आतङ्कवादमाथि पाकिस्तानको दोहोरो मापदण्ड जारी

 आलेख: दिपांजन रॉय चौधरी, कुटनयिक संवाददाता

पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय दबावमा आएर हाफिज सईदको राजनैतिक पार्टीको पञ्जीकरण रद्द गरेको छ अनि आतङ्कका मामिलाहरूमा ऊ विरुद्ध कुनै कारबाही नगरेकोबाट आतङ्कसँग निप्टिदा पाकिस्तानले दोहोरो मापदण्ड अपनाएको स्पष्ट सङ्केत पाइन्छ। तर यस्तै दोहोरो मापदण्डका लागि इस्लामाबाद प्रसिद्ध छ।

पाकिस्तानी अधिकृतहरूले हाफिज सईद र उसको संगठन, जमात-उद-दावा (जेयुडी)-माथिका सबै आरोपहरू फिर्ता लिएका छन् जसले गर्दा सन् 2008-को मुम्बई हमलामा संलिप्तताका लागि राष्ट्र संघ, संयुक्त राज्य अमेरिका तथा भारतद्वारा आतङ्की घोषित सईदको निम्ति रिहाईको सम्भावित मार्ग प्रशस्त भएको छ। यो घटनाक्रम, “सईद पाकिस्तानको लागि बोझ हो” भनी पाकिस्तानका विदेश मन्त्री ख्वाजा आसिफले दिनुभएको वक्तव्यको ठीक विपरीत छ।

पाकिस्तानको पंजाब प्रान्तीय सरकारले हाफिज सईद र उसका सहयोगीहरूका लागि जारी गरेको आफ्नो नयाँ आदेशमा आतङ्कवादका आरोपहरू समावेश गरेको छैन। एक आतङ्की संगठनबाट पश्चिमी मूलका बन्धकहरूलाई सफलतापूर्वक “उद्धार” गर्ने बित्तिकै पाकिस्तानले उसको सामरिक सम्पत्ति विरुद्ध कारबाही गर्ने आवश्यकता महसूस गरिराखेको छैन।

यसअघि अधिकृतहरूले सईदलाई आतङ्कवाद-निरोधक ऐन (एटीए) अन्तर्गत गिरफ्तार गरेका थिए। राष्ट्र  संघले सईद र जेयुडी-माथि प्रतिबन्ध लगाईसकेको छ भने संयुक्त राज्य अमेरिकाले उसको गिरफ्तारीका  लागि 1 करोड डलरको इनाम राखेको छ। यसै वर्षको जनवरीमा एउटा छापामारीमा सईदलाई गिरफ्तार गरिएको थियो अनि त्यसपछि उसलाई नजरबन्दमा राखिएको थियो।

सईदको मिलि मुस्लिम लीग (एमएमएल)-को सम्पर्क लश्कर-ए-तैयबा (एलईटी)-सँग थियो जसले सन् 2008-मा मुम्बईमा 160 जनाको मृत्यु हुनेगरि हमला गरेको थियो तथा यस्ता किसिमका आतङ्की गुटहरूले राजनीतिमा कट्टरवाद एवम् हिंसा फैलाउन सक्छन्।

पाकिस्तानको सईद विरुद्ध कारबाही गर्ने संकोच नै विगत दसकमा संयुक्त राज्य अमेरिका र भारतसँग पाकिस्तानका सम्बन्धहरू खराब हुनुको एउटा प्रमुख कारण रहिआएको छ। भारत र अफगानिस्तानले अघोषित युद्धका लागि पाकिस्तानी सेनाले एलईटी जस्ता आतङ्की गुटहरूको प्रयोग एवम् समर्थन गरेको आरोप लगाएका छन्।

सम्भवत: एमएमएल-ले अनाधिकारिक रूपमा कार्य गर्न जारी राख्नेछ किनभने गत महिना लाहौरको पूर्वी शहरमा सम्पन्न एउटा उप-चुनावमा एमएमएल-का एकजना नेताले स्वतन्त्र उम्मेदवारको रूपमा भाग लिएबापत सो कुरो प्रमाणित भइसकेको छ।

पेशावरको उत्तर-पश्चिमी शहरमा अक्टूबर 26 तारिख हुन निर्धारित एउटा उप-चुनावमा भाग लिइरहेको आफ्नो उम्मेदवारका लागि एमएमएल-ले सक्रिय भएर चुनाव प्रचार गरिराखेको छ।

