खाडीमा शान्तिका लागि भारतको आह्वान

गत शुक्रवार संयुक्त राज्य अमेरिकाद्वारा ईरानको अल-कुद्स बलका कमान्डर मेजर जनरल कासिम सोलेयमानी मारिएपछि पर्सियाली खाडी क्षेत्रमा तनाव बढिरहेकै बीच परराष्ट्र मामिला मन्त्री डक्टर एस. जयशङ्करले उहाँका इरानेली समकक्षी मोहम्मद जाविद जरिफसँग कुराकानी गर्नुभयो अनि “घटनाक्रमहरूले एक गम्भीर मोड लिएका छन्” भनी उल्लेख गर्नुभयो। डक्टर जयशङ्करले “तनावको स्तर” प्रति भारतका गम्भीर चिन्ताहरू व्यक्त गर्नुभयो र दुवै पक्ष “सम्पर्कमा रहन सहमत भएका छन्।” भारतीय परराष्ट्र मामिला मन्त्री केही साताअगि १९औँ संयुक्त आयोगको बैठकमा सहभागिता जनाउन तेहरान जानुभएको थियो जहाँ उहाँले राष्ट्रपति हसन रुहानी र श्री जरिफ समेत ईरानका वरिष्ठ अधिकारीहरूलाई भेट्नुभएको थियो। वास्तवमा, श्री जरिफ यही महिनाको १४ तारिखदेखि सुरु हुने ‘रायसिना संवाद’ मा भाग लिन भारत आउने अपेक्षा छ।

उक्त कुराकानी इराक, सीरिया, लेबनन तथा यमनसितका संलग्नताहरू नियन्त्रण गर्ने सो क्षेत्रका सर्वाधिक प्रभावी व्यक्तित्व सोलेयमानी मारिइएपछि राष्ट्रपति डोनल्ड ट्रम्प र ईरानेली नेताहरूबिच भइराखेको शाब्दिक प्रहारको पृष्ठभूमिमा टेलिफोनमार्फत भएको हो। वास्तवमा जनरल सोलयमानीलाई ईरानका सर्वोच्च नेता अल खमेनी पश्चात सर्वाधिक शक्तिशाली व्यक्तिको रूपमा हेरिन्थ्यो।

ईरानेली नेताहरूले संयुक्त राज्य अमेरिकाले छिट्टै “एक कठोर प्रतिशोधकारी हमलाको सामना गर्नुपर्ने छ” भनी बताएका छन्। आक्रोशको भाव प्रतिबिम्बित गर्दै रेवोल्युशनरी गार्ड कोरका वरिष्ठ कमान्डरले भनेका छन् “ईरानले धेरै पहिले नै टेल अभिभ समेत क्षेत्रमा ३५ महत्त्वपूर्ण अमेरिकी ठेकानाहरूको पहिचान गरेको छ, र ती जम्मै हाम्रो पहुँचभित्र छन्।”

यसले अमेरिकी राष्ट्रपति ट्रम्पलाई यो घोषणा गर्न उत्तेजित गरायो कि अमेरिकाले ५२ वटा इरानेली स्थलहरूको पहिचान गरेको छ (जुन संख्या १९७९ मा इरानेली विद्यार्थीहरूले बन्दी बनाएका अमेरिकी कुटनीतिज्ञहरूको संख्या बराबर हो), जसमा “ईरान र ईरानेली संस्कृतिका अति शीर्ष एवम् महत्त्वपूर्ण स्थलहरू” पनि छन्”, र तेहरानले कुनैपनि अमेरिकी लक्ष्य तथा हितहरूमाथि हमला गरेको खण्डमा ती स्थलहरू चाँडै ध्वस्त हुनेछन् भनी चेतावनी दिएको छ। उहाँले यो पनि चेतावनी दिनुभयो कि अमेरिकाले ईरानमा यति शक्ताशाली प्रहार गर्नेछ कि यो भन्दा पहिले उनीहरूले त्यस्तो प्रहारको सामना कहिल्यै गरेको छैन। जवाफमा ईरानले पनि विश्वलाई स्मरण गरायो कि उनीहरूको सभ्यता कैयौँ विदेशी हमला, आक्रमण र अतिक्रमणबाट ध्वस्त हुनुदेखि बाँचेको छ।

