इसरोको सफलताको नयाँ गाथा

आलेखः अभय, पत्रकार

गत महिना भारतले एक नयाँ कीर्तिमान स्थापित गरेको थियो। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन, इसरोले आश्चर्यजनक ढङ्गमा 104 उपग्रहहरुलाई कक्षमा स्थापित गरेको थियो। उल्लेखनीय छ, सन् 2014- मा एक रसियाली रकेटले 37 उपग्रहहरुलाई कक्षमा स्थापित गरेको थियो अनि यो कीर्तिमानलाई इसरोले तोडेको थियो। इसरोको उपलब्धि उल्लेखनीय थियो अनि यो भारतीय अन्तरिक्ष समुदाय साथै समग्र मुलुकको लागि एक गौरवशाली क्षण थियो। यो अपार सफलतामा हर्ष व्यक्त गर्नुहुँदै प्रधान मन्त्री नरेन्द्र मोदीले भन्नुभएको थियो, “हाम्रा वैज्ञानिकहरुलाई समग्र देशले नमन गर्दछ।” विशाल संख्यामा उपग्रहहरुलाई कक्षमा स्थापित गर्नु यसकारण सम्भव भएको थियो किनभने एकलाई छोडेर अन्य सबै उपग्रहहरु नेनोस्याट अर्थात् औधी साना उपग्रहहरु थिए जसको जम्मा तौल 10 किलोग्राम अर्थात् लगभग 20 पाउण्ड थियो। यीमध्ये अधिकांश उपग्रहहरु संयुक्त राज्य अमेरिकाका थिए, दुइ उपग्रहहरु भारतका तथा कजाखस्तान, इजरायल, नीदरल्याण्ड्स, स्विट्जरल्याण्ड र संयुक्त अरब एमिरातका एक-एक उपग्रहहरु थिए। भारतको इसरोले पठाएको एकमात्र गैर-नेनो उपग्रहको तौल 1500 पाउण्डभन्दा अधिक थियो। यसको डिजाइन, एप्लिकेशनहरु खुट्टयाउन साथै यिनीहरुको चित्रण निम्ति गरिएको थियो।

निःसन्देह, यो एक महान उपलब्धि थियो। इन्जिनीयरहरुले कक्षको शत प्रतिशत सही हिसाब लगाएर उपग्रहहरुलाई अति नै सतर्कताका साथ कक्षमा स्थापित गर्नु थियो। त्यहाँ कुनैप्रकारको ठक्कर भएन अनि अभियान सफल भयो। इसरोको लागि उत्कृष्ट इन्जिनीयरिङ्ग निम्ति अन्तर्राष्ट्रिय स्तरमा प्रसिद्धि हासिल गरेको यो प्रथम अवसर थिएन। सन् 2014 –मा इसरोले मार्स अर्बिटर मिशन नामक एक अन्तरिक्ष वाहनलाई मंगल अर्थात् रातो ग्रहको परिक्रमा गर्न एक निर्धारित कक्षमा स्थापित गर्ने एक अति नै गाह्रो काममा सफलता हासिल गरेको थियो। भारत यस्तो गर्ने चौथो देश हो अनि यस्तो सफलता हासिल गर्ने अन्य तीन देशहरु हुन्, संयुक्त राज्य अमेरिका, रसिया अनि यूरोपेली अन्तरिक्ष एजेन्सी। यहाँ कुन कुरो उल्लेखनीय छ भने, आफ्नो प्रथम प्रयासमा नै यस्तो सफलता हासिल गर्ने भारत एकमात्र देश हो। यसभन्दा बढी, इसरोको लागि यो कुनै वैज्ञानिक लगानी नभएर प्रविधिको प्रदर्शन थियो किनभने रिपोर्टअनुसार यो सम्पूर्ण अभियानमा केवल 7 करोड 30 लाख डलरको खर्च लागेको थियो। यसको विपरीत, अमेरिकाली अन्तरिक्ष एजेन्सी, नासाको सन् 2013 –मा मंगल ग्रहको परिक्रमा निम्ति ‘माभेन’ नामक अन्तरिक्ष वाहनलाई परिक्रमा पथमा स्थापित गर्ने अभियानमा जम्मा 67 करोड 10 लाख डलर खर्च  भएको थियो। यस वाहनमा अत्याधुनिक वैज्ञानिक उपकरणहरु जडान गरिएको थियो।

