ब्रिटेनमा चुनाव – ब्रेक्जिटका लागि वारि वा पारिको स्थिति

ब्रिटेन २३ जून २०१६ मा भएको जनमत सङ्ग्रहपछि उकाली-ओह्रालीको स्थितिबाट गुज्रिरहेको छ। सो जनमत सङ्ग्रहमा ‘ब्रेक्जिट’ सामुन्ने आएको थियो जसको अर्थ हो – युरोपेली सङ्घबाट ब्रिटेन बाहिरिने निर्णय। यो परिणामले ब्रिटेनका दुई प्रधान मन्त्रीहरू डेभिड क्यामेरोन र टेरेसा मे-को सत्ता त खोस्यो नै साथै यु.के. युरोपेली सङ्घबाट बाहिरिने तयारी गरिरहेको स्थितिमा यो राजनीतिक स्थितिको भिरको किनारमा पुगेको छ अनि त्यसभन्दा पनि बढी आर्थिक अनिश्चितताको अवस्थामा पुगेको छ। टेरेसा मे-द्वारा ब्रेक्जिटका लागि युरोपेली सङ्घसँग गरिएको सम्झौतालाई संसदको मन्जुरी दिलाउन बारम्बार गरिएका प्रयासहरूलाई उहाँको आफ्नै कन्जर्भेटिभ पार्टीका सदस्यहरूले मन्जुर गरेनन् जसको परिणामस्वरूप उहाँले प्रधान मन्त्री पद त्याग्नु पऱ्यो अनि जुलाई २०१९ मा बोरिस जोनसन पार्टीका नयाँ नेता अनि प्रधान मन्त्री बन्नुभयो। ब्रिटिश संसदबाट ब्रेक्जिटलाई मन्जुरी दिलाउने उहाँको प्रयास ३१ अक्टोबर २०१९ सम्म फलिभूत हुन सकेन। उहाँले युरोपेली सङ्घबाट जनवरी २०२० सम्म  ३ महिनाको समय-विस्तार पाउनुभयो। तर, ब्रिटिश संसदमा विरोधको सामना गर्नु परेको हुँदा बोरिस जोनसनले २४ अक्टोबर २०१९ मा मध्यावधि चुनावको घोषणा गर्नुभयो।

युरोपियन इकोनोमिक कम्युनिटी (इ.इ.सि.) अर्थात् युरोपेली आर्थिक समुदायमा संयुक्त अधिराज्यको प्रवेशपनि नाटकीय ढङ्गले भयो। इ.इ.सि.-को स्थापना सन् १९५७ मा भएको थियो र फ्रान्सका राष्ट्रपति चार्ल्स डे गाउल-ले ब्रिटेनको आवेदनलाई अस्वीकार गर्नुभएको थियो अनि सन् १९७३ मा मात्रै ब्रिटेन यसमा सामेल भएको थियो। त्यसपछि, सन् १९९२ मा इ.इ.सि. युरोपेली सङ्घमा रूपान्तरित हुँदासम्म ब्रिटेन केही साझा व्यवस्थामा सधैँ नै बाहिर रहिआएको थियो। ब्रिटेनले आफ्नो मुद्रा र भिसा प्रणालीलाई कायम राख्यो जबकि अन्य मुलुकहरूले साझा मुद्रा युरो र शेनगेन साझा भिसा प्रणाली अपनाए। यस्ता र अन्य स्थितिहरूले ब्रिटेन र अन्य युरोपेली मुलुकहरूबिच सधैँ नै विवाद सिर्जना गरिनै राख्यो अनि स्थिति यस्तो बिन्दुमा पुग्यो जहाँ ब्रिटेनको घरेलु राजनीति पछिल्लो दशकमा युरोपेली सङ्घलाई लिएर  बढ्दो रूपमा टकराउपूर्ण हुन थाल्यो।

