले आतङ्कवादलाई आर्थिक मदत गरेको आरोपमा अभियोग लगाएको छ। जुलाईमा पञ्जाबको आतङ्कवाद-प्रतिरोधी विभाग (सीटीडी)-ले सईद र उसका सहयोगीहरू विरुद्ध २३ प्राथमिकीहरू दर्ता गरेको थियो र उनीहरूलाई न्यायिक हिरासतमा लाहौरको कोट लखपत जेल पठाएको थियो। पाकिस्तानको आतङ्कवाद-प्रतिरोधी अदालतले ११ डिसेम्बरलाई सईद विरुद्ध आरोपनामा तयार गर्ने तारिखको रूपमा चिह्नित गरेको थियो। यो समय अभियोग किन लगायो भन्ने प्रश्न उठेको छ। के अदालतले अब उ विरुद्ध आरोपहरूको जाँच गर्नेछ त? यस्ता प्रश्नहरू ती जम्मैले उठाइराखेका छन् जसलाई पाकिस्तानी प्रणाली कसरी सञ्चाल हुन्छ भन्ने राम्ररोसँग थाहा छ।

उल्लेखनीय के छ भने वैश्विक आतङ्कवाद वित्तपोषण रोकथाम निकाय फाइनेन्शियल एक्शन टास्क फोर्स (एफएटीएफ) अर्थात वित्तीय कारबाही कार्य बलले आतङ्कवादको वित्तीय मदत गर्नेहरू विरुद्ध कारबाही गर्न लगाएपछि पाकिस्तान व्यपाक अन्तर्राष्ट्रिय दबावमा आएको छ। राष्ट्र संघ सुरक्षा परिषद (युएनएससी) को दबावपछि सईदका बैंक खाता लगायत आर्थिक सम्पत्तिहरू जफत गर्न पाकिस्तान बाध्य बनेको थियो। उ विरुद्ध प्रतिबन्धहरू हुँदा-हुँदै पनि परिवारको घरखर्च पूरा गर्न उसलाई आफ्नो खाताबाट पैसा निकाल्ने अनुमति प्रदान गरियोस् भनी पाकिस्तानले सुरक्षा परिषदलाई अनुरोध गरेको थियो। एफएटीएफ-को दबावको अतिरिक्त भारतले एलईटी प्रमुख हाफिज सईद विरुद्ध कारबाही गर्नु पर्ने माग निरन्तर गरिराखेको छ। उक्त माग गर्दा भारतले कुन तथ्यलाई रेखाङ्कित गरेको छ भने सईदले कोष सङ्कलन गर्न एउटा धार्मिक संगठन चलाइराखेको छ जुन कोषको प्रयोग भारतमा हमला गर्नलाई गरिन्छ। संयुक्त राज्य अमेरिकाले पनि उसलाई पक्राउ गर्न १ करोड डलर इनाम घोषित गरेको छ।

अक्टूबरमा भएको एफएटीएफ-को पछिल्लो समीक्षामा पाकिस्तानले “आतङ्कवादको आर्थिक मदत” र “धन शोधन” लाई पूर्ण रूपले हटाउन थप उपायहरू गर्नु पर्ने उल्लेख गरिएको थियो। एफएटीएफ-ले पाकिस्तानलाई त्यस्ता कदमहरू उठाउन फेब्रुअरी २०२० सम्मको म्याद दिएको छ,  र त्यति बेलासम्म पाकिस्तान एफएटीएफ-को ग्रे लिस्ट अर्थात चेतावनी सूचीमा रहने छ। लौहरको आतङ्कवाद प्रतिरोधी अदालतद्वारा आतङ्कवादलाई आर्थिक मदत गरेको आरोपमा हाफिज सईद विरुद्ध अभियोग लगाइनु, एफएटीएफ-को आगामी समीक्षा बैठकमा कालो सूचीमा पर्नदेखि जोगिने पाकिस्तानको रणनीति हुनसक्छ।

