बगदादमा अमेरिका र इरानबिच छद्मयुद्ध

बगदादको अत्यन्त सुरक्षित क्षेत्र मानिने ‘ग्रिन जोन’- मा अवस्थित अमेरिकी दूतावासवरिपरि भेला भई प्रदर्शन गरेर फिर्ता हुन थालेका इरान-समर्थक प्रदर्शनकारीहरू आफ्नो आवाज अमेरिकाका कानमा परेको महसुस गर्दै छन्। इरान-समर्थक मिलिसियाहरूले हमला गरी एक अमेरिकी ठेकेदारको हत्या गर्नुका साथै कतिपय अमेरिकी सैनिकहरूलाई घाइते बनाएपछि ट्रम्प प्रशासन र इरान इस्लामिक गणराज्यबिच लामो समयदेखि चलिरहेको वाकयुद्ध अहिलेसम्मकै नाजुक मोडमा पुगेको छ।

उक्त घटनापछि राष्ट्रपति ट्रम्पले अर्धसैनिक बलका पाँचवटा ठेगानामा हमला गर्ने आदेश दिँदा कम्तीमा २५ जनाको मृत्यु भयो र त्यसको दोब्बर जति मानिसहरू घाइते भए। यसले गर्दा इराकमा रहेका इरान-समर्थक तत्त्वहरू आक्रोशित भए अनि उनीहरूले बगदादस्थित अमेरिकी दूतावासमा हमला गरी परिसरको पर्खाल नाघ्ने प्रयास गर्दा त्यहाँ तैनाथ अमेरिकी मरिन सैनिकहरूले स्थिति नियन्त्रण गर्नका लागि गोली चलाउनु पऱ्यो।

इरान समर्थित पप्युलर मोबिलाइजेसन फोर्स अर्थात् पि. एम. एफ.-को एउटा घटक ‘ब्रिगेड्स अफ दि पाथ अफ गड’- नामले जानिने सिया अर्धसैनिक बल काताइब हेजबोल्लाले इराक र सिरियाबिचको सिमानामा तैनाथ अमेरिकी ठेगानामा पहिलो हमला गरेको थियो। सन् २००३ को मार्च महिनामा अमेरिकाले इराकमा हमला गरेपछि इराकमा सुरु भएको गृहयुद्धमा सक्रिय भएको काताइब हेजबोल्ला, सत्ता बचाउन संघर्ष गरिरहेका सिरियाली राष्ट्रपति बसर अल-असदलाई समर्थन गर्न सिरियाको गृहयुद्धमा पनि होम्मिएको छ।

अमेरिकाले २९ डिसेम्बरमा अर्धसैनिक बलका पाँचवटा ठेगानामा गरेको जवाफी हमलाबारे बोल्दै राष्ट्रपति ट्रम्पले आफ्नो ट्विट सन्देशमा यसरी लेख्नुभयो: “…हामीले जोरदार तरिकाले जवाफी कारबाही गऱ्यौँ र सदैव यसरी नै गर्ने छौँ। इरान अब इराकस्थित अमेरिकी दूतावासमा हमला गराउँदै छ।” उहाँले पछि अमेरिकी सैनिकहरूको सुरक्षा सुनिश्चित गर्ने सम्बन्धमा इराक सरकारले गरेको द्रूत कारबाहीका लागि धन्यवाद दिनुभयो, तर त्यसको लगत्तै उहाँका तर्फबाट नयाँ वर्षको चेतावनी यसरी आयो: “…हाम्रा कुनै पनि ठेगानामा हुने हताहती वा क्षतिका लागि इरान जिम्मेवार हुने छ। उनीहरूले ठूलो मूल्य चुकाउनु पर्ने छ! यो कुनै मामुली चेतावनी होइन, धम्की हो। नयाँ वर्षको शुभकामना!”

यसबिच, अमेरिकाले बगदादमा गरेको हवाइ हमलामा इरानको कुड्स फोर्सका कमान्डर मेजर जनरल कासिम सुलेमानी र इराकी मिलिसियाको नेता अबु माहदी अल-मुहान्दिस मारिएका छन्। अमेरिकी रक्षामन्त्री मार्क टि. इसपरले, पेन्टागनले निर्णायक रक्षात्मक कारबाही गरेको बताउनुभएको छ।

ट्रम्प प्रशासनले पोहोर मे महिनामा इरानसँगको परमाणु करार रद्द गर्नुका साथै इरानको ऊर्जा उद्योगमाथि नयाँ प्रतिबन्धहरू लगाएपछि नै अमेरिका र इरानबिच तनाव चर्किएको हो भन्न मिल्छ। अमेरिकी प्रतिबन्धका साथै घरायसी स्तरमा आर्थिक व्यवस्थापन कमजोर हुँदा हालका हप्ताहरूमा इरानी सर्वसाधारणले झेल्नुपरिरहेका आर्थिक कठिनाइहरूलाई लिएर व्यापक प्रदर्शनहरू भइरहेका छन्।