रिपोर्टहरूअनुसार, पाकिस्तानको संस्थान अन्तर सेवा गुप्तचर एजेन्सी (आईएसआई)-ले जेयुडी जस्ता आतङ्कीसित सम्बद्ध संगठनहरूलाई राजनीतिमा ल्याएर कट्टरपन्थी विरोधी अभियानको एक हिस्साको रूपमा तिनीहरूलाई एकीकृत गर्न चाहन्छ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर-जनरल आसिफ गफूरअनुसार, आतङ्कीहरूलाई मुलुकको राजनीतिमा एकीकृत गर्ने कार्य आतङ्की-सम्बद्ध गुटहरूका लागि रचनात्मक भूमिका निर्वाह गर्नेसक्ने कुरामा आधारित हुनेछ। यद्यपि उहाँले यस किसिमको कुनै पनि रणनीतिमा सेनाको भूमिकामाथि केही टिप्पणी गर्नुभएन। पाकिस्तानी सेनाले कतिपय आतङ्की संगठनहरूलाई राजनीतिको मुख्यधारामा ल्याउन चाहेको जस्तै देखिएको छ।

पाकिस्तानमा एमएमएल-को गठनमाथि धेरै ध्यानाकर्षण भएन किनभने पाकिस्तानमा यस किसिमका धार्मिक-राजनैतिक पार्टीहरूको गठन नियमित रूपमा हुँदै आएको छ। सरकारले स्वदेश तथा विदेश दुवैमा कडा आलोचनाहरूको सामना गर्नुपरेको बावजुद हाफिज सईदले स्वतन्त्रता पर्याप्त मात्रामा पायो भन्ने कुरामा कुनै सन्देह छैन।

संयुक्त राज्य अमेरिकाद्वारा आतङ्की घोषित फजलूर रहमान खलिलले पनि आफ्नै पार्टी चाँडै नै गठन गर्ने योजना बनाएको छ। नवाज शरिफ बर्खास्त भएको दुइ सातापछि एमएमएल पार्टी गठन भएको थियो। यसअघि पाकिस्तानका पूर्व प्रधान मन्त्री नवाज शरिफले सईदको पार्टीलाई राजनीतिको मुख्यधारामा ल्याउने पाइलोको विरोध गर्नुभएको थियो। तहरिक-ए-लबैक पाकिस्तान-ले ईश-निन्दा हत्यारा मुमताज कादरीलाई एक नायक एवम् शहीद बताउँदै उसको सहारा लिएर 6 प्रतिशतभन्दा बढी मत प्राप्त गरेको थियो।

जेयुडी-ले पाकिस्तान भरिनै अनेकौँ सामाजिक तथा विकासमूलक कार्यक्रमहरू चलाइराखेको छ। कथित रूपमा, कैयौँ सुरक्षा मामिलाहरूको मध्यनजर संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नुभएको माग पूरा गर्न पाकिस्तान तत्पर रहेको देखाउनका लागि मात्र सईदलाई गिरफ्तार गरिएको हुनसक्छ।

पाकिस्तानी सेनाले विदेश नीति साधनको रूपमा जेयुडी तथा लश्कर-ए-तैयबाको प्रयोग गर्न जारी राख्ने मनसाय राखेको छ। पाकिस्तानले मुलुकमा जेयुडी-लाई व्यापक जन समर्थन प्राप्त गर्ने पार्टीको रूपमा प्रयोग गर्न चाहन्छ। यस मुलुकले विगत तीन दसकदेखि भारत विरुद्ध हिंसात्मक विचारहरूलाई प्रोत्साहित गर्दैआएको छ अनि इस्लामाबादका नीतिहरूले यस्ता विचारहरूलाई झनै प्रोत्साहन गर्नुका साथै कुशल एवम् मुख्यधारामा ल्याउने काम गरिराखेका छन्। पाकिस्तानमा प्रचलित कट्टरपन्थी विचारहरूलाई चुनौती दिने कुनै प्रयास नगरिएको देखिएको छ।

पाकिस्तानी सुरक्षा प्रतिष्ठानले अझै पनि सईद तथा उसका सहयोगीहरूलाई भारत विरुद्ध एउटा उपयोगी साधनको रूपमा हेर्ने गर्दछ। यसको अतिरिक्त सईद र अन्य कैयौँ भारत-विरोधी जिहादी गुटहरूले पाकिस्तानको भारतप्रति रहेको नीतिलाई वैधता तथा शक्ति प्रदान गर्दछन्।