सहकारी संघवाद अन्तर्गत केन्द्र र राज्यहरू बीच राज्यपालहरूले एक सेतुको रूपमा महत्त्वपूर्ण भूमिका खेल्छन्: राष्ट्रपति कोविन्द

राष्ट्रपति रामनाथ कोविन्दले भन्नुभएको छ, सहकारी संघवाद अन्तर्गत केन्द्र र राज्यहरू बीच राज्यपालहरूले एक सेतुको रूपमा महत्त्वपूर्ण भूमिका खेल्दछन्।

आज राष्ट्रपति भवनमा राज्यपालहरूको दुई-दिने सम्मेलनलाई सम्बोधन गर्नुहुँदै श्री कोविन्दले सन् 2022 सम्ममा न्यु इन्डिया अर्थात नयाँ भारतको आवश्यकतामाथि बल दिनुभयो जहाँ भ्रष्टाचार, गरिबी र निरक्षरताको कुनै स्थान हुनेछैन। सम्मेलनमा उद्घाटन सत्रको विषय ‘न्यु इन्डिया-2022’ थियो।

श्री कोविन्दले भन्नुभयो, राज्यपालहरू आ-आफ्ना राज्यहरूमा विधायिका प्रणालीको एक अभिन्न अङ्ग हुने हुनाले उनीहरूले विधायकहरूसित संवादद्वारा आफ्ना राज्यहरूको विकासलाई एउटा नयाँ आयाम दिन सक्छन्।

राष्ट्रपतिले भन्नुभयो, आजको डिजिटल युगमा जनताले सरकारी सेवाहरू सजिलो र पारदर्शी होस् अनि त्यसमा उत्तरदायित्वका समुचित प्रावधान होस् भन्ने अपेक्षा गर्दछन्। बदलिँदो वैश्विक परिदृश्यबमोजिम अगाडि बढ्नका लागि नयाँ प्रविधि र नवोन्मेषलाई अङ्गीकार गर्ने आह्वान राष्ट्रपति श्री कोविन्दले गर्नुभयो।

श्री कोविन्दले भन्नुभयो, राष्ट्र निर्माणको प्रक्रियामा युवाहरूलाई गाँस्नु जरुरी छ। उहाँले भन्नुभयो, देशको भविष्य युवा पीढीका क्षमताहरू, नैतिक मूल्यहरू र सहृदयतामाथि निर्भर गर्दछ। राष्ट्रपतिले भन्नुभयो, राज्यहरूको स्तरमा उच्च शिक्षा र कौशल विकासमाथि विशेष ध्यान दिइनु पर्ने खाँचो छ।