अमेरिका-ईरान तनाव: भारतद्वारा तनाव कम गर्न आह्वान

ईरानका शीर्ष सैन्य अधिकारीहरूमध्ये एक रहेको, कासिम सुलेयमानीलाई बगदाद विमानस्थलमा मार्ने संयुक्त राज्य अमेरिकाको एकतर्फे निर्णयले क्षेत्रको अस्थिरतामा थप वृद्धि भएको छ। यो हमलाले ईरानमा अमेरिका विरोधी जनभावनालाई अझ उक्साएको छ र ईरान र अमेरिकाबिच वार्तालाका लागि ठाउँ साँघुरिएर गएको छ। यसले ट्रम्प प्रशासनका मध्यपूर्वबाट अमेरिकी सैनिकहरू फिर्ता ल्याउने र ईरानलाई एक परमाणु शक्तिसम्पन्न राष्ट्र बन्नदेखि रोक्ने दुई पूर्वनिर्धारित लक्ष्यहरूलाई पनि क्षति पुऱ्याएको छ। अमेरिकाद्वारा कुनै चेतावनीबिनै गरिएको एकतर्फे हमलाले खाडीमा सहयोगी देशहरूलाई चिन्तित तुल्याएको छ, किनभने हालैका महिनाहरूमा उनीहरूले आफ्ना ढुवानीमार्ग र तेलपूर्वाधारमा हमलाको सामना गरेका छन् र उनीहरू ईरानसित तनाव कम गर्ने दिशामा कार्यरत थिए।

ईरानले हत्याको बदला इराकमा दुई अमेरिकी वायुसेना अड्डाहरूमाथि आक्रमण गरेर लियो। तेहरानले बताए अनुसार उसले खालि सैन्य ठेकानामाथि हमला गरेको छ किन कि जनरल सोलेयमानी एक सैन्य अधिकृत थिए।  अल असाद र एरबिल वायुसेना अड्डाहरूमाथि गरिएका आक्रमणहरूमा एकजना पनि अमेरिकी वा इराकी सैनिक घाइते भएको छैन। यस आक्रमणको प्रतिक्रियामा अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाले तेहरान विरुद्ध हमला गर्ने छैन भन्ने सङ्केत दिनुभएको छ। यसलाई तनाव कम गर्ने दिशामा सारिएको एउटा पाइलोको रूपमा हेरिँदैछ। ईरानले पनि सङ्केत दिएको छ कि उसले अहिलेलाई भने कुनै पनि थप कारबाही गर्ने छैन।

यी आश्वासनहरू आउनको बावजुद, यो अस्थिर क्षेत्रमा तनाव चरमा नै रहेको छ। दुई देशबिचको शत्रुतापूर्ण रवैयाको सोझो असर जहाजहरूको बिमा मूल्यसमेत ऊर्जा मूल्य र ढुवानीमाथि पर्नेछ। भारतले ईरानबाट तेल आयात गरिरहेको त छैन तर नयाँ दिल्लीले लगभग ८० प्रतिशत ऊर्जा आवश्यकता खाडी क्षेत्रबाट आयात गरेर पूरा गर्छ। व्यवधानले गर्दा ऊर्जाको मूल्यमा बढोत्तरी हुनसक्छ। वर्धित मूल्य यस घडी भारतीय अर्थतन्त्रका लागि एउटा ठूलो आघात हुनेछ। ढुवानी जहाजहरूमाथि भइराखेका हमलाहरूलाई ध्यानमा राखी भारतले आफ्नो कच्चा तेल आपूर्तिको संरक्षण गर्न खाडी जलक्षेत्रमा नौसैन्य जहाजहरू तैनाथ गरेको छ। यसले गर्दा तेलको समग्र आयात मूल्यमा अतिरिक्त लागत थपिनेछ।

