भारतको ७०औँ गणतन्त्र दिवसको पूर्वसन्ध्यामा राष्ट्रपति रामनाथ कोविन्दको राष्ट्रलाई सम्बोधनको नेपाली रूपान्तरण

प्रिय देशवासीहरू,

हाम्रो ७०औँ गणतन्त्र दिवसको पूर्वसन्ध्यामा तपाईंहरू सबैलाई मेरो शुभकामना। यो हाम्रो लोकतन्त्र र गणतन्त्रका मूल्यहरूको स्मरण गर्ने अवसर हो। यो हाम्रो समाज र हाम्रा सबै नागरिकहरूमाझ  स्वतन्त्रता, भाइचारा र समानताप्रति हाम्रो वचनबद्धता दोहोऱ्याउने अवसर हो। र सर्वोपरी रूपमा, यो भारत र भारतीय हुनुको भावको पालना गर्ने अवसर हो।

हरेक गणतन्त्र दिवस अनमोल हुन्छ र हाम्रो गणतन्त्रको जीवनमा हरेक दिन अनमोल हुन्छ। र पनि, यो वर्ष केही खास विशेष छ। अक्टोबर 2 तारिख, महात्मा गान्धीको १५०औँ जन्मदिन हो, जसले हाम्रो अगुवाइ गर्नुभयो – र जसले एसिया, अफ्रिका र अन्यत्र शोषित समाजहरूलाई औपनिवेशक शासनबाट स्वतन्त्र हुन उत्प्रेरित गर्नुभयो। गान्धीजी हाम्रो गणराज्यको नैतिक मार्गदर्शक हुनुहुन्छ; उहाँका उपदेशहरू आजपनि हाम्रा नीतिहरू र पहलहरूलाई नाप्ने कसी रहिरहेका छन्। उहाँको १५०औँ  जन्म जयन्ती भारतको लागि मात्रै होइन, विश्वले साझा गर्नुपर्ने खुसियाली हो।

गान्धीजीको जन्मदिनको केही सातापछि २६ नोभेम्बरमा हामीले हाम्रो संविधान अपनाएको ७०औँ वर्षगाँठ पालना गर्नेछौँ। यो प्रबुद्ध एवम् दीर्घ-प्रभावी दस्तावेजले हाम्रो गणराज्यको आधारशीला राख्यो। यो सिद्धान्त एवम् देशभक्तिले ओतप्रोत संविधान सभाका पुरुष एवम् महिलाहरूको कार्य थियो। विशेषगरि हामीले बाबासाहेब डक्टर भीमराव अम्बेडकरको भूमिकाको स्मरण गर्छौँ जसले मस्यौदा समितिको अध्यक्षता गर्नुभएको थियो। उहाँको सम्मानमा, र हाम्रो संविधानको सम्मानमा राष्ट्रले यो वर्ष संविधान दिवसलाई समुचित ढङ्गले पालना गर्नेछ।

भारतीय स्वतन्त्रताका मूल्यहरूलाई आकार दिएका र हाम्रो गणतन्त्रलाई आकार दिन जारी राखेका मूल्यहरू – हाम्रो लोकतन्त्र र हाम्रो संविधानमा निहित मूल्यहरू – भारतका जनताको सर्वोच्चतालाई अक्षुण्ण राख्ने मूल्यहरू पनि हुन्। यो वर्ष, भारतका जनताको – हामीहरू प्रत्येकको एक अर्को दायित्व छ – आम चुनावमा मतदान गर्ने र १७औँ लोकसभाको निर्वाचन गर्ने। हाम्रो लोकतन्त्रका विचारहरू र आदर्शहरू पूर्ण प्रभावमा आउनेछन्। एकपटक फेरि, हरेक पाँच वर्षमा हामाले गरेझैँ, मतदाताहरूले आफ्नो फैसला सुनाउनेछन् र उनीहरूको भाग्य कोर्नेछन्। यो वर्षको चुनाव २१औँ शताब्दीमा जन्मेका मतदाताहरूको लागि प्रथम आम चुनाव हुनेछ र उनीहरूले नयाँ लोकसभाको निर्वाचनमा योगदान गर्नेछन्।

