भारत एक प्रमुख सामरिक सहभागी हो भनी संयुक्त राज्य अमेरिकाले फेरि भन्यो

 

आलेखः डक्टर स्तुती ब्यानर्जी, रिसर्च फेलो, आई.सी.डब्ल्यू.ए

संयुक्त राज्य अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार लेफ्टिनेन्ट जेनरल (सेवा निवृत्त) एच.आर.मेकमास्टरले उहाँका भारतीय समकक्षी अजित डोभालसित कुराकानी गर्नुभयो अनि प्रधान मन्त्री नरेन्द्र मोदीलाई भेट्नुभयो। उहाँले परराष्ट्र मन्त्री सुषमा स्वराज अनि परराष्ट्र सचिव एस.जयशंकरलाई पनि भेट्नुभयो। भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित कुमार डोभाल अनि परराष्ट्र सचिव एस.जयशंकरको संयुक्त राज्य अमेरिकाको यात्राको केही दिन पश्चात् नै जेनरल मेकमास्टरले भारतको यात्रा गर्नुभएको हो। मार्च महिनामा गरिएको यात्रामा श्री डोभाल अनि श्री जयशंकरले ट्रम्प प्रशासनका अधिकारीहरूलाई भेट्नुभएको थियो। यस यात्राको अन्तमा भारत अनि संयुक्त राज्य अमेरिकाले ‘‘आतङ्कीहरूको खतराको सबै स्वरूप एवम् प्रकारहरूको मुकाबिला निम्ति मिलेर’’ काम गर्ने सङ्कल्प दोहोराए अनि ‘‘परस्पर सरोकार एवम् साझा हितका’’ क्षेत्रहरूको अन्वेषण गर्ने निर्णय लिए। यसको उद्देश्य, दुइ मुलुकहरू बीचको ऐतिहासिक सम्बन्धको मजबुत आधारमाथि द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजानु हो। जेनरल मेकमास्टरको यात्रा जनवरी, सन् 2017-मा ट्रम्प प्रशासनले सत्ता सम्हाले पश्चात् संयुक्त राज्य अमेरिकाका कुनै उच्च अधिकारीको सर्वप्रथम भारत यात्रा हो।

भारत अनि संयुक्त राज्य अमेरिकाले द्विपक्षीय सम्बन्धहरूको बारेमा चर्चा गरे जसमा प्रमुख थियो, सुरक्षा सम्बन्धहरू अनि दक्षिण एशियाली क्षेत्रको स्थिति। श्री मेकमास्टरको यात्राले भारतलाई क्षेत्रसित सम्बद्ध राष्ट्रपति ट्रम्पका विचार एवम् धारणाहरू अनि उहाँका भावी नीतिहरूबारे बुझ्ने अवसर पनि प्रदान गऱ्यो।

भारत अनि संयुक्त राज्य अमेरिका सैन्य सर-सहयोगलाई बढाउने अनि आतङ्कवाद प्रतिरोधी अभियानहरूमा कामलाग्ने सूचना एवम् जानकारीहरूको आदान-प्रदान गर्ने कुरोमा सहमत भएका छन्। जारी गरिएको आधिकारिक विज्ञप्तिअनुसार, संयुक्त राज्य अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकारले अफगानिस्तानमा भावी सुरक्षा अभियानहरू, अफगानिस्तानमा भारतको भूमिका साथै भारत-पाकिस्तान गतिरोध अनि कुलभुषण जाधवलाई सुनाइएको मृत्युदण्ड जस्ता विषयरूबारे चर्चा गर्नुभयो। भारतले पाकिस्तानी भू-भागबाट आतङ्की गुट वा व्यक्तिहरूले देश विरूद्ध सञ्चालित गरेका आतङ्की कृत्यहरूका प्रमाणहरू पटक-पटक प्रस्तुत गरेको छ। संदिग्ध आतङ्कीहरू विरूद्ध जाँचमा पाकिस्तानी सुरक्षा एवम् जाँच एजेन्सीहरूको अति नै सुस्त गतिलाई लिएर भारतले धेरैपल्ट असन्तोष पनि व्यक्त गरिसकेको छ।

