अर्थसामाजिक विकासका लागि विज्ञानमा निहित सम्भावना

विज्ञान- पारम्परिक रूपमा प्रयोगशालाहरूभित्र मात्र सीमित रहँदै आएको छ, तर भारतले यसलाई एक विकासोन्मुख मार्गतिर डोऱ्याउने प्रयोजनका लागि राष्ट्रिय प्रेरक बनाउने उद्देश्यसहित यसलाई सामाजिक तवरमा सान्दर्भिक बनाउन आफ्नो ध्यान केन्द्रित गरेको छ। वैज्ञानिक महाकुम्भका रूपमा हालै सम्पन्न भएको १०७ औँ भारतीय विज्ञान कांग्रेसमा भारतका राष्ट्रिय अगुवाहरूले विज्ञानलाई मानिसहरूको हितका लागि प्रयोगमा ल्याउन प्रयोगशाला र जमिन, प्रयोगशाला र कर्मक्षेत्र वा प्रयोगशाला र स्वास्थ्य स्याहारबिचको फाँटो मेटाउन आह्वान गरे।

यो वर्षको भारतीय विज्ञान कांग्रेसको विषय थियो, ‘विज्ञान तथा प्रविधि: ग्रामीण विकास’। प्रविधि भनेको सरकार र आम जनताबिचको एउटा सेतु हो। प्रविधि भनेको द्रूत विकास र सही विकासबिच सन्तुलन बनाउने कारक हो। प्रविधि पक्षपातरहित हुन्छ र यसले कसैको पक्ष लिँदैन, निष्पक्ष हुन्छ। बेंगालुरुमा आयोजित उक्त कांग्रेसमा आफ्नो उद्घाटन भाषण दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीले मानवीय संवेदना र आधुनिक प्रविधिबिच तालमेल भयो भने यसले अप्रत्याशित परिणाम देखाउँछ भन्नुभयो।

विश्वले जलवायु परिवर्तन र विश्वव्यापी उष्मीकरणका रूपमा मानव अस्तित्वमाथि आइलागेको सङ्कटको सामना गरिराखेको छ। अष्ट्रेलियाको जङ्गलमा लागेको भीषण आगलागि वा त्योभन्दा अघि अमेजनका जङ्गलमा आगो लागेको घटना मानवीय अवहेलना, जानिजानि गरिएको वा अरू कुनै कारणले भएका थिए भन्न सकिन्छ। तर वैज्ञानिकहरूले विध्वंशको आकलन गर्दा जलवायु परिवर्तनले प्राकृतिक विपत्ति ल्याएर वनस्पति र जीवका लागि अकल्पनीय क्षति ल्याउन सक्ने चेतावनी दिएका छन्।

भारतीय विज्ञान कांग्रेसको समापन सत्रलाई सम्बोधन गर्दै उपराष्ट्रपति एम. वेंकैया नाइडुले, हामीले विशाल आँधी, शक्तिशाली आगलागि, विध्वंशात्मक बाढी, क्षयकारी खडेरी र भग्नावशेष छाडेर जाने भूकम्पका कैयौँ रूप देखेका छौँ भन्नुभयो। उहाँले जलवायु परिवर्तनलाई रोक्ने दिशामा हामीले मिलेर काम गर्नु अत्यन्त जरुरी छ भन्नुभयो।

विश्वका अन्य भागमा भइरहेका विपत्तिहरूबाट भारत अछुतो रहन सक्दैन। विश्व कुनै न कुनै तरिकाले एक-अर्कासँग जोडिएको हुनाले जलवायु परिवर्तनले हामीलाई असर नपारोस् भनी कामना मात्र गर्न मिल्दैन; यो हाम्रै ढोकासामु छ। श्री नाइडूले, हाम्रा मूल प्रयासहरू भनेका बढी समृद्धितर्फ अग्रसर हुनुमा मात्र सीमित नभई जीवनस्तर सुधार्नेतर्फ पनि केन्द्रित हुनु पर्छ भन्नुभयो।

