चीनको सम्बन्धमा भारत धैर्य एवम् शान्तिपूर्ण मार्ग अपनाउने पक्षमा

आलेख: ड. आश नारायण रॉय; निदेशक, सामाजिक विज्ञान संस्थान, दिल्ली

डोकलाम पठारमा भारत र चीन बीच उत्पन्न वैमनस्यताको स्थिति अहिले पनि जारी छ अनि यस मुद्दालाई लिएर चीनले अपनाएको युद्ध पिपासु दृष्टिकोण उदेकलाग्दो साथै चिन्तित तुल्याउने छ। सामरिक विशेषज्ञहरूले चिनियाँ मीडियाद्वारा उपयोग गरिएको कठोर भाषालाई औंल्याएका छन्। यस क्षेत्रमा सैनिक गतिविधिहरू पनि अभूतपूर्व रहेका छन्। 16 जूनमा चिनियाँ सैनिकहरू निर्माण वाहनहरू र सडक निर्माणका उपकरणहरूका साथ दक्षिणमा भूटानतर्फ बढ्न सुरू गरेको हुनाले वर्तमानको ठप्प स्थिति उत्पन्न भएको हो। भूटानको भारतसित निकटको सैनिक एवम् आर्थिक सम्बन्धहरू छन् अनि भूटानको अनुरोधमा नै भारतले त्यहाँ चिनियाँ सैनिकहरूलाई रोक्नको लागि बलहरू पठाएको हो।

चिनियाँ मीडियाले यो मुद्दालाई धेरै उचालिरहेको छ, अनि भारत विरूद्ध राग अलाप्नु जारी राखेको छ। तर भारतको यस मामिलाप्रति प्रतिक्रिया दृढ भए तापनि उसले मुद्दालाई लिएर दुइ देशहरू बीचको तनाउलाई कम्ती पार्ने प्रयास गरिरहेको छ। यस मुद्दालाई लिएर चीनको जोर-जबरजस्तीका कारणहरू बुझ्न गाह्रो छैन। राष्ट्रपति शी जिनपिङ्ग अधीन चीनले एक दर्जनभन्दा बढी छिमेकी मुलुकहरूसितको उसका सम्बन्धहरूको दिशामा साथै अन्य विविध मामिलाहरूलाई निप्टाउनको लागि हठधर्मिताको परिचय दिएको छ। दक्षिण चीन सागरको मुद्दामा पनि चीनको युद्ध पिपासु दृष्टिकोणले छिमेकी मुलुकहरूलाई विचलित साथै चिन्तित तुल्याएको छ।

एक युग थियो जब चिनियाँ नेतृत्वको नारा हुन्थ्यो, “आफ्नो समयको प्रतीक्षा गर अनि निर्माणमाथि ध्यान केन्द्रित गर” अनि “उज्यालोपनलाई लुकाउ र अस्पष्टतालाई पोषण गर”, तर अब यो युग समाप्त भएको प्रतीत हुन्छ। हालका अनुभवहरूलाई मध्येनजर राखेर हेर्दा, यो पनि स्पष्ट हुन्छ कि चीनले ती कुरोहरूलाई गम्भीरताले लिँदैन जुन कुरोहरूमाथि उसले बल दिन्छ, जस्तै “चीनको शान्तिपूर्ण एवम् सामंजस्यपूर्ण उत्थान”। यूरोपेली संसदका उपाध्यक्ष रिस्जार्ड जारनेकीले यो मुद्दालाई बलपुर्वक सामुन्ने राख्नुभएको छ। उहाँले भन्नुभएको छ, चीनले एक यस्तो विदेश नीतिको अनुसरण गरिरहेको छ जसले अन्तर्राष्ट्रिय समुदायद्वारा स्वीकृत नियमहरूको उल्लंघन गर्छ। हुन त, बेजिङ्गले उसको ‘शान्तिपूर्ण उत्थान’-ले अन्तर्राष्ट्रिय कानून एवम् व्यवस्थाप्रति कुनै जोखिम उत्पन्न गर्नेछैन भन्ने आश्वासन अन्तर्राष्ट्रिय समुदायलाई दिएको छ, तर धरातलीय स्थिति सर्वथा भिन्न छ।

राष्ट्रपति शी जिनपिङ्गले उहाँको भनाइमा ‘चीन राष्ट्रको पूर्णतया कायापलट गर्ने चिनियाँ सपना’-लाई साकार तुल्याउनको लागि यथाःसम्भव बल दिइरहनुभएको छ, जसलाई विश्वले हेरिरहेको छ। कतिपय विद्वानहरूले चीनको साम्राज्यवादी अतीतको स्मरण दिलाउँदै भनेका छन्, चीनले उसका ससाना छिमेकीहरूका भूभागहरूमाथि आफ्नो दाबी जनाएर सीमानाहरूलाई विस्तार गर्ने प्रयास गरिरहेको छ। चिनियाँ सम्राटहरू उनीहरूका सैनिक अभियानहरूलाई लिएर सदैव गर्वको अनुभव गर्थे अनि यसबारे उनीहरूलाई कहिल्यै पछुतो भएन।

