संसद समीक्षा

आलेखः निरेन्द्र नारायण देव, वरिष्ठ पत्रकार

संसदको बजेट सत्रमा समीक्षाधीन सातामा लोकसभाले रेलवे निम्ति अनुदानहरूसम्बन्धी मागलाई पारित गऱ्यो जसलाई एक महत्त्वपूर्ण कार्य मान्न सकिन्छ। बहसको जवाफ दिनुहुँदै रेल मन्त्री, सुरेश प्रभुले के भन्नुभयो भने, रेलवेको स्वायत्ततालाई लिएर कुनै सम्झौता गरिनेछैन। उहाँले यो दाबी गर्नुभयो कि रेल बजेटलाई सामान्य बजेटसित विलय गराइएको परिणामस्वरूप पैसाको बचत हुनेछ, जुन पैसाको उपयोग सेवा एवम् मुलभूत संरचनामा सुधार निम्ति गर्न सकिन्छ। मन्त्री महोदयले भन्नुभयो, रेलवेले 3,50,000 करोड रुपियाँको लगानीसित सम्बद्ध प्रक्रियाहरूलाई सुरू गरिसकेको छ। कतिपय सदस्यहरूले राजधानी तथा अन्य रेलहरूको लागि परिवर्तनशील किराया प्रणाली सुरू गर्ने घोषणाको चर्चा गर्दै यसबारे पुनः विचार गर्ने माग गरे। लोकसभामा रक्षा एवम् कृषि मन्त्रालयहरू निम्ति अनुदानका मागहरूबारे पनि चर्चा गरियो।

रक्षा मन्त्रालय निम्ति अनुदानको मागलाई लिएर बहस सुरू गर्नुहुँदै भारतीय जनता पार्टीका सदस्य आर.के.सिंहले भन्नुभयो, पाकिस्तान स्थित आतङ्कीहरूको अड्डामा गरिएको सर्जिकल स्ट्राइक अर्ताथ् अचूक प्रहारले पाकिस्तान अनि बाँकी विश्वलाई यो स्पष्ट सङ्केत दिएको छ कि जब प्रश्न राष्ट्रिय सुरक्षाको हुन्छ तब यो सरकार चुप लागेर बस्न सक्दैन। बहसको बेलामा सदस्यहरूले भूतपूर्व रक्षा मन्त्री मनोहर पर्रिकर साथै उहाँका उपलब्धिहरूको उल्लेख, धेरैपल्ट गरे। श्री पर्रिकरले हालमा गोवाको मुख्य मन्त्रीको पदभार सम्हाल्नुभएको छ।

बिजु जनता दलका सदस्य पिनाकी मिश्रले के भन्नुभयो भने, श्री पर्रिकरले वर्षौंदेखि रक्षा क्षेत्रमा त्यसै थाँतीमा रहेको रकमलाई लिएर एक कोषको स्थापना गर्ने प्रस्ताव राख्नुभएको थियो, जो एक ‘अति उत्तम सुझाउ’ हो। संसदीय मामिला मन्त्री, अनन्त कुमारले पनि सर्जिकल स्ट्राइक अर्थात् अचूक प्रहारबारे चर्चा गर्नुभयो अनि भन्नुभयो, यसको श्रेय संघर्ष गर्ने सैनिकहरू र प्रधान मन्त्री मोदीका साथ भूतपूर्व रक्षा मन्त्री पर्रिकरलाई पनि जान्छ किनभने यसको सबै योजनाहरू उहाँले नै तयार पार्नुभएको थियो। कृषि मन्त्रालय निम्ति अनुदानहरूको मागबारे चलेको बहसमा एक प्रश्नको जवाफ दिनुहुँदै केन्द्रीय कृषि मन्त्री, राधामोहन सिंहले भन्नुभयो, सन् 2022-सम्म किसानहरूको आयलाई दोब्बर पार्नको लागि सरकार प्रतिबद्ध छ। यद्यपि, आर.एस.पी. सांसद, एस.के.प्रेमचन्द्रन लगायत कतिपय अन्य सदस्यहरूले सरकारले यसको लागि एक मार्गदर्शिका तयार पार्नुपर्छ भन्ने माग गरे।

हालसालै सम्पन्न विधानसभा चुनाउहरूमा भारतीय जनता पार्टीको विजयलाई सुनिश्चित गर्नमा सर्वाधिक महत्त्वपूर्ण भूमिका खेल्ने प्रधान मन्त्री मोदी, संसदका दुवै सदनहरूमा जानुभयो, जहाँ सदस्यहरूले मेज थपथपाउँदै साथै उत्साहले भरिएका नाराहरू लगाउँदै उहाँको स्वागत गरे। 11 मार्चमा विधानसभा चुनाउहरूका परिणामहरूको घोषणा गरिएको थियो।