तुलनात्मक रूपले स्थिर सरकारहरू तथा कन्जर्भेटिभ र लेबर पार्टीका साथ दुई दलीय प्रणालीका साथ संसदीय लोकतन्त्रको ‘जननी’ को रूपमा जानिने मुलुक ब्रिटेनमा अन्य पार्टीहरू जस्तै लिबरल डेमोक्रेट्स, ब्रेक्जिट पार्टी, डेमोक्रेटिक युनियनिस्ट पार्टी र यु.के. इन्डेपेन्डेन्स पार्टीको उत्थान भयो जसले चुनावमा दुई ठूला पार्टीहरूले बहुमत हासिल गर्न नसकेको स्थितिमा सत्ता बनाउने वा बिगार्ने भूमिका खेल्न थाले। यसका अतिरिक्त, स्कटिश स्वाधीनताको मगाले पनि यस्ता कारकहरूलाई बढुवा दियो जसले ब्रिटिश राजनीतिलाई अत्यन्तै अनिश्चिततामा पुऱ्यायो। पाँच वर्षको कालमा यसले तेस्रो आम चुनाव गराउनु पऱ्यो जो राजनीतिक अस्थिरता तथा ब्रेक्जिटले कसरी देशलाई, राजनीतिलाई र जनतालाई विभाजित गरेको छ भन्ने कुराको सङ्केत हो।

मध्यावधि चुनावको लागि बोरिस जोनसनको घोषणा एउटा यस्तो राजनीतिक दाउ हो ब्रेक्जिटका लागि जनताको स्पष्ट जनादेश हासिल गर्नका लागि खेलिएको हो। चुनावको घोषणा गरिएपछिका दिनहरूमा उहाँ र लेबर पार्टीका नेता जेरेमी कोरबिनबिच कटुतापूर्ण शब्दहरूको आदान-प्रदान भएको छ। सरल आकर्षक नारा “ब्रेक्जिट पूरा गर”का साथ एक्जिट पोलहरूले के अड्कल काटेका छन् भने मतदाताहरूले कन्जर्भेटिभ पार्टीलाई विशाल जनादेश दिएको हुन सक्छ, तर यसको अर्थ युरोपेली सङ्घसितका सबै वार्ताहरू ३१ डिसेम्बर २०२० सम्म पूरा हुनेछन् भन्न चाहिँ सकिँदैन। अब अगाडि अपरिक्षित यात्रा छ किनभने यु.के.ले युरोपेली सङ्घसित आफ्ना सम्बन्धको हरेक पक्षमाथि वार्ता गर्नु पर्नेछ। जोनसनको लागि यो वैयक्तिक विजय हो जो संसदको पछिल्ला बेन्चहरूबाट आएर पार्टीलाई नेतृत्व दिन आउनुभयो  र अब उहाँले ब्रेक्जिटको आफ्नै प्रारूप प्रस्तुत गर्नुभएको छ।

यसै वर्ष प्रारम्भमा बोरिस जोनसनले भारतमा भएको मई २०१९ को आम चुनावमा प्रधान मन्त्री मोदीको विजयको स्वागत गर्नुभएको थियो र के भन्नुभएको थियो भने उहाँ “आगामी वर्षहरूमा यु.के. र भारतबिच झनै घनिष्ठ साझेदारीको आशा राख्नुहुन्छ”। श्री जोनसनले ब्रेक्जिटलाई पार लगाउने प्रक्रियामा यु.के.ले व्यापार सम्बन्धहरू निर्माण र नवीकरण गर्नु पर्नेछ, र यहीँ नै भारतसितको साझेदारी महत्त्वपूर्ण छ। भारतले पनि यु.के.मा कानूनी अद्यागमन र अझपनि शिक्षार्जनका लागि ठुलो संख्यामा जाने भारतीय विद्यार्थीहरूका लागि भिसा फाइदाहरूलाई मजबुत गर्न चाहन्छ। यु.के.ले युरोपेली सङ्घसित कस्तो प्रकारको सम्झौता गर्छ भन्ने कुरामाथि पनि व्यापार सम्बर्धनको सम्भाव्यता निर्भर गर्दछ।

आलेख: जवाहरलाल नेहरू विश्वविद्यालयमा युरोपेली अध्ययन केन्द्रमा जेन मोनेट चेयर प्रोफेसर एवम् प्रमुख उम्मु सलमा बावा

अनुवादः विष्णुबहादुर गुरुङ्ग