चीनको वर्तमानको आक्रामक व्यवहारका घरायशी कारणहरू पनि छन्। राष्ट्रपति शी-ले स्वयंलाई एक मूल नेताको रूपमा स्थापित गर्नुभएको छ, जो उहाँको शक्ति एवम् प्रभावको भयभीत तुल्याउने सङ्केत हो। सन् 2012-मा उहाँ राष्ट्रिय नेता हुनुभयो अनि त्यसपछि उहाँले चिनियाँ अर्थव्यवस्था र सेनालाई दुरूस्त पार्ने कार्य सुरू गर्नुभयो। उहाँको ‘बेल्ट एन्ड रोड’ अर्थात ‘क्षेत्र एवम् सडक’ अभियानले अन्तर्राष्ट्रिय स्तरमा उहाँको ख्यातिलाई बढाएको छ। धेरैले कम्युनिस्ट पार्टीको 19औं राष्ट्रिय कंग्रेस र चीनको हालको बरताव बीच सम्बन्ध रहेको दावी गरेका छन्। यो कंग्रेसले श्री शीलाई अर्को कार्यकालको लागि चुन्ने अनि भारत, चीन र भूटानको सीमानामा चीनको भडकाउने व्यवहारलाई समर्थन गर्ने सम्भावना छ।

चिनियाँ मीडियाद्वारा भडकाउने खालका बयानहरू जारी गरिएको भए तापनि यसप्रति भारतको प्रतिक्रिया शान्त, सन्तुलित एवम् परिपक्व रहेको छ। विद्यमान स्थितिलाई लिएर भारतका मीडिया रिपोर्टहरूमा संयमको परिचय पाइन्छ। नयाँ दिल्लीले भनेको छ, स्थितिलाई सामान्य बनाउनको लागि कुटनीतिक मार्गहरू उपलब्ध छन्। भारतका विदेश सचिव एस जयशङ्करले हालसालै के भन्नुभएको थियो भने, यो मुद्दालाई दुइ देशहरू मिलेर निप्टाउन नसक्ने कुनै कारण नै छैन। श्री जयशङ्करले यो पनि भन्नुभएको थियो कि भारत र चीनले मतभेदहरूलाई विवादमा परिणत हुन दिनुहुँदैन। यीसब बीच, सरकारी चिनियाँ मीडियाले भने भारत विरूद्ध पहिलेकै राग अलाप्न जारी राखेको छ। ‘सीमारेखा नै अन्तिम रेखा हो’ तथा ‘भारतीय सैनिकहरू नहटुञ्जेल वार्तालाप गर्ने प्रश्न नै उठ्दैन’ जस्ता चीनका बयानहरूले मुद्दाको समाधानमा कुनै सहायता पुऱ्याउने छैनन्।

जे होस्, यी दुइ बीचको वाणिज्यिक सम्बन्धहरूको आकार र स्तरलाई मध्येनजर राख्दै उनीहरूले व्याप्त स्थितिलाई साम्य पार्ने तरिका खोज्नु आवश्यक छ। रिपोर्टहरूअनुसार कतिपय सरकार समर्थित विचारकहरूको समूहले तनाउलाई दूर गर्नको लागि अनौपचारिक प्रयासहरू गरिरहेका छन्। मुद्दालाई लिएर आरोप, प्रत्यारोपहरू चलिरहेकै बेलामा बेजिङ्गमा आयोजित ब्रिक्स मञ्चको बैठकमा भारतका वरिष्ठ मन्त्रीहरूले भाग लिए। भारतका प्रधान मन्त्री मोदीले ह्यामबर्गमा चीनमा राष्ट्रपति शी जिनपिङ्गसित भेटघाट गर्नुभयो अनि ‘विविध मुद्दाहरू’-बारे कुराकानी गर्नुभयो। ब्रिक्स राष्ट्रहरूका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बेजिङ्गमा हुने बैठकमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभलले भाग लिनुहुने कार्यक्रम छ।

भारत सरकारले विपक्षका नेताहरूलाई यो आश्वासन दिएको छ कि स्थितिसित निप्टिदा भारतले धैर्यको परिचय दिनेछ अनि शान्तिपूर्ण तरिका अपनाउनेछ। निष्कर्षमा के भन्न सकिन्छ भने चीनको जोर-जबरजस्ती गर्ने व्यवहारको कारण उसको विदेश नीतिमा निहित छ, जसले भन्छ, ‘जब तिमी पर्वतहरूको चुचुरोमा हुन्छौं, तब त्यहाँ तिमी जाडोलाई सहन सक्दैनौं’।