पाकिस्तान नयाँ तल्लो स्तरमा झऱ्यो

विगत शुक्रबार पाकिस्तान स्थित सिखहरूको पवित्रतम धार्मिक स्थल सुप्रसिद्ध गुरुद्वारा ननकाना साहिबमा कम्तिमा ४०० मान्छेहरूको विशाल हुल पसेर सिख-विरोधी नाराहरू लगाएको थियो। तिनीहरूले गुरुद्वारालाई घेरे अनि ढुङ्गाहरू बर्साए। यो हुलको नेतृत्व मोहम्मद हसनको परिवारद्वारा गरिएको थियो। यो त्यही केटो हो जसले गुरुद्वाराका ग्रन्थीकी छोरी जगजीत कौरलाई कथित रूपमा अपहरण गरेर बलजफ्ती धर्म परिवर्तन गराइ विवाह गरेको थियो। सो केटोको उक्त कृत्यको विरोध गरेको सिख समुदायविरुद्ध यो हिंसा गरिएको थियो।

एउटा भिडियोमा विरोध प्रदर्शनकारीहरूले त्यहाँ गुरुद्वाराको अवस्थितिको विरोधमा नारा लगाइरहेका अनि तिनीहरूले त्यो ठाउँको नाउँलाई चाँडैनै ननकाना साहिबबाट बदलेर गुलामन-ए-मुस्तफा राखिनेछ भन्ने घोषणा गरिरहेका देखिँदैछन्।

त्यो ऐतिहासिक गुरुद्वाराभित्र ठुलो संख्यामा फँसेका सिख श्रद्धालुहरूको लागि त्यो स्थिति भयावह थियो। पाकिस्तान सरकारद्वारा  देखाइएको ठाडै लापरवाहीपूर्ण र उदासीन प्रतिक्रियाले पाकिस्तानमा बसोबास गर्ने सिख समुदायको सुरक्षामाथि गम्भीर चिन्ता उत्पन्न गराएको छ।

पाकिस्तानमा गुरुद्वाराको नाममा नै रहेको जिल्ला ननकाना साहिब स्थित यो गुरुद्वारा सिखहरूका पवित्रतम तीर्थस्थलहरू मध्ये एक हो जहाँ सिखहरूका प्रथम गुरु गुरु नानक देवजीको सन् १४६९ मा जन्म भएको थियो। विश्वभरका सिख समुदायले गुरु नानक देवजीको ५५०औँ जन्म जयन्ती पोहोर पालन गरेको थियो। विडम्बनाको कुरा के छ भने सिखहरूका दसौँ गुरु गुरु गोविन्द सिंहको जन्म दिवस मनाइएको ठिक एकदिन पछि ननकाना साहिबमा यो घटना भयो।

भारतले हिंसा र तोडफोडको यो पूर्व-नियोजित कृत्यको कडा निन्दा गर्नमा समय गुमाएन। भारतले जोड दिँदै के भनेको छ भने पोहोर अगस्ट महिनामा ननकाना साहिबमा जगजीत कौरलाई उनको घरबाट अपहरण गरेर बलजफ्ती धर्म परिवर्तन गराइपछि यो निन्दनीय घटना भएको हो।

भारतले “यो पवित्र स्थलमा विध्वंश मच्चाउने र यसलाई अपवित्र तुल्याउने यी उपद्र्याइँपूर्ण कृत्यको” कडा भर्त्सना गरेको छ। भारतले पाकिस्तानलाई सिख समुदायका सदस्यहरूको निरापदता, सुरक्षा र कल्याण सुनिश्चित गर्नका लागि तत्काल पाइलाहरू सार्न भनेको छ। त्यो पवित्र गुरुद्वारालाई अपवित्र पार्न र अल्पसंख्यक सिख समुदायका सदस्यहरूमाथि हमला गर्नमा संलिप्त उपद्र्याहाहरूविरुद्ध कडा कार्वाही गर्नका लागि भारतले पाकिस्तान सरकारलाई भनेको छ।  यसका साथै, भारतले पाकिस्तानलाई के याद दिलाएको छ भने पवित्र ननकाना साहिब गुरुद्वारा र यसको वरिपरिको इलाकाको सुरक्षा गर्न र पवित्रता अक्षुण्ण राख्नका लागि सबै उपायहरू गर्नु उसको दायित्व हो।

