संघीय समाजवादी फोरम नेपालद्वारा प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाउका लागि घोषणा पत्र जारी

नेपालमा संघीय समाजवादी फोरम नेपालले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाउका लागि आफ्नो घोषणा पत्र जारी गरेको छ। पार्टी सह-अध्यक्ष राजेन्द्र श्रेष्ठले सोमबार काठमाण्डौँमा चुनाउका लागि घोषणा पत्र सार्वजनिक गर्नुभयो। पार्टीद्वारा जारी गरिएको एउटा प्रेस विज्ञप्तिका अनुसार, संघीय समाजवादी फोरम नेपालको मुख्य एजेण्डा संविधान संशोधन, पहिचान आधारित संघीयता, समान समृद्धि तथा सुशासन हो। पार्टीले 5 वर्षमा ऊर्जा क्षेत्रमा आत्मनिर्भरता, दुई अंकको आर्थिक विकास, दोब्बर प्रतिव्यक्ति आय तथा गरिबी रेखामुनी रहेका मानिसहरूको गरिबी उन्मूलन लगायत पाँच महत्त्वपूर्ण काम गर्ने प्रतिबद्धता जनाएको छ। पार्टीले केन्द्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनु पर्नेमा पनि जोड दिएको छ। संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) मधेसका प्रमुख दुई राजनीतिक दलहरू हुन्। यी दुई पार्टीले प्रदेश नम्बर 2-मा चुनावी गठबन्धन गरेका छन्। प्रदेश नम्बर 2-मा 32 संसदीय सिटका लागि संघीय समाजवादी फोरम नेपालले 17 उम्मेदवार खडा गर्नेछ भने राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) 15 सिटमा चुनाउ लड्दैछ। त्यसैगरी 64 प्रदेश सभा सिटहरूका लागि संघीय समाजवादी फोरम नेपालले 33 स्थान र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)-ले 31 स्थानमा उम्मेदवार खडा गर्नेछन्। प्रदेश नम्बर 2-मा चुनाउ दोस्रो चरणमा डिसेम्बर 7-मा हुँदैछ।