भारत-बाङ्गलादेश सम्बन्धहरू वृद्धिको दिशामा

आलेखः दीपङ्कर चक्रवर्ती, संवाददाता, द स्टेट्सम्यान

बाङ्गलादेशका प्रधान मन्त्री शेख हसिना वाजेदको आगामी महिना हुनु निश्चित भारत यात्राबाट धेरै कुरोहरूको अपेक्षा राखिएको छ। भारत अनि बाङ्गलादेशले कैयौं महत्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर गर्ने आशा छ। भारतका प्रधान मन्त्री नरेन्द्र मोदीको ऐतिहासिक ढाका यात्राको लगभग दुई वर्ष पश्चात् बाङ्गलादेशको तर्फबाट यो उच्च स्तरीय यात्रा भइरहेको अनि नयाँ दिल्ली र ढाका, दुवैले यस अवसरको उपयोग उनीहरू बीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउनको लागि गर्नुपर्छ। भारतको बाङ्गलादेशसित 4351 किलोमीटर लामो सीमाना छ, जो भारतका पाँच राज्यहरू भएर गुजरिन्छ अनि ती राज्यहरू हुन्, पश्चिम बङ्गाल, असम, मेघालय, त्रिपुरा अनि मिजोरम। यसबाहेक, यी दुई मुलुकहरू बीच 781 किलोमीटर लामो नदी तटको सीमाना पनि छ।

सन् 2015-को श्री मोदीको बाङ्गलादेश यात्रालाई एक नयाँ सुरूवात मान्न सकिन्छ किनभने त्यस यात्राको बेलामा भारत र बाङ्गलादेश बीच भू-भागहरूको साटासाट सम्बन्धी सम्झौता भएको थियो। यो सम्झौता अधीन भारतीयहरू बसोबास गरिरहेका बाङ्गलादेशमा पर्ने भू-भागहरू भारतलाई फर्काइयो अनि बाङ्गलादेशीहरू बसोबास गरिरहेका तर भारतमा पर्ने भू-भागहरू बाङ्गलादेशलाई फर्काइयो। यो एक यस्तो समस्या थियो जो धेरै समयदेखि थाँतीमा रहेको थियो।

केही समयपूर्व ढाका अनि नयाँ दिल्लीले रक्षा क्षेत्रमा सँगै मिलेर काम गर्ने इच्छा जाहेर गरेका थिए। पोहोर भारतका तत्कालीन रक्षा मन्त्री मनोहर पर्रिकरले बाङ्गलादेशको यात्रा गर्नुभएको थियो। यस यात्राको बेलामा रक्षा क्षेत्रमा सहयोग अनि सामरिक मुद्दाहरूको बारेमा विस्तृत चर्चा भएको थियो। गत महिना भारतले बाङ्गलादेशी बलहरूलाई भारतीय भू-भागहरूको उपयोग गर्ने अनुमति दिएको थियो किनभने उनीहरू चटगाँउको कठिन पर्वतीय भागमा जान चाहन्थे। यसलाई भारत-बाङ्गलादेश सम्बन्धको नयाँ अध्याय मान्न सकिन्छ।

भारत र बाङ्गलादेश बीचको सम्बन्ध धेरै पुरानो हो अनि यसको ठूलो पारम्परिक महत्व छ। सन् 1952-मा ‘बाङ्गला’ भाषालाई तत्कालीन पूर्व पाकिस्तानको भाषाको रूपमा स्थापित गरेदेखि नै भारतले बाङ्गलादेशको स्वतन्त्रतामा ठूलो भूमिका खेल्दै आएको छ। बाङ्गलादेशका संस्थापक जनक शेख मुजीबुर रहमान भारतको भरोसायोग्यको मित्र थिए। वास्तवमा, शेख मुजीबुर भर्खरै स्वतन्त्रता प्राप्त गरेको बाङ्गलादेशमा भारतीय शैलीको लोकतन्त्र चाहन्थे। अहिले बाङ्गलादेशमा लोकतन्त्रले गहिरो जरो गाडेको अनि वर्तमानमा यो देशलाई दक्षिण एशियाका अधिक स्थिर लोकतन्त्रहरूमध्ये एक मानिन्छ।