चुनाव एउटा राजनीतिक अभ्यासमात्रै हुँदैन। चुनाव बुद्धिमता र कार्यप्रति एक सामुहिक आह्वान हुन्छ। यसले एक साझा एवम् समानाधिकारवादी समाजका लक्ष्य एवम् आशाहरूको नवीकरण र पुनर्प्रतिबद्धताको प्रतिनिधित्व गर्दछ। यसले जनता र भारतीय गणराज्यका विविध तर एकबद्ध आकाङ्क्षाहरूको प्रतिनिधित्व गर्दछ। यसले मतदानलाई एक पावन कार्य बनाउँदछ। कृपया यो कार्य अवश्य गर्नुहोला। मतदाताले कसलाई चुन्न चाहन्छ यो उसको रोजाइ हो, म सबै योग्य मतदाताहरूलाई गएर मतदान गर्नका लागिमात्रै निवेदन गर्न चाहन्छु। हाम्रो देश एक महत्त्वपूर्ण मोडमा छ। केही हिसाबले यो १९४०-को दशकान्त र १९५०-को प्रारम्भमा सरहनै अत्यन्तै महत्त्वपूर्ण एवम् सिर्जनात्मक अवधि हो। आजका निर्णय र कार्यहरूले २१औँ शताब्दीको शेष अवधिमा भारतलाई आकार प्रदान गर्नेछन्। त्यसोहुँदा, यो मात्र एक पिढीमा एक क्षण होइन, यो शताब्दीमा एक क्षण हो।

यति भनिसकेपछि, आउनुहोस् याद गरौँ यो चुनाव हाम्रा जनताका आकङ्क्षाहरूलाई पूरा गर्ने र विकसित भारतको निर्माणको दिशामा गरिने यात्रामा एक कोसेढुङ्गामात्रै होइन। भारत स्मृतिमा नै पहिलोपटक अत्यधिक गरिबीलाई निर्मूल गर्ने सङ्घारमा छ। सर्वव्यापी एवम् समान स्वास्थ्य सेवाको कार्यक्रम सुरु भएको छ। सस्ता औषधीहरू र चिकित्सा एवम् प्रत्यारोपण उपकरणहरू हाम्रो जनताका बढीभन्दा बढी वर्गहरूसम्म पुग्न थालेको छन्। ठुलो संख्यामा भारतीयहरूको पहिलेभन्दा कहीँ बढी आधुनिक स्वच्छता र बिजुलीकासाथ घरहरूसम्म पहुँच बढेको छ।

बन्दरगाहहरू तथा अन्तरदेशीय जलमार्गहरू, उन्नत रेलवे र नयाँ मेट्रो सेवाहरू, राष्ट्रिय राजमार्गहरू र ग्रामीण सडकहरू, भारतका कुनाकाप्चाहरूसम्म सस्ता हवाई सेवाहरू, र साथै मोबाइल फोन र डेटा पहुँचको रूपमा सम्पर्कताले हामीलाई पहिले कहिल्यैभन्दा ज्यादा निकट ल्याएको छ। भारत ऐक्यबद्ध र एकीकृत भएको छ किनभने अब यो सञ्जालले गाँसिएको छ।

अत्याधुनिक प्रौद्योगिकीहरू र अत्याधुनिक बुद्धिमताले हाम्रा किसानहरूलाई सशक्त बनाइरहेका छन् अनि हाम्रा जवानहरूलाई सुसज्जित पारिरहेका छन्। यिनले हाम्रा पारम्परिक रूपले वञ्चित देशवासीहरूलाई सक्षम बनाइरहेका छन् र हाम्रा छोरा एवम् छोरीहरूलाई शिक्षित बनाइरहेका छन्। यिनीहरूले उद्यमसम्बन्धी ऊर्जालाई उत्प्रेरित गरिरहेका छन् र संक्रामक स्टार्ट अप संस्कृतिले हाम्रो युवा पिढी र हाम्रो भारतलाई विश्वको आकर्षण र प्रशंसाको केन्द्रबिन्दु बनाएको छ।

 

प्रिय देशवासीहरू,

मैले देशभरि यात्रा गर्दा र हाम्रो समाजका सबै वर्गहरूसित भेटघाट गर्दा मैले यस्ता प्रयासहरू र कठिन परिश्रमबाट प्राप्त भएको उन्नतिका लागि प्रशंसाको भाव महसुस गरेको छु। यो भाव मैले बिताएको र अभावको आर्थिक स्थितिबाट माथि उठ्न परिश्रम गरेको वरिष्ठ पिढीमा पनि उत्तिकै छ। एकपछि अर्को इलाकामा, एकपछि अर्को वस्तुहरूमा हामीले अभावलाई उपलब्धतामा परिवर्तित गऱ्यौँ। हामाले यो एक-एक पाइलो सार्दै र एक-एक वर्ष गर्दै हासिल गऱ्यौँ। रपनि खाद्यन्न होस् वा एलपिजि सिलेन्डर, टेलिफोन कनेक्शन होस् वा राहदानी बनाउन सक्षम हुनुनै किन नहोस्, परिवर्तन स्पष्ट छ र परिवर्तन स्पष्ट देखिन्छ। कैयौँ मामिलाहरूमा, प्रौद्योगिकीले प्रयासमा गुणकको कार्य गरेको छ र सबै मामिलाहरूमा, समावेशीकरण एक नैतिक गुणक रहेको छ।

