भारत-आसियान सम्बन्ध मजबुत

आलेख: दिपांजन रॉय चौधरी, कुटनयिक संवाददाता

नोभेम्बर 2014-मा म्याँमारमा सम्पन्न 12-औँ आसियान-भारत शिखर सम्मेलन तथा 9-औँ पूर्वी एसिया शिखर बैठकमा प्रधान मन्त्री नरेन्द्र मोदीले ‘एक्ट ईस्ट पलिसि’ अर्थात् ‘ पूर्व कार्यान्मुखी नीति’-को घोषणा गर्नुभएपछि भारतको आसियान साथै भारत-प्रशान्त क्षेत्रको वृहत्तर संलग्नताले अझ धेरै गति प्राप्त गरेको छ। यस महत्त्वपूर्ण मञ्चमा प्रधान मन्त्री मोदीको चौथो सहभागिता थियो।

मनिलामा सम्पन्न 15-औँ आसियान-भारत शिखर सम्मेलनमा श्री मोदी र आसियान-का नेताहरूले भारतको आसियानसित वार्ता साझेदारी अनि विविध क्षेत्रमा स्थापित आसियान-भारत सहयोगको 25-औँ वर्षगाँठ मनाउनलाई 2017-मा गरिएका स्मरणीय गतिविधिहरूको समीक्षा गर्नुभयो।

भारत र आसियान बीच 30 वार्ता प्रणालीहरू छन् जसमा एउटा शिखर सम्मेलन अनि विदेश मामिला, वाणिज्य, पर्यटन, कृषि, पर्यावरण, नवीकरणीय ऊर्जा तथा दूरसञ्चारमा 7 वटा मन्त्री स्तरीय बैठकहरू सामेल छन् र यी बैठकहरू नियमित रूपमा हुने गरिन्छ। फिलिपिन्सको राजधानी मनिलामा अगस्ट 2017-मा भारतका परराष्ट्र मामिला राज्य मन्त्री (सेवानिवृत्त) जनरल (डक्टर) भी.के. सिंहले आसियान-भारत विदेश मन्त्रीहरूको साथै पूर्वी एसिया शिखर सम्मेलनमा विदेश मन्त्रीहरूको बैठकमा भाग लिनुभएको थियो। भारतका वाणिज्य एवम् उद्योग मन्त्री सुरेश प्रभुले सेप्टेम्बरमा मनिलामा आयोजित आसियान आर्थिक मन्त्रीहरू प्लस भारत परामर्श बैठकमा हिस्सा लिनुभएको थियो जहाँ मन्त्रीहरूले आर्थिक सहयोगलाई मजबुत पार्ने आफ्नो प्रतिबद्धताको पुनर्पुष्टि गर्नुभएको थियो।

रक्षा मन्त्रीको पदभार ग्रहण गर्नुभएपछि श्रीमती निर्मला सीतारमणले आफ्नो पहिलो विदेश भ्रमणमा गत महिना मनिलामा सम्पन्न आसियानका रक्षा मन्त्रीहरूको चौथो मीटिङ्ग प्लसमा भाग लिनुभएको थियो। उहाँले भारतको आतङ्कवादमाथि शून्य सहिष्णुताको अडानलाई दोहोऱ्याउनुभएको थियो अनि यो अनिष्ठ विरुद्ध लडाइँमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मञ्चहरूको भूमिकालाई मान्यता दिनुभएको थियो।

सन् 2016-17-मा भारत र आसियान बीच 71 अर्ब युएस डलरको व्यापार भएको थियो जो सम्पूर्ण विश्वसितै हुने भारतको कुल व्यापारको 10.85 प्रतिशत हो। सन्तुलित क्षेत्रीय व्यापक आर्थिक साझेदारी सम्झौताको चाँडो समापनले क्षेत्रसित भारतको व्यापार एवम् लगानी सम्बन्ध अझ धेरै मजबुत हुनेछ।

फिलिपिन्सको यो भ्रमण साथै विगत तीन वर्षमा भारतले आसियानका सबै दस मुलुकहरूमा राष्ट्रपति, उप-राष्ट्रपति तथा प्रधान मन्त्रीका उच्च-स्तरीय भ्रमणहरू गरिसकेको छ। यसबाट, भारतले आसियान क्षेत्रसितका आफ्ना सम्बन्धहरूलाई कत्तिको महत्त्व दिँदछ भन्ने कुरा झल्किन्छ। विशेषगरि आसियान सदस्य मुलुकहरूसित सम्बन्ध प्रगाढ पार्ने भारतको प्रतिबद्धताको यो एक प्रतीक पनि हो। भारतको हितलाई हानी गरिरहेको कैयौँ वर्षको अवहेलनापछि क्षेत्रमा चीन महत्त्व बढ्दै गइरहेको यस्तो स्थितिमा क्षेत्रप्रति हाम्रो दृष्टिकोणमा यो निश्चिय पनि एक सक्रिय परिवर्तन हुनुपर्छ।