लेफ्टिनेन्ट जेनरल (सेवा निवृत्त) मेकमास्टर अफगानिस्तान र पाकिस्तानको यात्रा पश्चात् भारत आउनुभएको हुनाले आतङ्कवाद चर्चाको प्रमुख विषय थियो। संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा उसको सर्वाधिक विशाल ‘गैर-परमाणु बम’ खसालेको केही दिन पश्चात् नै श्री मेकमास्टरले भारतको यात्रा गर्नुभएको हो। अधिकारीहरूअनुसार बमको लक्ष्य, अफगानिस्तानको पूर्वमा स्थित पाकिस्तानको सीमानासित टाँस्सिएको सुदूर नङ्गडहर प्रान्तको अचिन नामक जिल्लामा आई.एस.-को गुफा र सुरुङ परिसर अनि आतङ्कीहरू थिए।

के मानिन्छ भने, श्री मेकमास्टरको अफगानिस्तान यात्राको उद्देश्य, घटनास्थलमा स्थितिको मूल्यमाङ्कन गर्नु तथा तालिबान साथै अन्य आतङ्की गुटहरू पुनः प्रकट भएकोले उनीहरू विरूद्ध मुकाबिला निम्ति संयुक्त राज्य अमेरिकाले थप सेना पठाउने आवश्यकता छ वा छैन, त्यसको मूल्याङ्कन गर्नु हो। श्री मेकमास्टरले अफगान युद्धको सम्बन्धमा वर्तमानमा व्याप्त स्थितिको बारेमा पनि अध्ययन गर्नुभयो जो अहिले तालिबानको हितमा छ। यस स्थितिलाई बद्लिने सम्भावना अनि उपायबारे पनि उहाँले चर्चा गर्नुभयो। अफगानिस्तान अनि पाकिस्तान बीच सीमाना संघर्ष बढ्दै गइरहेछ, जो ट्रम्प प्रशासनको लागि चिन्ताको एक अर्को विषय हो। यो संघर्षले गर्दा आतङ्कवाद विरूद्ध लडाइँमा सर-सहयोग अनि तालिबानसित शान्ति वार्तालापलाई समाप्त पार्ने जोखिम उत्पन्न भएको छ। ट्रम्प प्रशासनले यी दुवै मोर्चाहरूमा उसका विकल्पहरूबारे विचार गरिरहेछ।

श्री मेकमास्टरको इस्लामाबाद यात्राको बेलामा पाकिस्तानका प्रधान मन्त्री नवाज शरीफले विशेष गरी, काश्मीर मुद्दामा मतभेदलाई मेटाउनमा भारत र पाकिस्तानलाई सहायता गर्ने राष्ट्रपति ट्रम्पको इच्छालाई स्वागत गर्नुभयो। भारतले यस सम्बन्धमा धेरै पहिलेदेखि नै एक स्पष्ट अडान लिएको छ। पाकिस्तानबाट प्रकट भइरहेका आतङ्कवादको मुददाको समाधान आवश्यक छ अनि भारत यस्तो भएको चाहन्छ, तर काश्मीरको मुद्दा एक द्विपक्षीय मुद्दा हो। यसो हुनाले काश्मीर मुद्दामा कुनै तेस्रो पक्षको हस्तक्षेपको प्रश्न नै उठ्दैन। संयुक्त राज्य अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार पाकिस्तान विरूद्ध कडाइका साथ पेश आउनुभयो किनभने आतङ्कवादसित निप्टिने उसका प्रयासहरूलाई लिएर संयुक्त राज्य अमेरिका औधी असन्तुष्ट छ। लेफ्टिनेन्ट जेनरल (सेवानिवृत) मेकमास्टरले पाकिस्तानी नेतृत्वलाई आतङ्कवादका सबै स्वरूपहरू विरूद्ध कुटनीति मार्फत मुकाबिला गर्ने आह्वान गर्नुभयो अनि यस दिशामा देखावटी नभएर ठोस कार्य गर्ने अनुरोध गर्नुभयो।

नयाँ दिल्लीमा श्री मेकमास्टरले वाशिङ्गटनको यो अडानको पुनः पुष्टि गर्नुभयो कि भारत संयुक्त राज्य अमेरिकाको ‘एक प्रमुख प्रतिरक्षा एवम् सामरिक सहभागी’ हो। कुन कुरो स्पष्ट भएको छ भने बितेका दुइ दशकहरूमा भारत अनि संयुक्त राज्य अमेरिका बीचको द्विपक्षीय सम्बन्धमा जुन प्रगति भएको छ, त्यो श्री डोनाल्ड ट्रम्पको राष्ट्रपतित्व कालमा पनि जारी नै रहनेछ।