अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा जेरुसलेमलाई इजरेलको राजधानीको रूपमा मान्यता प्रदान, अमेरिकी दूतावासलाई नयाँ राजधानीमा सारिने घोषणा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जेरुसलेमलाई इजरेलको राजधानीको रूपमा मान्यता दिनुभएको छ। उहाँले हाल तेल अभिभ स्थित अमेरिकी दूतावासलाई जेरुसलेममा सारिने योजनाको घोषणा गर्नुभएको छ। हिजो व्हाइट हाऊसबाट टेलिभिजनमा सीधा प्रसारणमा बोल्दै उहाँले विदेश विभागलाई जेरूसलेममा अमेरिकी दूतावासको निर्माण प्रक्रिया चाडो सुरु गर्ने निर्देश दिनुभयो।

अमेरिकी राष्ट्रपतिले भन्नुभएको छ, यदि दुवै पक्षले मान्ने हो भने लामो समयदेखि चल्दै आएको  इजरेल र प्यालेस्टाइन द्वन्द्व अन्त्य गर्न दुइ राष्ट्रको समाधानलाई समर्थन गरिनेछ।

इजरेलका प्रधान मन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी निर्णयको स्वागत गर्नुभएको छ। उहाँले यस पहललाई ऐतिहासिक र साहसिक र न्यायोचित बताउनुभएको छ। श्री नेतन्याहुले जेरुसलेमको अत्यधिक संवेदनशील पवित्र स्थलको यथास्थितिमा कुनै परिवर्तन नगरिने वाचा पनि गर्नुभएको छ।

राष्ट्रपति ट्रम्पको घोषणा पछि कडा अन्तर्राष्ट्रिय प्रतिक्रिया आएका छन्। राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले भन्नुभयो, पवित्र शहर अन्तिम स्थितिको मुद्दा हो जसको प्रत्यक्ष वार्ताद्वारा समाधान गरिनुपर्छ।

प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बासले भन्नुभयो, अमेरिका शान्ति प्रयासहरूको मध्यस्थताको भूमिकाबाट भाग्न चाहन्छ। इस्लामी गुट हमासका प्रमुख इस्माइल हनीयेहले भन्नुभयो, प्यालेस्टाइनका जनताले यो षडयन्त्रलाई सफल हुन दिने छैनन्। टर्कीले यो फैसलालाई गैर-जिम्मेवारी बताएको छ।

यसैबीच, राष्ट्रसंघ सुरक्षा परिषदले अमेरिकी राष्ट्रपतिको घोषणाको परिप्रेक्ष्यमा भोली एक बैठक बोलाएको छ।