यद्यपि, बाङ्गलादेशमा कट्टरवादी साथै धर्मान्धवादी तत्वहरू बढ्दै गएको साथै म्याँमारबाट रोहिङ्ग्याहरूको बाङ्गलादेश आगमनले गर्दा क्षेत्रको सुरक्षालाई लिएर चिन्ता उत्पन्न भएको छ। ढाकाले यी कट्टरवादी तत्वहरू विरूद्ध कडा कार्यवाहीहरू गरिरहेको छ। तर, पोहोर जुलाईमा ढाकाको एक रेस्तोराँमा गरिएको आतङ्की हमलाले कुन कुरोको पुष्टि गऱ्यो भने यस्ता कट्टरवादी एवम् धर्मान्धवादी दुष्प्रचारले बाङ्गलादेशको समाजलाई पनि प्रभावित पारेको छ। यसले अधिकारीहरूसमक्ष गम्भीर चुनौती उत्पन्न गरेको छ। ब्लगरहरू, धर्म निरपेक्षवादीहरू, ईश्वर नमान्नेहरू वा धार्मिक कट्टरता स्वीकार नगर्ने अन्य समूहहरूमाथि यी धर्मान्धवादी तत्वहरूले हिंसाको मार्ग अपनाएका छन्। धर्मान्धवादलाई शिर उठाउन नदिनको लागि ढाकाले उसको सम्पूर्ण ध्यान लगाउनुपर्नेछ।

पाकिस्तानको नियन्त्रणमा रहेका क्षेत्रहरूबाट आतङ्की मोड्यूलहरूलाई सखाप पार्नको लागि पोहोर 29 सेप्टेम्बरमा भारतले ‘सर्जिकल स्ट्राइक’ अर्थात् अचूक प्रहार गरेको थियो अनि बाङ्गलादेशले यसको समर्थन गरेको थियो। इस्लामाबादले भारतमा आतङ्की कृत्यहरू सञ्चालित गरिरहेका आतङ्की गुटहरूलाई समर्थन गरेको विरोधमा भारतले पाकिस्तानमा हुनु निश्चित 19औं सार्क सम्मेलनमा नजाने फैसला गरेपछि बाङ्गलादेशले पनि सम्मेलनलाई रद्द गर्ने माग गरेको थियो। वास्तवमा भन्नु हो भने, बाङ्गलादेशमा गडबडी फैलाउनमा इस्लामाबादको भूमिकालाई लिएर बाङ्गलादेशका धेरै वृत्तहरूमा चिन्ता पनि व्यक्त गरिएको छ।

शेख हसिनाको नयाँ दिल्ली यात्राले भारत अनि बाङ्गलादेश बीच व्याप्त मैत्रीपूर्ण एवम् सहयोगात्मक सम्बन्धमा अझ विस्तार ल्याउने आशा छ। भारतको परराष्ट्र विषयक मन्त्रालयद्वारा जारी एक बयानमा भनिएको छ, यो यात्राले दुई देशहरूका नेताहरू बीच मैत्री एवम् भरोसाको एक सशक्त्त सम्बन्धको निर्माण गर्नेछ। यसभन्दा पहिले बाङ्गलादेशका प्रधान मन्त्रीले सन् 2010-को जनवरी महिनामा भारतको यात्रा गर्नुभएको थियो।

परराष्ट्र विषयक भारतका केन्द्रीय राज्य मन्त्री एम जे अकबरले डिसम्बर, सन् 2016-मा ढाकाको यात्रा गर्नुभएको थियो अनि अधिकारीहरू अनुसार यस वर्ष प्रधान मन्त्रीले बाङ्गलादेशको यात्रा गर्नुहुने सम्भावना छ। श्री अकबरले भन्नुभयो- भारत सरकार अनि भारतका जनताले उत्सुकताका साथ शेख हसिनाको भारत यात्राको प्रतीक्षा गरिरहेका छन्। अक्टुबर, सन् 2016-मा गोवामा आयोजित ब्रिक्स-बिम्सटेक आउटरीच बैठकको छेक पारेर शेख हसिना अनि प्रधान मन्त्री मोदीले द्विपक्षीय बैठक गर्नुभएको थियो।

श्री मोदीले एक विकसित दक्षिण एशियाको सिर्जना निम्ति सबै छिमेकी मुलुकहरूलाई गरीबी, कुपोषण अनि रोग जस्ता अनिष्टहरू विरूद्ध एकजुट भएर लड्ने आह्वान गर्नुभएको छ। भारत र बाङ्गलादेशले यस्ता मुद्दाहरूमाथि ध्यान केन्द्रित गर्नुपर्नेछ अनि तब मात्रै सम्पूर्ण क्षेत्रको विकास सम्भव छ। सहयोगको एक क्षेत्र हो, ‘नील अर्थव्यवस्था’ अर्थात् समुद्रसित सम्बद्ध अर्थव्यवस्था। भारत अनि बाङ्गलादेश, दुवै समुद्री संसाधनको दृष्टिले समृद्ध छन्। यी संसाधनहरूको उपयोग, मानिसहरूको जीवन स्तरमा सुधार ल्याउनको लागि गर्नुपर्छ। भारत र बाङ्गलादेश बीच सदिच्छा र सद्भावना व्याप्त रहेको हुनाले यी दुई बीचको सम्बन्ध वृद्धितर्फ लम्किनको लागि तम्तयार छ।