सिक्किममा पूर्व मुख्य मन्त्री नरबहादुर भण्डारीको निधन

सिक्किमका पूर्व मुख्य मन्त्री नरबहादुर भण्डारीको निधन भएको छ। आइतबार नयाँ दिल्लीको एक अस्पतालमा 76 वर्षको उमेरमा उहाँको निधन भयो। 1979 देखि 1994 सम्म तीनपटक सिक्किमका मुख्य मन्त्री रहनुभएको श्री भण्डारी सिक्किम संग्राम परिषदका संस्थापक हुनुहुन्थ्यो।

मुख्य मन्त्री पवन चामलिङ्गले नरबहादुर भण्डारीलाई भूमिपुत्रको संज्ञा दिँदै आफ्नो शोक सन्देशमा भन्नुभएको छ, राज्य र सिक्किमका जनताले एक महान नेतालाई गुमाएको छ।

गृह मन्त्री राजनाथ सिंहले श्री भण्डारीको निधनप्रति गहिरो सम्वेदना व्यक्त गर्नुभएको छ। एक ट्विटमा श्री सिंहले भन्नुभयो, नरबहादुर भण्डारी एक व्यवहारिक नेता हुनुहुन्थ्यो।