जनता दल (युनाइटेड)-का विद्रोही सांसद शरद यादव र अलि अनवरको राज्य सभा सदस्यता खारेज

जनता दल (युनाइटेड)- जे डी यू-का विद्रोही सांसद शरद यादव र अलि अनवरको राज्य सभा सदस्यता खारेज गरिएको छ। राज्य सभा अध्यक्ष एम वेंकैया नाइडुको निवासबाट हिजो राती जारी गरिएको एक विज्ञप्तिमा उहाँहरूको राज्य सभा सदस्यता तत्काल प्रभावका साथ खारेज गरिएको बताइएको छ।

दुई वरिष्ठ नेताहरूले पार्टीका निर्देशहरू अमान्य गर्नका साथै प्रतिपक्षी दलहरूका कार्यक्रमहरूमा सामेल भएर स्वयंनै आफ्नो सदस्यताको तिलान्जली गर्नु भएको छ भन्ने जे डी यू पार्टीको मतसित राज्यसभा अध्यक्ष सहमत रहनु भएको विज्ञप्तिमा बताइएको छ।

उहाँहरूले पार्टी निर्देशनहरूको उल्लंघन गर्दै पटनामा प्रतिपक्षी दलहरूको ऱ्यालीमा सामेल हुनु भएको आधारमा जे डी यू-ले उहाँहरूको सदस्यता खारेज गर्ने माग गरेको थियो।