भारत जस्तो विशाल देशका विकास लक्ष्यहरू हासिल गर्ने जमर्कोलाई कायम राखेर हाम्रो पर्यावरणलाई सुरक्षित राख्ने दिशामा वैज्ञानिक समुदायले मिलेर काम गर्ने खाँचो छ। भारतका कैयौँ राष्ट्रिय मुद्दाहरू छन्, त्यो चाहे कृषि होस् वा स्वास्थ्य हेरचाह, तिनलाई तत्काल वैज्ञानिक ध्यानको खाँचो छ। भारतीय जनताको जीवनस्तरमा सुधार ल्याउनका लागि कृषि सङ्कट वा सङ्क्रामक तथा गैर-सङ्क्रामक रोगहरूको निरन्तर बढ्दो बोझ हलुको पार्नु नितान्त प्रयोजन छ।

प्रविधिले मानिसहरूसम्म सामाजिक योजना, कृषि पद्धति र स्याहार सेवा पुऱ्याउने सुविधामा सुधार गरेको छ। तर ती सुविधाहरू समाजको अन्तिम तथा भौगोलिक रूपमा अत्यन्त दुर्गम क्षेत्रमा बस्ने व्यक्तिसम्म पुग्छन् भन्ने कुरा सुनिश्चित गरिनु पर्छ। भारतको क्षेत्र तथा जनसङ्ख्याको आकारलाई निहालेर हेर्दा यो कार्य कठिन छ र यसमा निरन्तर प्रयासको खाँचो हुन्छ। यो हाम्रा योजनाकार, प्रशासक तथा वैज्ञानिकहरूका लागि ठुलो चुनौती हो।

श्री नाइडूले, हामी प्रकाशित भएका शोधपत्र वा शोधमा खर्च गरिएको रकमका आधारमा वैज्ञानिक उपलब्धिको हिसाब लगाउँछौँ तर, यसले हाम्रो सामूहिक भविष्यलाई असर नपारिकनै हाम्रो वर्तमानका चुनौतीहरूको सही तरिकाले समाधान खोज्ने दिशामा मद्दत गऱ्यो कि गरेन भन्ने निर्क्योल गर्नुचाहिँ असल हुने छ भन्नुभयो।

नोबेल पुरस्कार विजेता जर्मनीका स्टिफन डब्ल्यु. हेलले ठुलठुला खोजहरू योजना गरेर हुन सक्दैनन् भन्ने विचार राख्नुभएको थियो। उहाँले विज्ञानमा कसैको भ्रम हुन सक्दैन भन्नुभयो। ‘ब्लु स्काइ रिसर्च’ अर्थात् वास्तविक दुनियाँसँग सरोकार नराखि गरिने शोधमाथि जोड दिन भनी हेलले गर्नुभएको आह्वान, सरदर भारतीयहरूका आकांक्षा तथा मागहरू वा भारतीय नेतृत्वले बनाएको योजनाअनुरूप नहुन पनि सक्छ।

भारतसँग मानव संसाधन अपार छ र यहाँ वैज्ञानिक स्वभावका साथै सर सि. भि. रमन, मेघनाद साहा, श्रीनिवास रामानुजन, होमी जहाङ्गीर भाबा, जगदीश चन्द्र बोस जस्ता अन्तर्राष्ट्रिय स्तरमा ख्याति आर्जन गर्ने वैज्ञानिकहरूको इतिहास छ। भारतमा युवाहरूलाई वैज्ञानिक मार्गमा अघि बढ्न प्रोत्साहन दिने राष्ट्रिय परिपाटी पनि व्यवहारमा छ। त्यसैले प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, हाम्रा समाधान हुन नसकेका समस्याहरूबाट छुटकारा दिलाउने प्रयोजनका लागि देशमा विज्ञानका जरा मजबुत बनाउन हामीलाई नवोन्मेष, पेटेन्ट, उत्पादन र समृद्धिको आवश्यकता छ।

आलेख: इन्डियन सायन्स जर्नलका कार्यकारी सम्पादक, एन. भद्रन नायर

अनुवाद एवम् वाचन: दीपक पौडेल