रोचक कुरा के छ भने सईद विरुद्ध यो अभियोग प्रधान मन्त्री इमरान खानको अमेरिका भ्रमणको ठीक एक साताअघि आएको हो। उहाँले अमेरिकामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेट्ने कार्यक्रम छ। अमेरिकाले पाकिस्तानलाई उसको भूमिबाट उत्पन्न भइराखेको आतङ्कवाद कम गराउन दिएको थप दबाव र केही वर्षदेखि वाशिङ्गटनको आतङ्कवादमाथि चर्को वक्तव्यहरू सईद विरुद्ध अभियोग प्रक्रिया छिट्टै सुरु गरिनुको अर्को कारण हुनसक्छ।

अझ चाखलाग्दो के छ भने, एकतिर हाफिज सईद अभियोगको निम्ति तयार भइरहेको बेला अर्कोतिर उसको छोरो तल्हा सईद गत साता लाहौर नजिकै एउटा पसलमा मानिसहरूमाझ भाषाण दिइराखेको बेला हत्या गर्ने लक्ष्य गरी गरिएको बम हमलामा बाँच्न सफल भए। यो हमलामा एकजनाको मृत्यु भयो तथा सात लश्कर समर्थकहरू गम्भीर रूपमा घाइते भए। उल्लेखनीय छ, तल्हा सईदले भविष्यमा लश्कर प्रमुखको रूपमा उसको पिताको स्थान लिने सम्भावना छ। कतिपय रिपोर्टहरू अनुसार लश्करको आर्थिक कामकाजमाथि तल्हाको नियन्त्रणले गर्दा कथित रूपमा यस आतङ्की संगठनका केही वरिष्ठ नेताहरू आक्रोशित बनिरहेका छन्। तल्हा सईद माथिको  हमला लश्कर भित्र शक्तिका लागि आन्तरिक संघर्षको एउटा परिणाम हुनसक्छ।

सईद विरुद्ध अभियोग सुरु गर्ने कदमलाई अमेरिकाले स्वागत जनाएतापनि भारतले सावधनीपूर्वक विचार गर्नु पर्नेछ र इमरान खान सरकार पहिलेको पाकिस्तानी सरकारभन्दा केही फरक छ कि छैन, त्यो हेर्नु पर्नेछ। यो भन्दा पहिले पनि कैयौँचोटी हाफिज सईदलाई गिरफ्तार गरी जेलमा थुनिइएको थियो तर पाकिस्तानी अधिकारीहरूले उसलाई रिहा गरिदिएका थिए।

अभियोगको केही दिनअघि सईदलाई एउटा भूमि-अधिग्रहण मुद्दामा जमानत दिइएको थियो। उ विरुद्ध यस्ता भूमि अधिग्रहणसम्बन्धी दर्जनौँ आरोपनाहरू छन्। सईदको गिरफ्तारको अपूर्ण विवरणले उसलाई यात्रा गरिरहेको बेला समातिएकोबारे स्पष्ट खुलासा हुँदैन र यसले पञ्जाबको आतङ्कवाद प्रतिरोधी विभागको सुस्त रवैया दर्शाउँछ। सईद विरुद्ध आतङ्कसम्बन्धी मुद्दाको जाँचमा पाकिस्तानको गम्भीरतालाई केलाउने आवश्यकता छ। के इस्लामाबाद एफएटीएफ-को २७ बुँदे योजना पालन गर्न तयार छ? पाकिस्तानको पछिल्लो रेकर्डहरू हेर्दा,  सईदलाई कुनै आरोपहरू बिनै छोड्यो भने, आतङ्कवादको वित्तपोषण अन्त्य गर्न विफल भएकोमा पाकिस्तानलाई एफएटीएफ-ले अन्तत: उसको कालो सूचीमा हाल्छ कि हाल्दैन, त्यो हेर्नु पर्नेछ।

आलेख:  डक्टर जैनब अख्तर, पाकिस्तानसम्बन्धी विश्लेषक

अनुवाद तथा वाचन: प्रणय सुब्बा