हालसम्म त दुवै पक्ष सोझै परस्परमा जुध्नबाट जोगिँदै छन् तर ताजा रिपोर्टहरूले के देखाएका छन् भने इरानको सम्पर्कमा वा इरानको समर्थनमा रहेका तत्त्वहरूले अमेरिकी हैकमविरुद्ध तेहरानको आवाज बुलन्द पार्ने प्रयोजनका लागि अमेरिकाका सहयोगी देशहरूमा रहेका अमेरिकी मुख्य ठेगानाहरूमा हमला गर्ने योजना बनाउँदै छन्।

बगदादस्थित अमेरिकी दूतावासवरिपरि भेला भएका प्रदर्शनकारीहरू फिर्ता भए तापनि राष्ट्रपति ट्रम्पले, इरानले ठूलो मूल्य चुकाउनु पर्ने छ भनी चेतावनी दिनुभएको घटनाक्रमलाई दुई पक्षबिच तनाव चर्काएर हाल ट्रम्पले आफ्नै देशमा झेल्नु परिरहेको स्थितिबाट ध्यानभङ्ग गराउन चाल्नुभएको एउटा चाल हो भन्दा अत्युक्ति नहोला। क्रिसमसको बिदा सकिएको हुनाले अमेरिकी प्रतिनिधि सभाकी अध्यक्ष नेन्सी पेलोसीले यो मुद्दा सिनेटलाई सुम्पनेअघिको योजना बनाउन थालिसक्नुभएको छ। राष्ट्रपति ट्रम्प यो मुद्दा सेलाएको चाहनुहुन्छ, त्यसैले अमेरिकाभन्दा निकै टाढा रहेको देशमा कुनै आक्रामक कारबाही गरी मानिसहरूको ध्यान त्यता केन्द्रित गराउनु भनेको उहाँले समझारीका साथ खेल्नुभएको कुटनीतिकै हिस्सा हो। मोनिका लेविन्स्की मामिलामा महाभियोग झेलिरहनुभएको पूर्व राष्ट्रपति बिल क्लिन्टनले पनि आफूबाट ध्यान हटाउने उद्देश्यले अफगानिस्तानमा रहेका अल-कायदाका ठेगानाहरूमाथि हमला गराउनुभएको कुरा सबैलाई थाहा नै छ।

तर, अमेरिका र इरान परस्परको लक्ष्मण रेखा नाघेर अघि बढ्न अवश्य ने हिच्किचाउने छन्। अमेरिकामा चुनाव हुन गइरहेको समयमा ट्रम्प, सन् १९८० मा कार्टरले राष्ट्रपति गुमाउनु परेको कारण बनेको बन्धक सङ्कट निम्त्याएर जुन गल्ती गर्नुभयो, त्यो पक्कै पनि दोहोऱ्याउन चाहनुहुन्न होला। ४४४ दिनसम्म चलेको इरानी बन्धक सङ्कटले नै वाशिङ्गटन र तेहरानबिच चार दशकसम्म शत्रुताको बिजारोपण गरेको थियो। अब न त राष्ट्रपति ट्रम्प न इरानी सर्वोच्च नेता अयातोल्ला खमेनी उक्त प्रकरण फेरि दोहोरिएको चाहनुहुन्छ।

आफ्नो ऊर्जा सुरक्षा, विशाल सङ्ख्यामा भारतीय समुदाय र त्यहाँबाट रेमिटान्स भित्रिने कुरालाई मध्यनजर गर्दा उक्त क्षेत्रमा भारतको गहिरो रुचि छ। सन् २०१७-१८ देखि साउदी अरबलाई उछिनेर इराक भारतलाई खनिज तेल आपूर्ति गर्ने सबैभन्दा ठूलो देश बनेको छ। यता अमेरिकी प्रतिबन्धका कारण भारत र इरानबिचको ऊर्जा व्यापारमाथि पहिल्यै निकै असर परिसकेको छ। त्यसैले, अमेरिका र इरानबिच बगदादमा जारी गतिरोध चाँडै सेलाउनु पारसको खाडी क्षेत्रमा भारतको हित रक्षाका लागि अत्यन्त महत्त्वपूर्ण छ।

आलेख: जवाहरलाल नेहरू विश्वविद्यालयको पश्चिम एसियासम्बन्धी अध्ययन केन्द्रका प्रोफेसर,  पि. आर. कुमारस्वामी

अनुवाद एवम् वाचन: दीपक पौडेल