परराष्ट्र मामिला विषयक मन्त्री, सुषमा स्वराज केही अस्वस्थ रहनुभएको भए तापनि, उहाँ संसदका दुवै सदनहरूका कार्यवाहीहरूमा उपस्थित हुनुभयो। लोकसभामा धेरै समय पश्चात् दिनुभएको आफ्नो प्रथम बयानमा श्रीमती स्वराजले भन्नुभयो, विदेश, विशेष गरी, संयुक्त राज्य अमेरिकामा बसोबासो गरिरहेका प्रवासी भारतीयहरूका हितहरूको सुरक्षा निम्ति सरकारले यथाःसम्भव प्रयास गर्नेछ अनि सरकार यस मामिलालाई लिएर ‘सतर्क’ रहनेछ। उहाँले भन्नुभयो, संयुक्त राज्य अमेरिकामा भारतीयहरू विरूद्ध गरिएको आक्रमणका फाटफुट घटनाहरूले त्यस देशका नागरिकहरूको सामूहिक भावनालाई प्रतिबिम्बित गर्दैनन्। परराष्ट्र मन्त्रीले भन्नुभयो, मछुवाहरूको सुरक्षाको मामिलाको सम्बन्धमा एक स्थायी समाधान खोज्नको लागि भारतले स्रीलङ्काली सरकारसित मिलेर काम गरिरहेछ। राज्यसभामा दिनुभएको एक अर्को बयानमा श्रीमती स्वराजले भन्नुभयो, पाकिस्तानमा थुनामा राखिएका मछुवाहरूको सुरक्षित रिहाइ निम्ति सरकारले प्रयास गरिरहेको छ। विशेष गरी, राज्यसभामा गोवा र मणिपुरको राजनीतिलाई लिएर निकै हो-हल्ला भयो। कंग्रेस पार्टीका सदस्यहरूले भारतीय जनता पार्टीमाथि गोवा र मणिपुरमा ‘लोकतन्त्रको हत्या’ गरेको आरोप लगाए अनि यसको कारणले गर्दा सदनलाई अलिकता कामकाज पश्चात् तीनपल्ट स्थगित गर्नुपऱ्यो।

लोकसभामा उत्तर प्रदेश विधानसभा चुनाउहरूमा मानिसहरूले दिएका लगभग ऐतिहासिक निर्णयको गुञ्जन पनि सुनियो। समाजवादी पार्टीका सांसद धर्मेन्द्र यादवले भन्नुभयो, ‘‘हामी हाम्रो पराजयलाई स्वीकार त गर्छौं तर सत्य बोल्नको लागि हामी हिचकिचाउने छैनौं’’। स्वास्थ्य मन्त्री, जे.पी.नड्डाले ‘नयाँ स्वास्थ्य नीति 2017’-को विस्तृत विवरण दिनुहुँदै भन्नुभयो कि सरकारले सन् 2018-को अन्तसम्ममा कुष्ट रोग अनि काल-ज्वरको पूर्ण उन्मूलन गर्ने महत्त्वाकांक्षी लक्ष्य निर्धारित गरेको छ। उहाँले अगाडि भन्नुभयो, नयाँ राष्ट्रिय स्वास्थ्य नीति अधीन स्वास्थ्य सेवा एवम् योग निम्ति सकल घरायशी उत्पादको लगभग 2.5 प्रतिशत रकम आबन्टित गरिनेछ। राष्ट्रिय स्वास्थ्य नीति अन्तर्गत धेरै महत्त्वपूर्ण लक्ष्यहरू निर्धारित गरिएका छन्।

गृह मन्त्री राजनाथ सिंहले भन्नुभयो, वाम चरमपन्थीहरूको अनिष्टलाई रोक्नको लागि सरकारले एउटै प्रयास पनि बाँकी राख्नेछैन। सुक्मामा 11 मार्चमा घात लगाएर गरिएको आक्रमणमा सी.आर.पी.एफ-का 12 जवानहरू शहीद भएका थिए। यसबारे लोकसभामा बयान दिनुहुँदै गृह मन्त्रीले भन्नुभयो, यस्ता आक्रमणहरूले वाम चरमपन्थी गुटहरूमा बढ्दै गइरहेको हताश र निराशाको परिचय दिन्छन्।