सोलेयमानी ट्रम्प प्रशासनका लागि ठूलो माछा समान थियो भने उनको हत्या सन् १९८९ मा सत्ता सम्हालेको देखि ईरानका सर्वोच्च नेताले सामना गरको सर्वाधिक गम्भीर चुनौती पनि थियो।

संयुक्त राज्य अमेरिकालाई इन्कार गर्न र क्षेत्रमा आफ्ना प्रतिनिधिहरूलाई पुन: आश्वस्त पार्न तेहरानले प्रतिक्रिया दिनै पर्नेछ। त्यस्तो प्रतिक्रिया सम्भवत: मंगलबार तेहरानदेखि लगभग एकहजार किलोमीटर टाढा दक्षिणमा अवस्थित  सोलेयमानीको मूलसहरमा उहाँको पार्थिव शरीर गाडिइएपछि आउन सक्छ।

अधिकांश अन्तर्राष्ट्रिय समुदाय जस्तै, भारतले पनि स्थितिको गम्भीरता महसूस गरेको छ र हत्याको केही क्षणपछि जारी गरिइएको वक्तव्यमा नयाँ दिल्लीले पर्सियाली खाडीमा “शान्ति, स्थिरता र सुरक्षा” को महत्त्वको स्मरण गरायो र “स्थिति अझ नबिग्रोस” भनी आशा व्यक्त गर्नुका साथै संयम बनाइराख्न आग्रह गऱ्यो। भारतीय परराष्ट्र मामिला मन्त्रीले डक्टर शरिफसँग कुरा गरिसकेपछि अमेरिकी विदेश मन्त्री माइक पोम्पियो साथै युएई र ओमानका विदेश मन्त्रीहरूलाई पनि फोन गर्नुभयो।

यहाँ अति नै महत्त्वपूर्ण प्रश्न यस्तो रहेको छ कि ईरानेली प्रतिक्रिया कहाँ र कस्तो हुनेछ। यसले विश्व समुदायलाई नै अन्योलमा पारेको छ। क्षेत्रमा अमेरिकी हितहरूमाथि वा अमेरिकी मूल भूमिमाथि एक सोझो प्रहार ईरानका लागि महँगो पर्नेछ किनभने त्यसले विशाल अमेरिकी प्रतिक्रिया निम्त्याउने छ। यसर्थ ईरानले मध्यपूर्वमा इजरायल, इराक वा अधिराज्य सऊदी अरब जस्ता अमेरिकी सहयोगीहरूमाथि ध्यान केन्द्रित गर्न सक्छ।

यी सबै देशहरूसँग भारतको घनिष्ठ सम्बन्ध छ। ईरानको कुनैपनि प्रतिक्रियाले पर्सियाली खाडी क्षेत्रलाई उत्तेजित तुल्याउने छ, जुन क्षेत्र भारतको लागि अति नै महत्त्वपूर्ण छ।

नयाँ दिल्लीका महत्त्वपूर्ण हितहरू जस्तै ऊर्जा सुरक्षा,  चाबहार बन्दरगाह, तथा मध्य एसियामा प्रवेश हुने पारगमन मार्ग ईरानमा छन्। सोही समय, भारतले ईरानेली नेतृत्वलाई यस संकटको घडीमा तेहरान एक्लै छैन र स्थितिमाथि भारतले सावधानीपूर्वक हेरिरहेको छ भन्ने छोटो तर महत्त्वपूर्ण सन्देश दिएको छ। भारत जस्ता मुलुकहरूद्वारा गरिएको आफ्नो दुविधा अभिव्यक्तिले ईरानलाई सोलेयमानीको हत्याको प्रतिक्रिया दिँदा त्यसको मूल्यको आकलन बढी वास्तविक ढंगमा गर्न मदत गरेको हुनुपर्छ। ईरानका लागि अन्तर्राष्ट्रिय समर्थनको फराकिलो परिप्रेक्ष्यमा हेर्दा, भारतले जुन प्रकारले पहुँच बनाएको छ त्यसले ईरानलाई आफ्ना कार्यहरू प्राथमिकतामा आधारित तयार पार्न मदत गर्न सक्छ।

 आलेख: जवाहरलाल नेहरू विश्वविद्यालयको पश्चिम एसियाली अध्ययन केन्द्रका प्रोफेसर पी आर कुमरास्वामी

अनुवाद एवम् वाचन: प्रणय सुब्बा