दलहन र तेलहनमा भारत आत्म-निर्भर बन्नेछ: कृषि मन्त्री

कृषि मन्त्री राधा मोहनसिंहले के विश्वास व्यक्त गर्नुभएको छ भने भारत आगामी वर्षहरूमा दलहन र तेलहन उत्पादनको क्षेत्रमा आत्म-निर्भर बन्नेछ। उहाँले भन्नुभयो, सरकारले राम्रो गुणस्तरका बीऊ र प्रौद्योगिकीहरूको प्रयोगमार्फत राम्रो बाली उत्पादन गर्नका लागि पाइलाहरू सार्दैछ।

घरायशी माग पूरा गर्नका लागि देशले वर्षेनी 50 लाख टन दलहन र झण्डै 1 करो़ड 45 लाख टन खाद्य एवम् अखाद्य वनस्पति तेल पैठारी गर्दछ।

आइतबार नयाँ दिल्लीमा भारतीय कृषि अनुसन्धान परिषदको 89औँ स्थापना दिवसमा बोल्दै श्री सिंहले भन्नुभयो, सन् 2022 सम्ममा किसानहरूका आय दोब्बर पार्ने लक्ष्यको एक भागको रूपमा उत्पादन बढाउनुमाथि मात्रै होइन कृषिलाई आय-केन्द्रित बनाउनका लागि पाइलाहरू सार्नुमाथि सरकारले ध्यान केन्द्रित गरिरहेको छ।

मन्त्री महोदयले भन्नुभयो, हरित क्रान्तिले भारतलाई गहुँ र धानको क्षेत्रमा आत्म-निर्भर बनाउनमा मद्दत गऱ्यो, तर देशले घरायसी माग पूर्तिका लागि अहिलेपनि दलहन र तेलहनको पैठारी गरिरहेको छ र यसमा ठूलो मात्रामा वेिदेशी मुद्रा खर्च गर्नु परिरहेको छ।। देशको दलहन उत्पादन 2016-17-को बाली वर्षमा (जुलाई-जून) बढेर रेकर्ड 2 करोड 24 लाख टन पुग्यो जो त्यसअघिको वर्षमा 1 करोड 63 लाख 50 हजार टन थियो। तेलहन उत्पाद पोहोरको तुलनामा 29 प्रतिशत वृद्धि भएर 3 करोड 25 लाख 20 हजार टन पुग्यो।