भारत-जमैका सम्बन्धहरूः एक नयाँ सुर-तालमा

आलेखः विनीत वाही, पत्रकार

क्यारिबियाली सागर स्थित द्वीप राष्ट्र जमैकाका विदेश मामिला एवम् विदेश व्यापार मन्त्री श्रीमती कमिना जनसन स्मिथको भारत यात्राले दुइ मुलुकहरू बीचको द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउनेछ। यो यात्राले द्विपक्षीय व्यापारलाई बढाउनमा पनि मद्दत पुऱ्याउनेछ। जमैकाको कुनै विदेश मन्त्रीको यो सर्वप्रथम भारत यात्रा थियो। उहाँको यस यात्राको अवधिमा नयाँ दिल्ली अनि किङ्ग्स्टन बीच विदेश मामिलासम्बन्धी पाँचौं वार्तालाप भयो। भारतले जमैकासित निकटको सम्बन्ध स्थापित गर्ने मामिलालाई औधी महत्त्व प्रदान गर्छ अनि यही कारणले गर्दा बितेका दुइ वर्षहरूमा भारतका केन्द्रीय राज्य परराष्ट्र मन्त्री, जेनरल ड. भी के सिंह (सेवा निवृत्त)-ले दुइपल्ट जमैकाको यात्रा गरिसक्नु भएको छ।

श्रीमती स्मिथले भारतका परराष्ट्र मन्त्री सुषमा स्वराजसित भेटघाट गर्नुभयो। दुइ नेताहरूले द्विपक्षीय सम्बन्धहरूका विविध पक्षहरू तथा साझा हितका क्षेत्रीय एवम् बहुपक्षीय मुद्दाहरूको बारेमा चर्चा गर्नुभयो। अन्यहरू बाहेक, व्यापार र लगानी, स्वास्थ्य र चिकित्सा पर्यटन, क्षमता निर्माण, कृषि, संस्कृति अनि पर्यटन जस्ता क्षेत्रहरूमा निकटको सर-सहयोग स्थापित गर्ने मुद्दामाथि पनि ध्यान केन्द्रित गरियो। जमैकाका मन्त्री महोदयाले उहाँको देशलाई 1 लाख 50 हजार यू एस डलर मूल्यका औषधीहरू प्रदान गरेको तथा हालसालैको आँधी-बेहरीद्वारा ग्रस्त मुलुकहरूलाई 2 लाख यू एस डलरको सहायता दिएकोमा भारतप्रति कृतज्ञता व्यक्त गर्नुभयो।

जमैकाका मन्त्री महोदयाले केन्द्रीय पर्यटन राज्य मन्त्री के जे अलफन्स तथा स्वास्थ्य एवम् परिवार कल्याण मन्त्री जे पी नड्डासित पनि भेटघाट गर्नुभयो अनि उहाँहरूसित पर्यटन र स्वास्थ्य सेवाको क्षेत्रमा सर-सहयोगबारे विचार विमर्श गर्नुभयो। उहाँले भारतीय वाणिज्य एवम् उद्योग मण्डल परिसंघ, छोटकरीमा फिक्कीसित पनि अन्तर्क्रिया गर्नुभयो। मुम्बईमा श्रीमती स्मिथले भारतका अग्रणी सूचना प्रौद्योगिकी कम्पनीहरू तथा व्यापारिक समुदायसित भेटघाट गर्नुभयो।

भारत अनि जमैका बीचको द्विपक्षीय आर्थिक एवम् वाणिज्यिक अन्तर्क्रियाहरू अर्थव्यवस्थाको सानो आकार र भारतबाट दूरी जस्ता वाधाहरूले गर्दा सीमित छन्। यद्यपि, क्यारिबियासित व्यापारलाई प्राथमिकता दिने दिशामा पाइलोहरू सारिएका छन्। सन् 2001-मा पानीका पम्पहरूको आयात गर्न भारतले जमैकालाई 75 लाख यू एस डलरको लाइन अफ क्रेडिट, वा भनौं सहज ऋण उपलब्ध गराएको थियो अनि सन् 2009-मा भारतले आई सी टी क्षमता विकास परियोजना अन्तर्गत जमैकामा एक सूचना प्रौद्योगिकी केन्द्र स्थापित गरेको थियो। सन् 2004-मा यस द्वीप राष्ट्रमा ‘इभान’ नामक तूफानका शिकार भएकाहरू निम्ति भारत सरकारले मानवीय सहायताको रूपमा 2 लाख यू एस डलर रकमका औषधीहरू साथै चिकित्सा सामग्रीहरू पठाएको थियो। सबाइना उद्यानमा फ्लड लाइटहरू जडान गर्नको लागि 21 लाख यू एस डलरको  सहायता उपलब्ध गराउने उद्देश्यले मार्च, सन् 2014-मा भारत सरकार अनि जमैका सरकारले एक सहमति पत्रमा हस्ताक्षर गरेका थिए।