हालमा पनि इसरोको धेरै चर्चा भइरहेको छ। भारत सरकारले वर्षैपिच्छे इसरोको लागि बजेटमा वृद्धि गर्दै आएको छ। इसरोले चन्द्रमामा परिक्रमा गर्ने साथै त्यहाँ उत्रिएर खोजबिन गर्ने वाहन पठाउने साथै मंगल ग्रहमा एक अर्को अन्तरिक्ष वाहन पठाउने योजना तयार गरिरहेछ। सन् 2008 –मा इसरोले चन्द्रमामा परिक्रमा गर्ने प्रथम अन्तरिक्ष वाहन पठाएको थियो। इसरोले शुक्र ग्रहमा पनि एक अन्तरिक्ष वाहन पठाउनेबारे सोचिरहेको छ। यो अन्तरिक्ष वाहनले शुक्रको परिक्रमा गर्दै त्यहाँको तातो साथै बादलले भरिएको वातावरणको अध्ययन गर्नेछ। यीसबको बीच, इसरोको निकट भविष्यको कार्यक्रम अति नै व्यस्त छ। 104 उपग्रहहरुलाई परिक्रमा पथमा स्थापित गर्ने इसरोको भरोसायोग्य ध्रुवीय उपग्रह प्रक्षेपण वाहन, पी. एस. एल. भी. –बाट निकट भविष्यमा धेरै उपग्रहहरुको प्रक्षेपणको कार्यक्रम छ। सन् 2008 –मा इसरोले पी. एस. एल. भी. – को केवल दुइपल्ट प्रक्षेपण गरेको थियो अनि सन् 2016- मा छःपल्ट। सन् 2020- सम्ममा इसरोको प्रतिवर्ष 12 -देखि 18 प्रक्षेपणको लक्ष्य हासिल गर्ने कार्यक्रम छ। यसरी चित्रण एवम् सञ्चार जस्ता महत्त्वपूर्ण कार्यहरु निम्ति इसरोले अधिक उपग्रहहरुलाई पृथ्वीको परिक्रमाको लागि प्रक्षेपित गर्न सक्छ।

पहिले-पहिलेको समयमा इसरोका लक्ष्यहरु संयुक्त राज्य अमेरिका र तत्कालीन सोवियत संघका लक्ष्यहरुभन्दा उल्लेखनीय रुपमा भिन्ना-भिन्नै हुनेगर्थे। उनीहरुले मानवको अन्तरिक्ष अन्वेषणमाथि ध्यान केन्द्रित गर्थे। यसको सट्टा, भारतको सम्पूर्ण ध्यान अन्न-बालीहरुको सर्वेक्षण, प्राकृतिक आपदाहरुद्वारा भएको नोक्सान अनि भूमिको कटान आदिको जानकारी हासिल गर्ने दिशामा आफ्नो क्षमता विकसित गर्नमाथि केन्द्रित थियो। भारतले सुदूर ग्रामीण क्षेत्रहरुमा दूरसञ्चार एवम् टेलि-औषधी पुऱ्याउनको लागि पनि उपग्रह सञ्चारको उपयोग गर्थ्यो।

इसरोका संस्थापक विक्रम साराभाइले भारत जस्तो विकासोन्मुख राष्ट्रको लागि अन्तरिक्ष ज्ञानको खाँचोमाथि बल दिनुभएको थियो। उहाँले भन्नुभएको थियो, “आर्थिक रुपले सम्पन्न राष्ट्रहरुले जस्तै चन्द्रमा वा अन्य ग्रहहरुको अन्वेषण गर्ने वा अन्तरिक्षमा मानवहरुलाई पठाउने अभियानहरु हाम्रो लागि अनुकुल हुनेछैन, तर यदि हामीले राष्ट्रिय अथवा राष्ट्रहरुको समूहको स्तरमा अर्थपूर्ण भूमिका खेल्ने हो भने मानव र समाजका वास्तविक समस्याहरुको समाधान निम्ति अत्याधुनिक प्रविधिहरुको उपयोग गर्ने दिशामा हामी कसैभन्दा कम्ती हुनु हुँदैन।”

इसरोले उसका रकेटहरुको क्षमतामा वृद्धि गर्ने दिशामा काम गरिरहेको छ। पी. एस. एल. भी.- द्वारा मंगल ग्रहमा परिक्रमा निम्ति प्रक्षेपित वाहनको कुरा गर्नु हो भने, यो वाहन, आफ्नै बुतामा पृथ्वीको अतिरिक्त परिक्रमा गर्दै, त्यो उचाइँमा पुग्नुपरेको थियो जहाँबाट यो पृथ्वीको गुरुत्वाकर्षणबाट मुक्त भएर अन्तरिक्षमा पुग्नसकोस्। यो समस्यालाई क्रायोजेनिक इन्जिनले हल गर्न सक्छ। 104 उपग्रहहरुको सफल प्रक्षेपणका केही दिनहरु पश्चात् इसरोले नयाँ क्रायोजेनिक इन्जिनको भूमिमा गरिने अन्तिम जाँच पूरा गऱ्यो। यो इन्जिनमा ईंधनको तापमानलाई अति नै कम्ती पारिन्छ जसको परिणामस्वरुप, रकेटलाई अधिक ऊर्जा हासिल हुन्छ।

क्रायोजेनिक इन्जिनले सौर मण्डलको अन्वेषणमा भारतलाई निःसन्देह मद्दत पुऱ्याउनेछ। यसबाहेक, यसले देशलाई आफ्नै उपग्रह कार्यक्रम बनाउनमा पनि मद्दत गर्नेछ। इसरोका एकजना अधिकारीअनुसार वर्तमानमा टेलिभिजन प्रसारण, दूर-सञ्चार, देशको सुरक्षा, शहरी योजनाको निर्माण, भू-सम्पत्ति साथै भूमि प्रबन्धन आदि, आदिमा उपग्रहहरुको उपयोग गरिन्छ। उहाँका शब्दहरुमा, “भारत जस्तो उपमहाद्वीप निम्ति पृथ्वीको सर्वेक्षण, दूर-सञ्चार साथै दिशा निर्देश निम्ति अन्तरिक्षमा उपग्रहहरुलाई स्थापित गर्नु एक आवश्यकता हो, कुनै मोजमज्जा होइन।”