भारतको विकासको कुनैपनि विचार हाम्रो समावेशी भावना – सबैका लागि पहुँच र अवसरलाई मान्यता दिँदै, हामीले हाम्रो आफ्नै मान्ने सबैका लागि विस्तार गर्दै र अङ्गालोमा नल्याइकन पूरा हुन सक्दैन। यो देश हामी र हामी सबैको हो – हरेक समूह र हरेक समुदाय, हरेक क्षेत्र र हरेक पहिचानका मानिसहरूका लागि हो। यो हरेक नागरिक र हरेक व्यक्तिको हो। भारतको बहुलवाद यसको महानतम शक्ति हो र यो विश्वको लागि एक महान उदाहरण हो। भारतीय मोडेल विविधता, लोकतन्त्र र विकासको त्रिपाईमा अडेको छ। हामीले एकलाई छोडेर अर्कोलाई रोज्न सक्दैनौँ, हामीलाई त्रिपाई नै चाहिन्छ र त्रिपाई नै लिनेछौँ।

भारतमा सामाजिक परिवर्तनको सर्वोत्तम सङ्केतक लिङ्ग समानताको दिशामा परिवर्तन र हरेक बालिका र हरेक महिलालाई समानाताको शर्तमा समान अवसरहरू प्रदान गर्ने दिशामा परिवर्तन हो। मेरो अनुभवमा अवसर उपलब्ध गराइएको खण्डमा कक्षामा हाम्री छोरीहरूले हाम्रा छोराहरूको बराबरी मात्रै होइन तिनलाई उछिन्ने क्षमता राख्छन्। हाम्रो देशकी युवा महिलाहरू शिक्षादेखि लिएर रचनात्मक कला, खेलकुददेखि लिएर सशस्त्र सेनासम्म हरेक क्षेत्रमा अगाडि बढिरहेका छन्। यो प्रक्रियामा न कुनै बाधा छ न कुनै हिचकिचाहट। यही भारतको भविष्यको मार्ग हो।

देशवासीहरू,

हाम्रो गणतन्त्रले लामो यात्रा गरेको छ र कसरी एकपछि अर्को पिढीले हामीलाई यहाँसम्म ल्याएको हो भन्ने कुराको हामीले कदर गर्नु पर्दछ। समान रूपले, हामीले हाम्रो यात्रा अझ समाप्त भएको छैन भन्ने कुरालाई पनि स्वीकार्नु पर्दछ। अझ पनि तर्नु पर्ने समुद्र छ, भर्नु पर्ने फाटो छ र पुछ्नु पर्ने आँसु छ। हामीले उपलब्धी र सफलताको मापदण्डलाई मात्राबाट गुणात्मकता, साक्षर समाजबाट ज्ञानशील समाज, सबै वर्ग र सबै समुदायको लागि ठाउँ रहेको एक राष्ट्रबाट हरेक व्यक्ति, प्रत्येक छोरी र प्रत्येक छोरामा रहेको अनौठा गुण एवम् क्षमतालाई सकार्ने, प्रोत्साहित गर्ने र उत्सव मनाउने एक परिवारको रूपमा पुनर्निर्धारित गर्नु पर्दछ।

महात्मा गान्धीले आफ्नो पुस्तक “मेरो सपनाको भारत”-मा एक यस्तो भारतको बारेमा लेख्नुभएको छ जहाँ गरिबभन्दा गरिबको एक “प्रभावकारी आवाज” हुनेछ, जहाँ कुनै “उच्च वर्ग र निम्न वर्ग” हुने छैन, जहाँ “सबै समुदायहरू पूर्ण सौहार्दताका साथ बस्नेछन्”, र जहाँ “महिलाहरूलाई पुरुषहरू समान अधिकारहरू” प्राप्त हुनेछन्। यी आदर्शहरू एक यस्तो भारतको निरन्तर सम्झौटो हो  जो हामीले निर्माण गरिरहेका छौँ। यस सन्दर्भमा, गरिब परिवारहरूका मेधवी बच्चाहरूलाई विशेष सुविधाहरू दिन हालै संविधानमा गरिएको संशोधन हाम्रो सपनाको भारत – र गान्धीजीको सपनाको भारतको दिशामा एक अर्को पाइलो हो।