तेलको विषयबाहेक मिसाइल हमला र अन्य किसिमका हमलाहरूले भारतीय प्रवासीहरूलाई पनि जोखिमपूर्ण स्थितिमा पार्न सक्छन् किनभने उनीहरू अरब मुलुकहरूमा विभिन्न व्यवसायी र सेवा क्षेत्रमा संलग्न छन्। तथ्याङ्क अनुसार क्षेत्रमा करीब ८० लाख भारतीयहरू बस्छन्  जसले ४० अर्ब डलर  रेमिटेन्स स्वदेश पठाउ छन्। भारतीय प्रवासीहरूको सुरक्षा भारत सरकारका लागि सर्वोच्च प्राथमिकता हो। विगतमा नयाँ दिल्लीले सफलतापूर्वक क्षेत्रका द्वन्द्वग्रस्त ठाउँहरूबाट आफ्ना नागरिकहरूलाई सुरक्षित बाहिर निकालेको छ। तेस्रो ठूलो असर क्षेत्रका राष्ट्रहरूसँग भारतको बढ्दो व्यापारमा पर्नेछ। भारतले “विस्तारित छिमेकीहरू” सँग सम्बन्ध बलियो बनाउने नीतिको अनुसरण गरिरहेको छ। यसैमा अटल रही भारतले क्षेत्रका ओमान, सऊदी अरब र युएई जस्ता राष्ट्रहरूसँग आफ्नो आर्थिक संलग्नता बढाएको छ। तनाव बढ्नाले यी सम्बन्धहरूको विकासमा क्षति हुनेछ।

यसैको पृष्ठभूमिमा भारतका रक्षा मन्त्री राजनाथ सिंहले अमेरिकाका रक्षा मन्त्री मार्क टी. एस्परसँग कुराकानी गर्नुभयो। यी दुई रक्षा मन्त्रीहरूले खाडी क्षेत्रमा उत्पन्न सुरक्षा स्थितिबारे छलफल गर्नुभयो। श्री सिंहले अमेरिकी रक्षा मन्त्री एस्परलाई भारतका खाडी क्षेत्रमा रहेका सरोकार र हितहरूबारे अवगत गराउनुभयो र त्यहाँ तनाव बढिराखेकोमा नयाँ दिल्ली कत्ति चिन्तित छ भन्ने कुराको जानकारी दिनुभयो। उहाँहरूले द्विपक्षीय रक्षा सहयोग बलियो पार्न दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो। श्री एस्परले पनि भारतीय रक्षा मन्त्रीलाई खाडी क्षेत्रमा भइराखेका ताजा घटनाक्रमहरूबारे जानकारी दिनुभयो। भारतले क्षेत्रसँग आफ्ना चिन्ता र हितहरू साझा गर्दछ।

भारत सामरिक चाबहार बन्दरगाहको विकासमा ईरानको एक साझेदार पनि हो, जुन बन्दरगाह पाकिस्तान नभइकनै मध्य एसिया र अफगानिस्तानसम्म पुग्ने भारतको एउटा महत्त्वपूर्ण व्यापार मार्ग हो। ईरानमाथि लगाइएका प्रतिबन्धहरूले भारतीय कम्पनीहरूलाई लगानी गर्नमा निरुत्साहित गरेका छन् भने अस्थिरताले गर्दा बन्दरगाहमा गरिने लगानीमा झनै कमी आउनेछ। यो, सो क्षेत्रमा भारतको विशाल कनेक्टिभिटी परियोजनाहरूका लागि ठूलो हानी हुनेछ।

भारतले घटनाक्रमहरूमाथि छेउबाट हेर्नु पर्नेछ अनि तनाव कम गर्न बहुपक्षीय प्रयासहरूलाई प्रोत्साहन गर्नु पर्नेछ।

आलेख:  डक्टर स्तुति बनर्जी, अमेरिकासम्बन्धी मामिलाकी सामरिक विश्लेषक

अनुवाद एवं वाचन: प्रणय सुब्बा