मणिपुरमा पाँच महिना लामो आर्थिक नाकाबन्दी समाप्त

मणिपुरमा संयुक्त नगा परिषद, यूएनसी-द्वारा दुइ राष्ट्रिय राजमार्गहरूमा लगभग पाँच महिनादेखि लगाइएको आर्थिक नाकाबन्दी गए रातिदेखि समाप्त भएको छ।

केन्द्र, राज्यमा भारतीय जनता पार्टीको नयाँ सरकार र यूएनसी-का प्रतिनिधिहरूबीच हिजो सेनापति जिल्ला मूख्यालयमा त्रिपक्षीय बैठक सफल भएपछि आर्थिक नाकाबन्दी समाप्त भएको हो।

अब राज्य सरकार विना कुनै शर्त यूएनसी-का नेताहरूलाई रिहा गर्न र विद्यार्थी नेताहरूसहित नगा नेताहरू विरूद्ध लगाइएको आर्थिक नाकाबन्दीसित सम्बद्ध सबै मामिलाहरू बन्द गर्न सहमत भएको छ। सबै पक्ष आगामी एक महिनाभित्र अर्को त्रिपक्षिय बैठक गर्न पनि सहमत भएका छन्। यस घटनाक्रमको स्वागत गर्दै राज्यपाल नजमा हेप्तुल्लाले भन्नुभयो, नाकाबन्दी समाप्त गरिनुले पूर्वोत्तर क्षेत्रमा शान्ति र समृद्धि ल्याउनेछ।

मुख्यमन्त्री एन बिरेन सिंहले भन्नुभयो, नाकाबन्दी समाप्त गरिनु सुरुवात मात्र हो र प्रधान मन्त्री नरेन्द्र मोदीले राज्यका जनतालाई दिनुभएको वाचा पूरा गर्ने प्रयास उहाँको सरकारले गरिरहेको छ।