नेपालकी राष्ट्रपतिको भ्रमणले द्विपक्षीय सम्बन्ध बढ्ने

आलेखः रतन साल्दी

 नेपालकी राष्ट्रपति विध्यादेवी भण्डारी राष्ट्रप्रमुखको रुपमा भारतको पहिलो भ्रमणमा हुनुहुन्छ। राष्ट्रपति भण्डारीले नयाँ दिल्लीमा भारतीय नेताहरूका साथ भारतीय सहयोगमा नेपालमा हाल जारी परियोजनाहरूको शीघ्र कार्यान्वयन लगायत द्विपक्षीय सम्बन्धका विविध क्षेत्रहरूमा व्यापक कुराकानी गर्नुभयो। उहाँले राष्ट्रपति प्रणब मुखर्जी र प्रधान मन्त्री नरेन्द्र मोदीलाई सबै असन्तुष्ट पार्टीहरूलाई सहमतिमा ल्याएर नयाँ संविधानको पूर्ण कार्यान्वयनका लागि हिमाली राष्ट्रमा स्थानीय, प्रान्तीय र संघीय चुनावहरू गराउने आफ्नो सरकारले गरेको प्रयासबारे अवगत गराउनुभयो। भारतको सीमानासित जोडिएको तराई क्षेत्रका मधेशी, थारु समुदाय, जनजाति र केही अन्य वञ्चित वर्ग र अल्पसंख्यक समुदायका मानिसहरूले 14 मे-मा हुने भनिएको स्थानीय चुनावहरूको विरोध गरिरहेका छन्। उनीहरूले चुनाव भन्दा पहिले प्रान्तहरूको पुनर्सीमाङ्कनका लागि संविधान संशोधन पारित गर्ने र उनीहरूलाई प्रशासनमा थप अधिकार दिने माग गरिरहेका छन्।

भारतकी परराष्ट्र मन्त्री श्रीमती सुषमा स्वराज, गृह मन्त्री राजनाथ सिंह र वित्त मन्त्री अरूण जेटलीले पनि भारत भ्रमणमा रहनुभएको नेपालकी राष्ट्रपति श्रीमती भण्डारीसित भेट गर्नुभयो। राष्ट्रपति मुखर्जीले उहाँको सम्मानमा  भोजको आयोजना गर्नुभयो। यस अवसरमा बोल्दै नेपालकी राष्ट्रपतिले भन्नुभयो, नेपाल निर्धारित समय सीमा भित्र सबै तहका चुनावहरू गरी संविधानको आदेश पूरा गर्न र मुलुकलाई द्रुत आर्थिक समृद्धितिर  लैजान कृतसंकल्प छ ।

राजकीय सम्मानका साथ राष्ट्रपति भवनमा बस्नुभएको बेला नेपालकी राष्ट्रपति भण्डारीले भारतीय नेताहरूका साथ गर्नुभएका वार्ताहरूको दिशा र दशाले  दुइ मुलुकहरूका मानिसहरूको कल्याण र सद्भाव गाँस्ने उहाँको संकल्पलाई दर्शाएको छ। उहाँले भारतका राष्ट्रपति प्रणब मुखर्जी र प्रधान मन्त्री श्री मोदीको नेपाल यात्राको स्मरण गर्दै भन्नुभयो, यी भ्रमणहरूले दुइ मुलुकबीचको वर्षौं पुरानो सम्बन्धलाई नयाँ आयाम प्रदान गरेका छन्। उहाँले भन्नुभयो, भारत र नेपालबीचको बहु-पक्षीय र बहु-आयामी सम्बन्धहरू मित्रता र सहयोगको ठोस जगमाथि आधारित छन् जसले सम्प्रभुता, समानता, आपसी सम्मान, साझा हित र एकार्काका आकांक्षाहरूको स्पष्ट समझदारीका सिद्धान्हरूलाई परिभाषित गरेका छन्। भारतीय नेताले ‘छिमेकी सबैभन्दा पहिला’ भन्ने आफ्नो नीतिको महत्त्व र हरेक क्षेत्रमा नेपालका साथ बलियो सम्बन्ध बनाइराख्ने भारतको प्रतिबद्धता दोहोऱ्याउनुभयो । आफ्ना जनताका लागि  सामाजिक आर्थिक रूपान्तरण हासिल गर्न नेपालले गरेको प्रयासमा सहयोग गर्ने भारतीय नेताले बताउनुभयो।

भारत-नेपाल सम्बन्धको पहिलेको महिमा हासिल गर्न भारतले कैयौं सकारात्मक पाइला चालेको छ। सन् 2014-मा प्रधान मन्त्री नरेन्द्र मोदीले काठमाडौं भ्रमण गर्नुभएको बेला नेपालका लागि उदार सहयोगको घोषणा गर्नुभएको थियो र सबैले यसको प्रशंसा गरेका थिए। भारत-नेपाल संयुक्त आयोगलाई पुनर्जीवित गरियो र दुइ मुलुकहरूले विविध क्षेत्रहरूमा प्रगतिको समीक्षा गर्न नियमित रूपमा आधिकारिक स्तरको वार्ता जारी राखेका छन्। गत वर्ष नेपालका प्रधान मन्त्री पुष्प कमल दाहालको भारत भ्रमणको बेला तीन सम्झौताहरूमा हस्ताक्षर गरिएका थिए। यी सम्झौताहरू तराई क्षेत्रमा सडक सञ्जालको विस्तार, विद्युत ट्रान्समिशन लाइनहरूको निर्माण र सीमानापारी रेलवे नेटवर्क लगायत नेपालको लाभका लागि अन्य छुटहरू जस्ता विषयहरूसित सम्बद्ध छन्।

नेपालमा पेट्रोल, डीजल, मट्टितेल, उड्डयन टरबाइन ईन्धन र खाना पकाउने ग्यास जस्ता नेपालका आवश्यकताहरू पूरा गर्न   एप्रिल 2017 देखि मार्च 2022 सम्म पेट्रोलियम पदार्थहरूको आपूर्तिका लागि  भारत र नेपालबीच गत महिना एक समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

यो वर्ष फेब्रुवरीमा  भारतीय रेल मन्त्री सुरेश प्रभुले नेपाल पूर्वाधार शिखर बैठकमा भाग लिन काडमाण्डौंको भ्रमण गर्नुभएको थियो। 15 सडक परियोजनाहरूका लागि भारत नेपाललाई 34 करोड अमेरिकी डलरको उदार ऋण प्रदान गर्न सहमत भएको छ। भारतले 900 मेगावाटको अरूण- 3 जलविद्युत परियोजनाको विकासका लागि 91.58 अर्ब रूपियाँको लगानीलाई पनि मञ्जूरी दिएको छ। यो परियोजनालाई विश्व बैंकले त्याग गरेको थियो तर 2014-मा प्रधान मन्त्री मोदीको काठमाडौं भ्रमणको बेला यसलाई संशोधित गरिएको थियो।

नेपालका विदेश मन्त्री डाक्टर प्रकाश शरण महतले राष्ट्रपति विद्या देवी भण्डारीको भारत भ्रमणलाई अत्यन्त फलदायी र महत्वपूर्ण बताउनुभएको छ। दुइ मुलुकबीच नियमित उच्च-स्तरीय आदान प्रदानको परम्परालाई कायम राख्दै यो राजकीय भ्रमण भएको हो र यसले भारत- नेपालबीच रहेको मैत्रिपूर्ण र सहकारी सम्बन्धलाई थप मजबूत पार्नेछ। नयाँ दिल्लीको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी गुजरात र ओडिसाका केही स्थलहरूको भ्रमणमा जानुभयो।