प्रधान मन्त्रीको भ्रमण यस्तो महत्त्वपूर्ण वर्षमा भएको छ जब हामीले आसियानसित भारत-आसियान वार्ता साझेदारीको 25-औँ, शिखर स्तरीय सहभागिताको 15-औँ, सामरिक साझेदारीको 5-औँ वर्षगाँठ मनाइरहेका छौँ। आसियान शिखर सम्मेलनको छेक पारेर प्रधान मन्त्री नरेन्द्र मोदीले फिलिपिन्सका राष्ट्रपति तथा आसियानका वर्तमान अध्यक्ष रोड्रिगो दुतर्तेसँग द्विपक्षीय वार्ता गर्नुभयो। श्री मोदीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प तथा जापानका प्रधान मन्त्री शिन्जो आबेलाई पनि भेट्नुभयो।

भारत र आसियान क्षेत्रको संयुक्त जनसंख्या 1.85 अर्ब छ जो वैश्विक जनसंख्याको एक-चौथाई हो अनि संयुक्त जीडीपी 3,800 युएस डलर रहेको छ जो विश्वकै सर्वाधिक ठूलो आर्थिक क्षेत्र हो। विगत 17 वर्षमा आसियानबाट 70 अर्ब युएस डलरभन्दा अधिक लगानी भइसकेको छ जो कुल प्रत्यक्ष विदेशी लगानीको 17 प्रतिशतभन्दा पनि अधिक हो अनि त्यही अवधिमा आसियानमा भारतीय लगानी 40 अर्ब डलरभन्दा पनि अधिक रहेको थियो।

भारत-आसियान द्विपक्षीय व्यापार एवम् लगानी मजबुत रहन जारी छ अनि भारतीय अर्थव्यवस्था साथै आसियानका सबै सदस्य मुलुकहरूका अर्थव्यवस्थाको गतिशीलतालाई ध्यानमा राख्दा यो द्विपक्षीय सम्बन्धमा अझै वृद्धि हुने ठूलो सम्भावना छ। निश्चित रूपमा त्यहाँ अनेकौँ समानताहरू छन् अनि आसियान मुलुकहरूसितको आर्थिक सहयोगलाई अझ धेरै बढाउने दिशामा अपार क्षमता पनि रहेको छ।

भारत र फिलिपिन्सले सुशासन, समावेशी विकास, पूर्वाधार विकास तथा सहकारी संघीयतामाथि ध्यान केन्द्रित गरिराखेका छन्।

दुवै मुलुकहरूको विश्वलाई हेर्ने आफ्ना दृष्टिकोणमा पनि धेरै समानताहरू छन्। यी समानताहरूको कारण नै भारतले फिलिपिन्ससित सम्बन्ध अझ मजबुत पार्न चाहेको हो।

भारतले क्षेत्रीय सुरक्षा व्यवस्थामा आसियानको एकता र केन्द्रीयताको समर्थन गर्दछ। आसियान एकीकरण निम्ति पहलहरूको हिस्साको रूपमा काम गर्दै भारतले क्षमता निर्माणमा कैयौँ पहलहरू सुरू गरेको छ जसमा विशेषगरी कम्बोडिया, लाओस्, म्याँमार तथा भिएतनाम माथि विशेष ध्यान दिइएको छ। परियोजनाहरूलाई वित्तीय सहायता पुऱ्याउनका लागि भारतसित तीन प्रकारका कोषहरू छन्। क्रमैसँग, भारत-आसियान सहयोग कोष जसमार्फत 10 करोड युएस डलर प्रदान गरिन्छ, दोस्रो, आसियान-भारत ग्रीन कोष तथा तेस्रो, आसियान-भारत विज्ञान एवम् प्रद्यौगिकी कोष।

भौतिक, डिजिटल तथा आर्थिक साथै जन-जन सम्पर्कता बढाउनु भारत-आसियान सहयोगको मुख्य उद्देश्य हो। क्षेत्रमा भारतले मित्रभावको ठूलो आनन्द लिइरहेकोछ। यसले आसियान र भारत बीच राजनीतिक सुरक्षा, आर्थिक तथा सामाजिक-सांस्कृतिक संलग्नताका स्तम्भहरूलाई अझ धेरै मजबुत बनाउनेछ।