मानव अनुभव साझेदारीले निर्मित हुन्छ। घरमा साझेदारीले परिवारको निर्माण हुन्छ। काममा साझेदारीले कारोबारको निर्माण हुन्छ। विभिन्न हितधारकहरूको साझेदारीले समाजको निर्माण हुन्छ। सरकार र मानिसहरूको साझेदारीले हाम्रो राष्ट्रको निर्माण हुन्छ। अनि राष्ट्रहरूको साझेदारीले एउटा असल विश्वको निर्माण हुन्छ। यसप्रकारले साझेदारी परिवार, राष्ट्र र विश्वलाई बुन्ने धागा हुन् जसले विश्वलाई एउटा परिवारको रूपमा गाँस्दछ – वसुधैव कुटुम्बकम।

खुल्ला संवाद, इमान्दार कुराकानी र निर्मल करूणाद्वारा साझेदारी बढ्दछ। यो हाम्रो परिवारका सदस्यहरूमाथि पनि लागू हुन्छ। यो ऐतिहासिक रूपले वञ्चित रहेका समूह वा वर्गहरूका लागि पनि सत्य हो  र उनीहरूका दुखेसोहरूलाई निरन्तर सुनिनु र सम्बोधित गरिनुपर्छ। यस्तो गर्नु सुविधाजनक नभएता पनि यस्ता संवादहरूका लागि मार्गहरू खोज्नु जरूरी छ। तीव्र गतिमा परिवर्तित भइरहेको समाजमा यस्ता संवादका लागि हामी तयार रहनु जरूरी छ। र यसैप्रकार उदाहरणका लागि, हामीले हामीभन्दा कम सुविधाप्राप्त र भिन्न रूपले सक्षम व्यक्तिहरूप्रति सहानुभूतिको खाँचोका लागि आफैलाई तत्पर राख्नु जरुरी छ।

हाम्रो समाजले जनताको कल्याणमा आफैलाई समर्पित  गर्ने र कर्तव्य भन्दा अगाडि बढेर काम गर्ने व्यक्ति  वा संस्थानहरूप्रति ठूलो सम्मान देखाएको छ। सेवाको विचार, लोक सेवाप्रति समर्पणको भावना र न्यायको दायरालाई विस्तारित गरिनु अत्यन्तै जरुरी छ। व्यक्ति, मानिसहरूको समूह, सार्वजनिक वा निजी संस्थानहरू, समग्र समाज वा यस दृष्टिले सरकारका सदाशयपूर्ण योगदानहरूलाई  सकार्नु पर्दछ  र कदर गरिनु पर्दछ।

यी सबै देशमा साथै विदेशमा हाम्रो लागि मार्ग निर्देशक सिद्धान्तहरू हुन्। यी यस्ता मार्ग निर्देशक  सिद्धान्तहरू हुन् जसले भारतको वैश्विक दृष्टिकोणलाई आकार दिएको छ, चाहे त्यो शान्ति रक्षणमा होस्, जलवायु परिवर्तनको संकटलाई कम पार्नमा होस्,  विकास साझेदारी, वा मानवीय सहायता र आपदा राहतमा किन नहोस्। यी सबैबाट भारतलाई अन्तर्राष्ट्रिय प्रणालीमा एउटा नयाँ सम्मान प्राप्त भएको छ ।

यी ती सिद्धान्तहरू हुन् जो हाम्रो गणतन्त्रको जग हुन् भन्ने कुरामा म जोड दिन्छु। हाम्रो गणतन्त्रको परिकल्पना हो – लोकतान्त्रिक माध्यमद्वारा लोकतान्त्रिक लक्ष्यमा पुग्नु, बहुलवादी माध्यमद्वारा बहुलवादी लक्ष्यमा पुग्नु, प्रबुद्ध माध्यमद्वारा प्रबुद्ध लक्ष्य हासिल गर्नु, समावेशी माध्यमद्वारा समावेशी लक्ष्य प्राप्त गर्नु, करूणाको माध्यमले करुणामयी लक्ष्य हासिल गर्नु र संवैधानिक माध्यमद्वारा संवैधानिक लक्ष्य हासिल गर्नु।

यी सिद्धान्तहरूले सदैव हाम्रो मार्गलाई उज्यालो पारून्। आखिर, “हामी, जनताले…” हामी स्वयंलाई यो संविधान दिएका हौँ र “हामी, जनता…” नै यसका सिद्धान्तहरूका संरक्षक र धारकहरू हौँ।

यी शब्दहरूका साथ म फेरि पनि तपाईंहरू सबैलाई एक सुखद गणतन्त्र दिवसको शुभकामना दिन्छु।

जय हिन्द