हुन त, बितेका केही वर्षहरूमा व्यापारमा वृद्धि भएको छ, तर यो पर्याप्त छैन। सन् 2016-17-मा जमैकामा 4 करोड 34 लाख 40 हजार यू एस डलर रकमका सामग्रीहरू निर्यात गरिए भने त्यहाँबाट चाहिँ 11 लाख 70 हजार यू एस डलर रकमका सामग्रीहरू आयात गरिए। जम्मा व्यापार 4 करोड 46 लाख 10 हजार यू एस डलर रकमको भयो अनि भारतबाट निर्यात र जमैकाबाट आयातमा 4 करोड 22 लाख 70 हजार यू एस डलरको भिन्नता देखियो। यद्यपि, वर्तमान वर्षको अप्रेलदेखि जून महिनाको अवधिमा जमैकामा भारतका निर्यातहरू 1 करोड 12 लाख 70 हजार यू एस डलर रकमको तथा जमैकाबाट भारतका आयातहरू 29 लाख 20 हजार यू एस डलर रकमको थियो। यसरी जम्मा व्यापार 1 करोड 41 लाख 90 हजार यू एस डलर रकमको भयो अनि आयात र निर्यातमा 83 लाख 50 हजार यू एस डलर रकमको भिन्नता देखियो।

भारतले जमैकामा निर्यात गर्ने प्रमुख सामग्रीहरूमा औषधी उत्पाद, मोटर गाडीका हिस्साहरू, खनिज ईँधन, खनिज तेल, वस्त्र, सुती कपडा अनि औद्योगिक यन्त्रहरू सामेल छन्। यसबाहेक, प्लास्टिक उत्पादहरू अनि रत्न, जवाहरात साथै कृत्रिम आभुषणहरूको पनि त्यहाँ निर्यात गरिन्छ। भारतले चाहिँ जमैकाबाट मुख्यतः पेय पदार्थ, अर्गेनिक रसायन, स्टील स्क्रेपको आयात गर्छ अनि विविध सामग्रीहरूको पनि आयात गर्छ।

प्राचीन समयदेखि नै क्यारिबियाली द्वीप राष्ट्रहरूसित भारतको सौहार्दपूर्ण सम्बन्ध रहीआएको छ। जमैका, ट्रिनिडाड र टोबेगो, गाएना अनि सुरीनाम आदि मुलुकहरूमा विशाल संख्यामा भारतीय मूलका मानिसहरू बसोबासो गर्छन् अनि यी मुलुकहरूसित भारतको प्राचीनकालदेखि असल सम्बन्ध छ। यसबाहेक, क्रिकेट खेलले गर्दा पनि क्यारिबियाली मुलुकहरू भारतमा औधी लोकप्रिय छन्। जमैकालाई अफ्रीकाली, एसियाली अनि यूरोपेली संस्कृतिहरूको मिलन स्थल पनि भनिन्छ अनि त्यहाँ भारतीय मूलका मानिसहरूको संख्या निकै छ। लगभग 70 हजार जमैकावासीहरूका पूर्वजहरू भारतबाट त्यहाँ गएका थिए। यो संख्या जमैकाको जम्मा जनसंख्याको लगभग 3 प्रतिशत हो। वास्तवमा, हरेक वर्ष जमैकामा 10 मईको दिनलाई ‘भारतीय धरोहर दिवस’-को रूपमा मनाइन्छ। जमैकामा रत्न-जवाहरात, इलेक्ट्रोनिक्स र घर गृहस्थीका सामग्रीहरूको व्यापारमा भारतीय-जमैकाली व्यक्तिहरूको बर्चस्व छ।