ननकाना साहिबमाथि हमलाको खबर प्राप्त हुनेबित्तिकै भारतीय राज्य पञ्जाबका मुख्य मन्त्री क्याप्टेन अमरिन्दर सिंहले पाकिस्तानका प्रधान मन्त्री इमरान खानलाई  “गुरुद्वारामा फँसेका श्रद्धालुहरूलाई बचाएर निकाल्ने एवम् त्यो ऐतिहासिक गुरुद्वारालाई त्यहाँ घेरा लागएको क्रुद्ध हुलबाट बचाउने कार्य सुनिश्चित गर्नका लागि तत्काल हस्तक्षेप गर्न” आह्वान गर्नुभएको थियो। भारतका केन्द्रीय मन्त्री हरसिमरत कौर बादलले हुलद्वारा यो हिंसाको भर्त्सना गर्नुभयो  र पाकिस्तानमा अल्पसंख्यकहरूको प्रताडना एक वास्तविकता हो भन्नुभयो। उहाँले थप के भन्नुभयो भने  गुरुद्वारामाथि हमलाले पाकिस्तानको अस्सली अनुहारलाई उदाङ्गो पार्दछ। भारतमा शिरोमणी अकाली दलका अध्यक्ष र अन्य राजनीतिक नेताहरूले साथै विदेशमा सिख समुदायका सदस्यहरूले पनि यो घटनाको कडा भर्त्सना गरेका छन्। यो घटनाको विरोध गर्नका लागि नयाँ दिल्लीमा पाकिस्तान उच्चायोगबाहिर विरोध प्रदर्शनका लागि ठुलो संख्यामा मानिसहरू जम्मा भएका थिए।

पाकिस्तानका प्रधान मन्त्री इमरान खानले यो घटनाको निन्दा गर्नका लागि आफ्नो मौन तोड्नमा पूरा दुई दिनसम्म पर्खनुभयो।  उहाँले भन्नुभयो, यो उहाँको “दृष्टि”विरुद्ध छ र उहाँको सरकारले यसमा संलिप्तहरूविरुद्ध “शून्य सहिष्णुता” देखाउनेछ। तर उहाँले “निन्दनीय ननकाना घटना र भारतीय अल्पसंख्यकहरूको स्थितिबिच प्रमुख भिन्नता छ” भनेर भारतमाथि पछिबाट कटाक्ष गर्ने लोभ भने संवरण गर्न सक्नुभएन। यो अनर्गल र निन्दनीय छ। यसले के पनि स्पष्टसँग देखाउँछ भने पाकिस्तानी नेतृत्व शान्ति र मेलमिलापलाई भताभुङ्ग पार्ने प्रयास गरिरहेको हुललाई नियन्त्रित गर्न असक्षम छ।

इमरान खानको यो टिप्पणी आउनुअघि पाकिस्तानको विदेश विभागले ननकाना साहिब घटनाका खबरहरू झुट्टा हुन् र यो चिया पसलमा दुई समुहहरूबिच भएको सानो झगडा मात्रै थियो भनी बताएको थियो।

यो घटनाले पाकिस्तानको त्यो पाखण्डलाई उदाङ्गो पारेको छ जो यसले नोभेम्बर २०१९ मा करतारपुर करिडोर खोलेर देखाउने प्रयास गरेको थियो।

भारत र अन्तर्राष्ट्रिय समुदायले पाकिस्तानमा अल्पसंख्यकहरू निरापद र सुरक्षित रहुन् भन्ने सुनिश्चित गर्नका लागि पाकिस्तानमाथि दबाव हाल्न जारी राख्नु जरुरी छ।

आलेख: भारतीय पूर्व कुटनयिक एवम् वैश्विक अध्ययन संस्थानका अध्यक्ष अशोक सज्जनहार

अनुवादः  विष्णुबहादुर गुरुङ्ग